२०८३ जेष्ठ १७, आइतवार

रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने

काठमाडौँ

फागुन १५ गते,

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिबाङको टुँडिखेलमा शनिवार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक अपिल गर्नेछन् ।

प्रचण्डको सचिवालयका अनुसार, चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेको र रोल्पाबाटै निर्णायक सन्देशसहित सम्बोधन गर्ने योजना रहेको छ । यो उनको चुनावी अभियानको महत्त्वपूर्ण कार्यक्रम हो ।

कार्यक्रमलाई भव्य बनाउन नेकपाले व्यापक तयारी गरेको छ । करिब १५ हजार मानिसले प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ । १० वर्षे जनयुद्धका क्रममा प्रचण्डले रोल्पामा नै बढी समय बिताएका थिए । यस पटक उनी रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् भने उनको विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार छन् ।

लिबाङको चुनावी सभालाई संयोजक प्रचण्डसँगै वर्षमान पुन, पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख ओनसरी घर्तीमगरलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

गण्डकी 

फागुन १६ गते,

प्रतिनिधि सभा सदस्य चुनावको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९:०० बजेसम्म मात्र होटल, रेष्टुराँ, दोहोरी साँझ, क्लब, डान्स बार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रूपमा सूचित गरेको हो । 

कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ । 

उक्त नियम कार्यान्वयन भए/नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ । 

कार्यालयले चुनावको सम्मुखमा परेको फागुपर्व पनि सार्वजनिकस्थलमा भीडभाड हुनेगरी नखेल्न अपिल गरेको छ । निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिकस्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, सांगीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको हो । फागुपर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको कार्यालयको सूचनामा उल्लेख छ । 

परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रूपमा फागुपर्व मनाउन कार्यालयले आग्रह गरेको छ । 

‘सिस्टम नबनाएसम्म देश बन्दैन’ : गगन थापा

काठमाडौँ 

फागुन १५ गते,

नेपाली काँग्रेसका सभापति गगन थापाले सिस्टम नबनाएसम्म देश नबन्ने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिस्टम बनाएर निमसंगत ढंगबाट गतिका साथ काम गर्नको लागि आफूले ७ वर्षदेखि काम गर्दै आइरहेको बताए।

उनले भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्‍याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ला काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’

उम्मेदवारकाे एकाघरका परिवारको बैंक खाताप्रति आयोगको निगरानी

काठमाडाैं 

फागुन १५ गते,

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको हो ।

चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोवारमा निगरानी बढाएको हो ।

शुक्रबार संचारकर्मीसँग कुरा गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका आयुक्त सगुन शमशेर जबराले यस्ताे बताउनुभएकाे छ। बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताउनुभयो । उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको उहाँले उल्लेख गर्नुभएकाे छ।

आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह गर्नुभयो ।

‘बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण’ : शंकर पोखरेल

काठमाडौँ

फागुन १५ गते,

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको बताएका छन् ।  पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन – यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’

उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास अस्वीकार्य हुने बताए। चुनावको संवेदनशील समयमा यस्तो सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्न उठाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ।’

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्ने, राष्ट्रिय सार्वभौमिकता साझा जिम्मेवारी भएको र सूचना स्वतन्त्र भए पनि समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने धारणा व्यक्त गरे ।उनले भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाल प्रयोग हुन नदिन सबैलाई सचेत रहन, तथ्य जाँच गर्न र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह गरेका छन् ।

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको बताएका छन् ।

अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : एमाले अध्यक्ष ओली

काठमाडौँ 

फागुन १५ गते,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्। मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ति विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ। शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए।  

एमाले चुनावबाट न भाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताए। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए। चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनको भनाइ छ। कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे।

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूको जिज्ञासा सम्बोधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन सुझाव पनि दिए।

निर्वाचनका लागि देशभर दुई लाख २१ हजार कर्मचारी खटिने

काठमाडौँ 

फागुन १५ गते,

यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाउने भएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए। मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरू कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता

काठमाडौँ 

फागुन १५ गते,

गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन पारदर्शी, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गरिने बताएका छन्।

दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका अन्तर्गत रहेका मतदान स्थलहरूको स्थलगत अनुगमनका क्रममा उनले विगत निर्वाचनमा देखिएका कमजोरीको समीक्षा गर्दै यसपटक कुनै पनि प्रकारको अनियमितता नहोस् भन्ने सुनिश्चित गर्न सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई आवश्यक निर्देशन दिएका हुन्। निर्वाचन प्रक्रिया व्यवस्थित, शान्त र विश्वसनीय बनाउन सबै सरोकारवाला निकाय सक्रिय रूपमा जुट्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना र दुष्प्रचारप्रति सतर्क रहन सम्बन्धित निकाय तथा स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे। उनले निर्वाचन तयारीका प्रत्येक चरणमा संयमता, समन्वय र कानुनी मापदण्डको पालना अनिवार्य रहेको उल्लेख गरे।

शुक्रबार बिहान गरिएको निरीक्षण तथा अन्तरक्रियामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेत सहभागी थिए। टोलीले मतदान केन्द्रको पूर्वाधार, सुरक्षा प्रबन्ध तथा आवश्यक व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको थियो।

अनुगमनमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह-प्रवक्ता रमा आचार्य, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, गाउँपालिका अध्यक्ष छवि लामा तथा वडा सदस्य सोम्बर बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो।

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

बागलुङ

फागुन १५ गते,

नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । 

चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्त्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १० गतेदेखि १४ गतेसम्म आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए। 

धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा चिनिएको बागलुङ कालिका भगवती मन्दिर परिसरमा कालिका मन्दिर स्थापनापछि मेला लाग्दै आएको छ । कालिका मन्दिर स्थापनाको डेढ/दुई सय वर्षपछि मेला आयोजना गरिँदै आएको छ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैते दसैँ मेलालाई परम्पराको निरन्तरता दिन गरिँदै आएको अध्यक्ष खड्काले जानकारी दिए । 

चैतेदसैँ मेलामा कालिका मन्दिर परिसरमा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिद बिक्रीका लागि स्टलहरू राखिनेछ भने लोक दोहोरी गीत, भलिबललगायत विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ । 

होलीमा सार्वजनिक स्थलमा भेला हुन र चुनावी प्रचार सामग्री प्रयोगमा रोक

काठमाडौँ 

फागुन १५ गते,

जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागू पूर्णिमा (होली)पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सार्वजनिक अपिल गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै फागुन १८ गते पर्ने फागुपूर्णिमा (होली) लाई मर्यादित बनाउन निर्वाचन आचारसंहिताको स्मरण गराएको छ। निर्वाचनको आचार संहिता र सुरक्षा संवेदनशीलताको कारण जनाउँदै प्रशासनले यस वर्षको होलीमा कडा प्रतिबन्धहरू लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनाअनुसार सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै-झगडा गर्ने, र मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल नपुर्‍याउन भनिएको छ । कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने र जबरजस्ती गर्नेलाई कारबाही गर्ने चेतावनी प्रशासनको छ ।

कोही कसैलाई बाधा नपर्ने गरी आफ्नै घरको कम्पाउण्डभित्र परिवार र आफन्तजनसँग मात्र होली मनाउन प्रशासनको आग्रह छ । खुला सडक र सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्न, मेला महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मादक पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

‘निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३ (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि-सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था छ,’ प्रशासनको सूचनामा भनिएको छ, ‘सो सम्बन्धमा होली पर्वलाई लक्षित गरी निर्वाचन चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टि-सर्ट, कमिज, गम्छा लगायतका कपडाहरू प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।’

आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन नहुने गरी अनुशासित र व्यवस्थित रूपमा चाडपर्व मनाउन सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा अनुरोध गरिएको छ।