२०८३ जेष्ठ १७, आइतवार

दसैंमा लाग्ने तीन प्रतिक्षित नेपाली चलचित्र : कसले कति पायो शो?

काठमाडौं । दसैंको फूलपातीको अवसर पारेर यहीँ असोज १३ गते तीन प्रतिक्षित नेपाली चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । सोमबारदेखि प्रदर्शनमा आउने यी तीन चलचित्रको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।

तीनवटै चलचित्रको लागि मल्टिप्लेक्सहरूमा बिहान साढे पाँचदेखि मध्यरात साढे एघार बजेसम्मका शोहरू राखिएका छन्। एकैदिन तीनवटा चलचित्रहरु प्रदर्शनमा आउँदा कसले कति शो पाए त?

सन्तोष सेन निर्देशित ‘बलिदान’ ले अन्य दुई चलचित्रको तुलनामा बढी शो पाएको छ। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘बलिदान’ लाई काठमाडौंका आउटलेटमा मात्र ४१ शो दिएको छ।

सरकारको कालोसूचीमा परे १२ निर्माण कम्पनी

काठमाडौं– सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  

सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । 

कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो । 

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् ।

साँझ ६ बजे प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तुईन खोलाको पहिरो हटाउने कार्य जारी

काठमाडौँ । मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोलाको पुल नजिकै पहिरो हटाउने कार्य विहानदेखि शुरु भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराति ठुलो बर्षा भएपछि रोकिएको पहिरो पन्छाउने काम विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको छ । हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनले जनाएको छ । लिमिट स्पेसको कारणले धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न नसकिएको जानकारी दिएको छ ।

सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ । सडक डिभिजनले आज साँझसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।

बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ‌ । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै , ३ दिनमा १ लाख ३८ हजारले काठमाडौं छाडे

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौंको गोंगबु बसपार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोंगबु बस पार्कमा भीड लागेको छ ।

हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीको बुधबार बसेको स्थायी कमिटीको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए । उनले जीएनजीलगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर सझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरू, सामाजिक संघसंस्थाहरू सबैलाई समेटेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिए ।

उनले भने, “तोकिएकै समयमा निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने । जीएनजीलगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता, संवाद गरेर समझदारी कायम गर्ने । समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकताको लागि प्रभावकारी पहल गर्ने । सबै देशभक्त, परिवर्तनकारी पार्टीहरू, सामाजिक संघसंस्थाहरू सबैलाई समेटेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने ।”

माओवादीको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधबार स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता सापकोटाले बताए । बैठकले महाधिवेशनको मिति तय गर्नेछ । न्युज एजेन्सी नेपाल 

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ‘मतदाता नामावली ऐन, २०७३’ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। उनले बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटलगत्तै उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन्।

जेन-जी आन्दोलनपछि गठन भएको वर्तमान अन्तरिम सरकारलाई आगामी फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी दिइएको छ। निर्वाचन आयोगलाई आवश्यक तयारीका लागि सहज होस् भनेर सरकारले यो अध्यादेश सिफारिस गरेको हो।

कारोबारसँगै घट्यो नेप्से

८ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा उतारचढाव देखिएको थियो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको भयो । बजारमा दशैं प्रभाव कारोबार रकममा देखिएको छ । अब सेयर बेच्नेले दशैंअघि रकम नपाउने भएकाले बेच्नेहरू उत्साहित छैनन् । अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ता सक्रिय देखिँदैनन् ।

५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत बढ्यो । होटल बाहेकका समूह सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशत घट्यो ।

बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटे ।