२०८३ जेष्ठ १७, आइतवार

बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

काठमाडौं, २ असार । राप्रपाले बैठक भत्ता नलिने भएको छ ।

भिजिट भिषा प्रकरणमा हिजो देखी निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो ।

सो को जानकारी राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी गराएका छन् ।

‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो,’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ। उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन संघीय संसदका महासचिवलाई अनुरोध गर्दछौं।’
 

हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

काठमाडौं, २ असार । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० बिलियन डलर नाघ्ने दावी गरेका छन् ।

सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन् २०२३ मा ४५ अर्ब डलर रहेको बजार सन् २०२८ सम्ममा बढेर ५०० अर्ब डलर पुग्ने उनको दावी छ ।

‘हामीले आज जे देखिरहेका छौं त्यसको आधारमा, म तपाईलाई भन्न सक्छु कि यो संख्या २०२८ सम्म ५०० बिलियन बराबरको कारोबार नाघ्नेछ’ सुले भने। कार्यक्रममा कम्पनीले  ‘एमआई ३५० सिरिज’ को ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र अन्य धेरै उत्पादनहरु पनि प्रस्तुत गरेको थियो । 

सुले भर्खरै ल्याएको चिप छनोट गर्नु ग्राहकका लागि फाइदाजनक हुनेसमेत बताएका छन् । । उनले यी चिप्सले प्रति डलरमा ४० प्रतिशत बढी क्षमता रहेको दाबीसमेत गरेका छन्। एनभिडिया कम्पनीको सामान्यतया ‘जिपीयु’ बजारमा स्थापित मानिन्छ र यसको चिप्सको माग पनि धेरै छ। यसको चिपको लागि प्रतिक्षा अवधि पनि रहेको हुन्छ। 

एएमडी प्रमुखले भने कि सबैभन्दा ठूलो भारतीय टेलिकम कम्पनी रिलायन्स जियोसहित १० ठूला एआई ग्राहकहरू मध्ये सात कम्पनिले हाल एएमडी इन्स्टिंक्ट एक्सेलेटर प्रयोग गरिरहेका छन्। यस अवसरमा कम्पनीले डेभलपर क्लाउड एक्सेस प्रोग्राम पनि सुरु गर्‍यो, जस अन्तर्गत यसले विकासकर्ता समुदायलाई आफ्ना प्रस्तावहरूमा प्रत्यक्ष पहुँच गर्न अनुमति दिनेछ।

ट्रम्प बिरूद्दको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं, २ असार । अमेरिका चरित्र पनि आफैमा अद्वितीय रहेको छ। 

खासमा संसारलाई लोकतन्त्र सिकाउने स्वयम् अमेरिका भने आजकाल तानाशाहीको आरोपसँगै आन्तरिक संघर्ष गरिरहेका छन् । 

गत आइतवार एकातिर ट्रम्प, उनको पार्टी, उनका समर्थक र सेनाले उत्सव मनाइरहेका थिए भने अर्कोतर्फ देशका हजारौं जनता ट्रम्प विरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका थिए । यससँगै लोकतान्त्रिक पार्टीले देशका सर्वोच्च नेतामाथि तानाशाहीको आरोप मात्रै लगाएन, नाराबाजी र देशैभरी प्रदर्शनसमेत गरेका छन् ।

लामो समय पछि फेरि पनि लोकतन्त्र र नागरिक अधिकारको पक्षमा सडकमा अमेरिकनहरूको भीड जम्मा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूमा विशेष गरी आप्रवासीहरू माथिको ज्यादतीको विरुद्धमा शनिबार र आइतवार देशभर व्यापक विरोध प्रदर्शन भएको छ । यी प्रदर्शनहरूलाई ‘नो किंग्स’ आन्दोलनको नाम दिइएको थियो, जुन ट्रम्पको ‘तानाशाही शैली’ विरुद्ध आवाजको रूपमा उभिएको थियो। 

प्रदर्शनकारीहरूले ट्रम्पले अमेरिकालाई लोकतन्त्रबाट हटाएर एक व्यक्तिको शासन अर्थात् तानाशाहीतर्फ लैजाँदै गरेको गम्भिर आरोपसमेत लगाएका छन् । अमेरिकाको साना सहर देखि ठूला सहरसम्म हजारौं मानिस सडक, पार्क र चोकमा उत्रिएर ट्रम्पको बिरोध गरेका थिए । उनीहरुले हातमा ब्यानर बोकेर ‘तानाशाही चल्दैन, आप्रवासी अधिकार जिन्दाबाद’ जस्ता नारा लगाएका थिए ।

यस राष्ट्रव्यापी विरोधको प्रतिध्वनि एटलान्टा, फिलाडेल्फिया, शिकागो, अस्टिन, न्युयोर्क र लस एन्जलस जस्ता शहरहरूमा स्पष्ट रूपमा सुनिएको थियो। स्थिति सियाटलमा अझ विशेष थियो, जहाँ स्थानीय प्रशासनका अनुसार ७० हजार भन्दा बढी मानिसहरू एकै पटक सडकमा उत्रेर विरोध प्रदर्शनमा सामेल भएका थिए । आयोजकका अनुसार अमेरिकाका सयौं स्थानमा लाखौं मानिस यस आन्दोलनको हिस्सा बने र ट्रम्प सरकारलाई लोकतान्त्रिक चेतावनी दिएका छन् ।

तर, यी प्रदर्शनका क्रममा केही ठाउँमा हिंसात्मक घटना पनि भएका छन् । लस एन्जलस र पोर्टल्यान्डमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रु ग्याँसको प्रयोग गरेको थियो। साल्ट लेक सिटीमा प्रदर्शनका क्रममा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।

साल्ट लेक सिटीका प्रहरी प्रमुख ब्रायन रेडले गोली प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको तर घटनाको पछाडि कुनै राजनैतिक नियत थियो वा नभएको कुनै कुरा पनि बताएनन । आक्रमणकारी जुलुसमा सहभागी भीडसँगै हिँडिरहेका थिए, जसले यसलाई अझ संवेदनशील विषय बनाएको थियो।

प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्व आशनमा उभिएर गरिएको बिरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्न प्रस्ताव पेस गरे पछि त्यसमा हिजो देखी सुरू भएको सामान्य छलफल जारी रहने र अर्थमन्त्री पौडेलले जवाफ दिने कार्यसुची रहेको छ ।

उता, अर्थ मन्त्री पौडेलले आजको बैठकमा ‘बिनियोजन बिधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने तथा ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

साथै, आजको बैठकमा ‘संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधी) सबन्धी (पहिलो संसोधन) बिधेयक, २०७९ सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ ।
 

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

काठमाडौं, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने बताएका छन ।

सोही वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति पौडेलको जोड रहेको छ ।

लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहमा आइतबार सम्बोधन गर्दै उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरुप काम गरे मात्र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तिव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताए । 

उनले भने,  ‘अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सक्नुपर्छ ।  कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई विर्सन हुँदैन ।’

राष्ट्रपति पौडेलले  मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त “योग्यता, निष्पक्षता र स्वच्छता” लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय पक्ष भएको उल्लेख गरे । उनले भने,  ‘आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ता प्रतिको आशा एवम् भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ।’

स्वउत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई स्मरण गराउँदै राष्ट्रपति पौडेलले भने, ‘आयोग सरकारी सेवामा कर्मचारी छनौट र भर्नाको जग हो । यसले सदैव असल र उम्दा कर्मचारी छनौट गर्न सक्ने गरी सकेसम्म योग्यताका सबै पक्षहरु पूर्वानुमान गर्न सकिने खालका परीक्षण विधिहरु अवलम्वन गर्नुपर्दछ।’

 
राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भए यता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको बताए । 

