२०८३ जेष्ठ १७, आइतवार

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ 

माघ १६ गते,

काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । कामपा सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने जानकारी दिएका छन् । उनका अनुसार यसको सम्झौता रकम रु ५७ लाख ७२ हजार ६९४ हो ।

कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ । “अहिले त्यहाँ पानी निकासका लागि ह्युमपाइप राखिएको छ । यसरी राखिएका ह्युमपाइप पुराना भइसकेका छन्”, सबइन्जिनियर शाही भन्छन्, “बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ । बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।” 

कल्भर्ट निर्माणको प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीले बताए ।  यसका लागि दुवैतर्फबाट आउने सवारीसाधन कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ ।

यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ । यसको सम्झौता रकम रु दुई करोड २१ लाख २३ हजार ८९९ हो । यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ सात मिटरको हुनेछ ।

यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गर्‍यो । वडा नं ११ का अध्यक्ष हीराला तण्डुकार भन्छन्, “पुल बनाउने भनेर विभिन्न निकाय आए, कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ, तर कसैले बनाएनन् । त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो, महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण हुन लागेको हो”, वडाध्यक्ष तण्डुकारले जानकारी जानकारी दिए।

विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौँ 

माघ १६ गते,

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।

अन्य  जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ ।

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्‍याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।

पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् : बालेन साह

काठमाडौं 

माघ १६ गते,

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले ८५ वर्षमा पटक-पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेको भनेका छन् । 

 शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै बालेनले  फेसबुकमा लेखेका छन, ‘पटक–पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो ।’ 

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको १० वर्षपछि राणा शासनको अन्त्य भए पनि  राज्य जनताको बन्न नसकेको भनेका छन् ।  त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु परेको भन्दै उनले ८५ वर्षमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको भने । अहिले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढेको बालेनले दाबी गरेका छन् । 

‘लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ’,उनले थप लेखेका छन्, ‘राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जबाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।’

 शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन भन्दै उनले भने, ‘ अब समय आएको छ-शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने । ‘सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने । अब सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय रहेको उनले भनेका छन् । ‘फेरि कसैले शहीद बन्नु नपरोस् । सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली,’ बालेनले भनेका छन् ।

सहिदको आकाङ्क्षा पूरा गर्न समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ

माघ १६ गते,

राष्ट्रपति रामचन्द्र पौडेलले  सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गर्नुभएको छ । सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाले यस दिवसले सहिदहरुको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप््रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरुको विशेष सम्झना गरिने दिनका रूप्मा आजका दिनलाई लिइने स्मरण गर्नुभयो ।

“नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूप्मा हामीले मनाउँदै आएका छौँ”, सन्देशमा भनिएको छ, “महान् सहिदहरुको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु ।”

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ

माघ १६ गते,

प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण शुक्रबार देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।”

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिनुभएको छ ।

मधेश कांग्रेसको जन्मभूमि हो : सभापति थापा

काठमाडौँ

माघ १४ गते,

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताउनुभएको छ । बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो । ‘मधेश कांग्रेसको जन्मभूमि हो’, सभापति थापाले भन्नुभयो, ‘कांग्रेसलाई बनाएको, कांग्रेसलाई हुर्काएको र कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’ 

उहाँले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्यौँ । ती गल्ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ ।’ 

अरुले के गरे भन्नु भन्दा कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो । ‘सिंगो मधेशको सम्मान र अधिकारको सवालमा थुप्रै नयाँ पार्टी आए । कसैलाई केही आरोप लगाउँदिन तर कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्छ’, थापाले भन्नुभयो ।  

सभापति थापाले कांग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर आएकाले सर्लाहीका चार क्षेत्रसँगै मधेशका ३२ क्षेत्रबाट कांग्रेसका उम्मेदवारले मधेशबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । 

प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

काठमाडौँ

माघ १४ गते, 

प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो।

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उहाँको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले पनि असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको तर अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किँदै चुनावमा होमिएको बताउनुभयो। नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उहाँले धन्यवाद पनि दिनुभयो।

प्रधानमन्त्री कार्कीसँग राजदूत मियोसको यो पहिलो भेट हो।

मुलुकको अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यक : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडाैँ

माघ १४ गते,

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तीकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । 

बुधबार ‘काठमाडौँ विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उहाँको भनाइ छ । उहाँले  सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरू आयोजना गरिरहनु जरुरी रहेको पनि बताउनुभयो । उहाँले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘जबसम्म हामी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तीकरणका नाराहरु पूरा हुन सक्दैनन् । त्यसको लागि सबैलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि र आफूसँग भएको सिपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्त्वपूर्ण छ । हामीले यस कार्यक्रमका लागि उद्योग वाणिज्य सङ्घ काठमाडौँसँग सहकार्य गरेका छौँ । विभिन्न समयमा विभिन्न ठाउँहरूमा हामी तालिम त दिन्छौँ ।  तर ती तालिमहरू तालिममा मात्र सिमित हुनु हुँदैन । सबै प्रकारका तालिमहरू उत्पादनसँग जोडिनुपर्छ । व्यक्तिको आयसँग पनि जोडिनुपर्छ जसले देशको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्‍याओस । हाम्रो उद्देश्य पनि यही रहेको छ ।’

सिपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको बताउनु भयो । करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवर्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ । 

महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ । 

टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनमा

काठमाडौँ

माघ १४ गते,

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्ष प्रसारणबारे जानकारी दिईएको हो । कन्तिपुरले विश्वकपका सबै खेलहरु नेपाली कमेन्ट्रीसहित कान्तिपुर म्याक्स–२ बाट तथा अङ्ग्रेजी कमेन्ट्रीसहित कान्तिपुर म्याक्सबाट गर्नेछ । प्रत्येक खेलको विज्ञसहित प्रि–म्याच र पोस्ट–म्याच कार्यक्रम सञ्चालन गरिने पनि बताईएको छ । 

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।

‘म पब्लिक डिबेटका लागि तयार छु’: संयोजक प्रचण्ड

काठमाडौँ 

माघ १४ गते,

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ‘पब्लिक डिबेट’का लागि सधैँ तयार रहेको बताएका छन्। आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए। उनले भने, ‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेको छु। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड् पनि हामी नै थालेका हौँ।’

भावी प्रधानमन्त्रीबीच ‘पब्लिक डिबेट’ गराउनुपर्ने बहस चलिरहेको छ। एमालेले अध्यक्ष केपी ओली, काँग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

नेकपाले भावी प्रधानमन्त्री नतोकेपनि ‘प्रचण्ड’ले पब्लिक डिबेट’का लागि आफू तयार रहेको बताएका हुन्। एमाले अध्यक्ष ओली, काँग्रेस सभापति थापा पनि तयार नै देखिए पनि बालेनले अस्वीकार गर्दै आइरहेका छन्। उनले देश अझै संकटमुक्त नभएको भन्दै निर्वाचनलाई धाँधलीरहित बनाउन लाग्नुपर्ने बताए। उनले देश कसैको स्टन्टबाजीमा नचल्ने बताएका छन्।