२०८३ जेष्ठ १७, आइतवार

सुनसरीमा १४८ किलो गाँजासहित एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सुनसरीको बराह क्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्राउ परेका छन् ।

बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम पक्राउ परेको हो ।  हाल दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, पाँच प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्यांगसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेस तथा बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा चट्यांगसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू-भागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

धनुषामा १३७ केजी लागूऔषध बरामद,  दुई जना नियन्त्रणमा

काठमाडौँ । धनुषा जिल्लामा ठुलो मात्रामा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार डिएसपी गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका-६ स्थित लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको थियो।

शुक्रबार बिहान प्राप्त सूचनालाई आधार बनाउँदै गरिएको सो कारबाहीमा पाँच वटा बोरामा राखिएको १३७ केजी गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता बमले जानकारी दिएका छन्।

साथै, घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादवलाई पक्राउ गरिएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, यस घटनासँग सम्बन्धित अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्यसमेत जारी रहेको प्रहरीको भनाइ छ।

रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण

काठमाडौँ । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ तीर्थयात्री लिएर जाँदै गरेको जिप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि सो क्षेत्रका राजनीतिक तथा संगठनात्मक कार्यक्रम शोक सभामा परिणत गर्दै समापन गरिएको छ।

नेकपा रुकुम पूर्वले आयोजना गरेको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई दुर्घटनापछि श्रद्धाञ्जली सभामा रूपान्तरण गरिएको हो। 

कार्यक्रममा पार्टीका संयोजक तथा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा पूर्वनिर्धारित एजेन्डा स्थगित गर्दै शोक समर्पण गरिएको बताइएको छ।

बैठकले मृतकहरूप्रति गहिरो सम्मान प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने निर्णय पारित गरेको छ। साथै, घटनाप्रति औपचारिक शोक प्रस्तावसमेत अनुमोदन गरिएको जनाइएको छ।

कार्यक्रममा सम्बोधन गर्दै दाहालले विपद्को यस्तो संवेदनशील अवस्थामा औपचारिक राजनीतिक गतिविधि निरन्तर राख्नु उपयुक्त नहुने भन्दै कार्यक्रम स्थगित गरिएको स्पष्ट पारे। उनले उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर समन्वय भइरहेको पनि जानकारी दिए।

मनपरी शुल्क लिने विद्यालयमाथि कारवाही प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौँ । भर्ना तथा अन्य विभिन्न शीर्षकमा विद्यालयहरूले गैरकानुनी रूपमा बढी शुल्क लिएको गुनासो बढेपछि सरकारले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र जारी गर्दै अवैध शुल्क असुलीबारे तथ्यगत छानबिन गरी आवश्यक कारबाही गर्न भनेको हो।

सानोठिमी, भक्तपुरस्थित केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाबाट जारी निर्देशनमा केही सामुदायिक तथा संस्थागत विद्यालयले नियम विपरीत शुल्क उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

केन्द्रले स्थानीय तहसँग समन्वय गरी प्रभावकारी अनुगमन सञ्चालन गर्न र प्रचलित कानुनअनुसार यस्ता गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिएको जनाएको छ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकहरूले विद्यालयहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क मागेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। सरकारले यस अवस्थालाई ध्यानमा राखेर निगरानी कडा बनाउने संकेत दिएको छ।

प्रशासनिक सूचनापछि नदी किनारका बस्तीमा सामान सार्ने चटारो

काठमाडौँ । राजधानीका नदी किनार तथा अतिक्रमित क्षेत्रका बस्ती हटाउने प्रशासनिक तयारी तीव्र बनेसँगै प्रभावित क्षेत्रका बासिन्दाले घरायसी सामान सार्न थालेका छन्। शुक्रबारदेखि संरचना हटाउने कार्य सुरु हुने संकेतपछि विभिन्न स्थानमा चहलपहल बढेको हो।

जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न स्थानीय तहअन्तर्गत नदी किनारका सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका सुकुम्वासी तथा जोखिमयुक्त बस्ती खाली गर्न आग्रह गरेको थियो। सम्भावित विपद् जोखिम न्यूनीकरण तथा सार्वजनिक क्षेत्र संरक्षणका लागि यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।

सूचनापछि कपनको साततले क्षेत्रस्थित धोबी खोला करिडोर आसपासका बासिन्दाले घरभित्रका सामग्री अन्यत्र सार्न थालेका छन्। त्यस्तै शिक्षण अस्पताल पछाडिको गजेन्द्र बस्तीमा पनि घरटहरा खाली गर्ने क्रम तीव्र बनेको देखिएको छ।