उनले भने,– ‘यसबाट राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व हुन गई राष्ट्रिय एकतालाई मजबुत बनाउन समेत योगदान दिने नै छ । आयोगले संघीयता अनुरुप समावेशी समूहतर्फ उम्मेदवार छनौट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्ने गरी कार्यसम्पादन गर्ने विश्वास मैले लिएको छु ।’

उनले कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा यसले आजसम्म गरेको योगदानसँगै आर्जन गरेको विश्वास, भरोसा एवम् प्रतिष्ठालाई कायम राख्दै अघि बढ्नेतर्फ आयोगले कुनै कसर बाँकी नराखी यो प्रक्रियामा समयसापेक्ष सुधार गरी प्रभावकारी ढंगले अघि बढ्न जरुरी रहेकोसमेत बताए ।
 

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं, असार १ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । 

अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
 

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, २ सय ५४ जनाले लिए सेवा

मुकेश कुमार यादब

सिरहा १ असार। सिरहाको गोलबजार नगरपालिका १० को कार्यालय तथा भुमिजा हस्पिटल गोलबजारको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गाेलवजार १० स्थितको आधारभुत स्वास्थ्य सेवा केन्द्रले शनिबार आयोजना गरीएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा महिला तथा पुरुषगरी जम्मा २ सय ५४ जनाले स्वास्थ्य परीक्षण गराएको हो। 

स्वास्थ्य शिविरमा विभिन्न उमेर समूहका २ सय ५४ जना सेवाग्राहीले लाभ लिएका छन्। शिविरमा विशेष गरी महिलाको स्वास्थ्य परीक्षण, ओपीडी सेवा, विशेषज्ञ डाक्टरको परामर्श, मधुमेह तथा रक्तचाप जाँच, निःशुल्क औषधि वितरण लगायतका सेवा प्रदान गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख इन्द्रजित साहले जनाएको छ। 

गाँउ स्तरमै स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै समुदायलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वडा नम्वर १० का अध्यक्ष उपेन्द्र मुखियाले बताए। उनले भने, ‘स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा वडावासीको पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम गरेको बताए। यसले वडाभरीका जेष्ठ नागरिक, विपन्न परिवार लगायतले लाभ लिएका छन्। उनले भने, ‘वडाको आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको थियो, जसमा विरामीहरुलाई औषधीपनि निःशुल्क उपलब्ध गराइएको छ।’

शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रादेशिक अस्पताल लहानमा कार्यरत डाक्टर कुसुम यादव, डाक्टर आन्नद साह र डाक्टर ध्रमेन्द्र यादव सहित ३ विशेषज्ञ र ११ जना स्वास्थ्यकर्मीसहित  १४ जना उपचारमा सम्लग्न रहेको आयोजकले बताएको छ।

कार्यक्रममा विभिन्न स्थानीय समाजसेवी र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। गाँउमै प्राथमिक उपचार गराउन पाउँदा स्थानीयवासीहरु हर्षित भएका छन्।

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त

काठमाडौं, १ असार । इजरायल र इरानबीच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो । 

इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ । 

इजरायलले शुक्रबार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकी सो घटनामा परी ३५० भन्दा बढी घाइते भएको जनाइएको छ ।

यसअघि इरानमा शुक्रबार बिहान ५ः३० बजे भएको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमाण्डरहरू पनि सामेल थिए। 

जवाफमा इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ, जसमध्ये ६ वटा रकेट राजधानी तेल अवीभमा खसेको जनाइएको छ । सो घटनामा परी इजरायलमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ७ सैनिकसहित ९० भन्दा बढी घाइते भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सुरक्षित स्थानमा सारिएको छ। 

इरानले इजरायली रक्षा मन्त्रालयमा पनि मिसाइल खसाएको दाबी गरेको छ तर इजरायलले यसको पुष्टि गरेको छैन्। इजरायलका रक्षामन्त्री इजरायल काट्जले शनिबार इरानलाई चेतावनी दिएका छन् कि यदी इरानी सर्वोच्च नेता आयोतुल्लाह खामेनीले थप मिसाइलहरू प्रहार गरे भने इरानको राजधानी तेहरान जल्नेछ। 

यसैबीच, इरानले तीनवटा  इजरायलको एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । इरानको सेनाले अर्को एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । तेहरान टाइम्सको रिपोर्टका अनुसार इरानी सेनाले तेस्रो इजरायली एफ–३५ लाई खसाल्न सफल भएको बताएको छ ।

साथै, इरानले एफ–३५ पाइलटलाई पनि नियन्त्रणमा लिएको दाबी गरेको छ । इरानले अहिलेसम्म दुईजना एफ–३५ पाइलटलाई जिउँदै नियन्त्रणमा लिएको दाबी गरेको छ भने एकजना आक्रमणमा मारिएका छन् । इरानी सेनाले पनि १५० भन्दा बढी इजरायली सैन्य र गुप्तचर लक्ष्यहरूलाई नष्ट गरेको वा नराम्ररी क्षति पुर्याएको दावी गरेको छ।

आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले व्यापक रुपमा आर्थिक अनुशासन उल्लंघन गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले उक्त नगरपालिकामा गम्भीर अनियमितता र अपारदर्शी खर्चका विवरणहरू सार्वजनिक गरेको छ।

स्थानीय सरकारले मापदण्ड र कानुनी प्रक्रिया उल्लंघन गर्दै करोडौं रकम खर्च गरेको देखिएको छ। प्रतिवेदन अनुसार पालिकाले ३० करोड ८० लाख ३६ हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरी खर्च गरेको छ। यो खर्च पारदर्शी ढंगले नगरिएको, न त कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरिएको प्रमाण भेटिएको छ।

मापदण्डबिना सहयोग र अनुदान

महालेखा परीक्षकको प्रतिवेदनमा जनाइए अनुसार पालिकाले २० लाख रुपैयाँ बराबरको आर्थिक सहायता कुनै कार्यविधि वा सार्वजनिक सूचनाबिना नै १८५ जनालाई ५ हजारदेखि २ लाखसम्म वितरण गरेको छ। सहायता वितरणमा स्थानीय आवश्यकता मूल्यांकन, पारदर्शी छनोट प्रक्रिया र सामाजिक उत्तरदायित्वको अभाव देखिन्छ।

यस्तै, नाफामूलक ८ वटा संस्थालाई कृषि अनुदान वितरण गरिएको छ, जुन स्थानीय शासनको मर्म विपरीत रहेको छ। अनुदान वितरणको आधार, लाभग्राहीको मूल्यांकन र प्रभाव विश्लेषणबिना यस्तो निर्णय गरिएको हो।

कर संकलन र राजस्वमा बेवास्ता

अर्कोतर्फ, पालिकाले आन्तरिक राजस्व प्रणाली मजबुत पार्नेतर्फ चासो नदेखाएको पाइएको छ। पालिका क्षेत्रमा रहेका व्यवसायीहरूको अभिलेख अद्यावधिक गरिएको छैन। जसका कारण करयोग्य व्यक्तिहरू पहिचानमा आउन सकेका छैनन्।

यस्तै, पालिका मातहतका ३२ सटरमध्ये ५ वटा सटरवालाले कुल ६ लाख ७४ हजार ८२९ रुपैयाँ दाखिला गरेका छैनन्। जसको उन्मुक्ति वा सहुलियतको कुनै वैधानिक निर्णय पनि देखिँदैन।

ठेक्का प्रक्रिया र खर्चमा अनियमितता

महालेखाले थप उजागर गरेको छ कि पालिकाले प्रतिस्पर्धाबिना नै निजी कम्पनीलाई फोहोरमैला व्यवस्थापनको ठेक्का दिएको छ। सार्वजनिक खरिद ऐनविपरीत गरिएको यो कार्यले पारदर्शीता र जवाफदेहितामा प्रश्न उठाएको छ।

२० वटा डिपिआर बनाउने नाममा १ करोड ३५ लाख ३४ हजार र ४ वटा परामर्श सेवामा २४ लाख ४१ हजार खर्च गरिएको देखिन्छ। तर, ती परामर्शहरू आवश्यक थिए वा थिएनन् भन्ने स्पष्ट प्रमाण छैन।

कर्मचारी भत्ता र अनधिकृत नियुक्ति

पालिकाले नियमविपरीत १० जना व्यक्ति (सुपरभाइजर, सरसफाइकर्मी, हलुका सवारी चालक, कुचिकार) लाई ज्यालादारीमा नियुक्त गरेको छ। त्यस्तै, बिदाको दिनबाहेकको दिनमा समेत बिदा भत्ता दिइएको देखिएको छ।

नगर प्रमुखको टिप्पणीमा आधारित पोशाक खर्च, नगरसभामा २३ लाख १८ हजारको प्रोत्साहन भत्त र खाजाभत्ता हाजिरीबिना वितरणजस्ता भुक्तानीले आर्थिक अनुशासनको अभाव देखाएको छ।

कार्यक्रम खर्च र भ्रमणमा फजुल खर्च

पालिकाले तालिम, गोष्ठी, सेमिनारजस्ता शीर्षकमा मापदण्डभन्दा बढी भुक्तानी गरेको छ।

यस्तै, कार्यक्रम आफ्नै हलमा गर्न सकिने भए पनि होटल प्रयोग गरिएको छ। भ्रमणका नाममा मात्र ३७ लाख २४ हजार ४९९ रुपैयाँ खर्च गरिएको छ ।

जर्सी वितरणमा समेत लापरबाही

महालेखाको प्रतिवेदनले थप उल्लेख गरेको छ कि २०१ जनालाई वितरण गरिएको खेलाडी जर्सीमा कतिपय व्यक्तिको नाम दोहोरिएको छ र खेलाडीहरूको हस्ताक्षर समेत एउटै देखिएको छ।

मेयर जीवन खत्रीले भने महालेखा प्रतिवेदनमा लेखिएजस्तो अनियमितता नभएको बताएका छन्। उनले प्रशासनिक र कर्मचारीका कुरामा भएका प्रक्रियागत त्रुटि सच्याइने बताए।

‘अनियमितता गरे कारबाही भइहाल्छ। नियमभन्दा बाहिर जान सकिँदैन। प्रशासनिक र कर्मचारीको कुरामा अलि हतार र आवश्यकताका आधारमा निर्णय गर्दा प्रक्रिया नपुगेको हुन सक्छ, त्यो हामी सच्याउँछौं,’ उनले भने।

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

काठमाडौं, ३० जेठ । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । 

उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका छन्। यो दुखद घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ ।

टाटा समूहले एयर इन्डियाको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै पीडितका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। टाटा समूहका अध्यक्ष एन. चन्द्र शेखरनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै लेखे कि एयर इन्डिया उडान १७१ सँग सम्बन्धित घटनाबाट गहिरो दुः खी छ। यस क्षणमा हामीले जतिसुकै दुःख महसुस गरिरहेका छौं, त्यो व्यक्त गर्न सकिँदैन। आफ्ना प्रियजनहरू गुमाएका पीडित परिवारहरूप्रति प्रार्थना र समवेदना।

यससँगै टाटा समूहले प्रत्येक पीडित परिवारलाई १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । टाटा समूहले आवश्यक हेरचाह र सहयोग सुनिश्चित गर्ने र चिकित्सा खर्च पनि बेहोर्ने बताएको छ। साथै, मेडिकल होस्टल निर्माणमा सहयोग उपलब्ध गराइनेछ। टाटाले यस समयमा आफू पीडित परिवार र सम्पूर्ण समुदायको साथमा रहेको बताएको छ ।

अर्कोतर्फ, यो घटनापछि अहमदाबाद एयरपोर्टका सबै उडानहरू रोकिन पुगेका छन्। यस्तो अवस्थामा पश्चिम रेलवेले ठूलो कदम चाल्दै अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न थप ट्रेनहरू चलाउने घोषणा गरेको छ।