प्रशासनले प्रभावित क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई साँझसम्म संरचना खाली गरी स्थान छाड्न निर्देशन दिएको जनाएको छ। यससँगै बस्ती क्षेत्रमा अन्योल, हतारो र स्थानान्तरणको तयारी एकसाथ देखिएको छ।

सुकुम्वासी संघद्वारा चरणबद्ध आन्दोलन घोषणा, देशव्यापी आमहड्तालसम्म पुग्ने चेतावनी

काठमाडौँ । अखिल नेपाल सुकुम्वासी संघले वैकल्पिक व्यवस्था बिना सुकुम्वासी तथा भूमिहीन बस्तीमा भइरहेको उठिबास कार्य तत्काल रोक्न माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। संघले सरकार तथा सम्बन्धित निकायहरूले प्रतिबद्धता पूरा नगरे देशव्यापी आमहड्तालसम्म जाने चेतावनी दिएको हो।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले विभिन्न स्थानका बस्तीहरूमा राज्य संयन्त्र प्रयोग गरी डोजर चलाइँदै नागरिकलाई विस्थापित गरिएको आरोप लगाएको छ। वैकल्पिक पुन:स्थापना सुनिश्चित नगरी गरिएको यस्तो कदमले प्रभावित समुदायमा असुरक्षा र तनाव बढाएको संघको भनाइ छ।

आन्दोलनको पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँग गरिएका पूर्वप्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिने र तत्काल विस्थापन रोक्न सम्बन्धित पक्षसँग आग्रह गर्ने कार्यक्रम रहेको संघले जनाएको छ।

दोस्रो चरणअन्तर्गत मेचीदेखि महाकालीसम्म राजमार्ग अवरुद्ध गर्ने तथा सरकारप्रति असन्तुष्टि जनाउँदै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। सो अभियानमार्फत वर्तमान नेतृत्वलाई फिर्ता बोलाउन दबाब सिर्जना गरिने संघको भनाइ छ।

संघका अध्यक्ष अमर परियारले वैकल्पिक व्यवस्थाबिना नागरिकलाई स्थानान्तरण गर्ने कार्य अस्वीकार्य भएको भन्दै आन्दोलनको बाटो रोज्न बाध्य भएको बताए। उनका अनुसार प्रारम्भिक चरणमा संवाद र आग्रहमार्फत समस्या समाधानको प्रयास गरिनेछ।

उनले माग सुनुवाइ नभएमा चरणबद्ध आन्दोलन विस्तार गर्दै सुकुम्वासी बस्ती तथा मुख्य राजमार्ग केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चित कालीन आमहड्तालसम्म पुग्ने चेतावनी दिएका छन्।

कक्षा १२ परीक्षा व्यवस्थापनमा लापरवाही भएको भन्दै नेविसंघद्वारा बोर्डको ध्यानाकर्षण

काठमाडौँ । कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा देखिएको व्यवस्थापकीय कमजोरी र अनियमितताप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ। संघले बुधबार बोर्डलाई औपचारिक ध्यानाकर्षण पत्र बुझाएको हो।

नेविसंघका अनुसार चितवनस्थित इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा समयमै सञ्चालन हुन नसक्नुका साथै उत्तरपुस्तिका समयअगावै संकलन गरिएको घटना गम्भीर प्रकृतिको हो। प्रश्नपत्र वितरणमा ढिलाइ हुँदा परीक्षा सुरु हुन केही मिनेट विलम्ब भए पनि निर्धारित समय पूरा नहुँदै उत्तरपुस्तिका उठाइएको आरोप संघले लगाएको छ।

संघका अनुसार परीक्षा बिहान ८:३१ बजे सुरु भए पनि ११–१३ बजे नै उत्तरपुस्तिका संकलन गरिएको हुँदा विद्यार्थीले पूर्ण समय उपयोग गर्न नपाएको अवस्था सिर्जना भएको छ। यस्तै, यस्ता समस्या भैरहवा, काठमाडौँको बालकुमारी कन्या कलेज तथा नुवाकोटलगायतका अन्य केन्द्रहरूमा पनि देखिएको नेविसंघले जनाएको छ।

नेविसंघले घटनामा संलग्न वा जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न, प्रभावित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न तथा परीक्षा व्यवस्थापन प्रणालीमा सुधार गर्न बोर्डसँग माग गरेको छ। साथै, अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएको छ।

विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने परीक्षा प्रक्रियामा लापरवाही स्वीकार्य नहुने चेतावनी दिँदै नेविसंघले माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा जाने संकेतसमेत गरेको छ।

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापन पत्र

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतमै श्रीकृष्ण विकको मृत्यु भएको घटनाबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै सभामुख डोलप्रसाद अर्यालसमक्ष ज्ञापन पत्र बुझाएको छ । 

समितिको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरी सिन्धुली घटनाको सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गरी पीडितलाई न्यायसहित पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा र दीर्घकालीन जीवन निर्वाहको सुनिश्चितताको पहल गरिदिन माग गरेको हो । 

समितिले घटनामा सरोकारवाला सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुखलाई तुरुन्त निलम्बन गरी न्यायिक छानबिनको दायरामा ल्याउन पनि माग गरेको छ । जबर्जस्ती करणीको कसुरमा हिरासतमा रहेका विकको यही वैशाख ७ गते झुन्डिएको अवस्थामा रहस्यमय मृत्यु भएको थियो । श्रीकृष्णको मृत्यु आत्महत्या नभई हत्या भएको समितिको आरोप छ । 

सेना र न्यायाधीशसमेत छानबिन दायरामा: सम्पत्ति जाँच आयोगको अधिकार विस्तार

काठमाडौँ । उच्चस्तरीय सम्पत्ति छानबिन आयोगको कार्यक्षेत्र विस्तार गर्दै बहालवाला न्यायाधीश र नेपाली सेनाका पदाधिकारीसमेतलाई आवश्यक परे छानबिनको दायरामा ल्याउने व्यवस्था गरिएको छ। संशोधित कार्यसम्पादन सर्त (टीओआर) अनुसार उजुरी परेमा यसअघि नसमेटिएका पदाधिकारी तथा व्यक्तिमाथि पनि आयोगले अनुसन्धान गर्न सक्नेछ।

मन्त्रिपरिषद्ले वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठन गरेको आयोगको टीओआर परिमार्जन गरी राजपत्रको अतिरिक्तांशमार्फत सार्वजनिक गरिएको हो। आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

संशोधनमार्फत निजामती सेवाका नायव सुब्बा वा सो सरहका पदमा कार्यालय प्रमुख भई काम गरिसकेकाहरूलाई पनि छानबिनको दायरामा समेटिएको छ। यसअघि ‘निजामती सेवा’मा सीमित रहेको व्यवस्था विस्तार गरी संसद् सेवा, स्वास्थ्य सेवा र मानवअधिकार सेवासमेत समावेश गरिएको छ।

नयाँ व्यवस्था अनुसार आयोगले सार्वजनिक सूचना जारी गरी उजुरी आह्वान गर्न सक्नेछ। उजुरी दिने व्यक्तिले आफ्नो ठेगाना र सम्पर्क नम्बर खुलाउनुपर्ने तर विवरण गोप्य राखिने व्यवस्था गरिएको छ। आयोगले कुनै पनि पदाधिकारी वा सार्वजनिक पद धारण गरेका व्यक्तिको अनुसन्धान ४५ दिनभित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ। छानबिनबाट तयार भएका प्रतिवेदन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष पेस गरिने व्यवस्था गरिएको छ।

साथै, आयोगलाई आवश्यकता र औचित्यका आधारमा जुनसुकै बेला विघटन गर्न सक्ने प्रावधान पनि समेटिएको छ। आयोग विघटन वा कार्यकाल समाप्त हुँदा वा प्रतिवेदन पेस भइसकेपछि सम्बन्धित कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हस्तान्तरण गरिनेछ।

प्रकाशित सूचनाअनुसार आयोगका अध्यक्षलाई राज्यमन्त्री सरह र सदस्यहरूलाई सहायक मन्त्रीसरह सेवा–सुविधा प्रदान गरिनेछ। अध्यक्ष र सदस्यहरूले सात दिनभित्र आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने र उक्त विवरण सार्वजनिक गर्ने व्यवस्था भए पनि हालसम्म प्रकाशन गरिएको छैन।

संशोधित टीओआरले आयोगको कार्यक्षेत्र फराकिलो बनाउँदै विभिन्न सेवा समूह र उच्च पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याएको छ। यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिता र जवाफदेहितासँग सम्बन्धित विषयमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।