२०८३ जेष्ठ १७, आइतवार

नयाँ नछापिए पुसपछि राहदानी अभाव हुने

काठमाडौँ 

कार्तिक १४ गते,

प्रधानमन्त्री सुशीला कार्कीले राहदानी अभाव हुन नदिन जर्मन राजदूत उडो भोल्जलाई आग्रह गरेकी छिन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपालमा दुई महिनाका लागि मात्रै पुग्ने राहदानी रहेकाले अभाव हुने भएकाले छपाइको जिम्मा पाएको जर्मन कम्पनीलाई आवश्यक पहल गरिदिन राजदूत भोल्जलाई आग्रह गरेकी हुन् । 

जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए । सञ्चारमन्त्री जगदीश खरेल, परराष्ट्रसचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहितका अधिकारीलाई राखेर प्रधानमन्त्री कार्कीले राजदूत भोल्जसँग कुराकानी गरेकी हुन् । 

हाल मासिक रूपमा करिब एक लाख पासपोर्ट माग भएको विभागका अधिकारीहरूको भनाइ छ । ‘प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीको निजी सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ, ‘नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।’ जवाफमा राजदूत भोल्जले आफ्नोतर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने आश्वासन दिएका छन् । ठेक्का पाएका कम्पनीहरू जर्मन सरकारको आंशिक स्वामित्वमा रहेका कम्पनी हुन् ।  जर्मन कम्पनी भेरिडोसले राहदानी विभागसँगको सम्झौताअनुसार ११ फागुनदेखि नयाँ पासपोर्ट छपाइ गर्दै छ ।

राष्ट्रिय परिचयपत्र थप छ क्षेत्रमा अनिवार्य

काठमाडौँ

कात्तिक १४ गते,

 सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको हो ।

मन्त्री खरेलले वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपत् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी दिनुभयो । यस्तै अध्यागमन सेवा, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण सम्बन्धमा राष्ट्रिय परिचयपत्र आबद्धता विस्तार गरेको उहाँले बताउनुभयो । समरजङ्ग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

गोलाप्रथाबाट जहाजको टिकट

हुम्ला

कात्तिक १४ गते,

माथिल्लो हुम्लाका हवाई यात्रुलाई टिकटका लागि गोलाप्रथाको सहारा लिनु परेको छ । हवाईजहाजहरू काठमाडौँ फिर्ता हुँदा उडान कम भएपछि यात्रुलाई टिकट पाउन गोलाप्रथाको सहारा लिनु परेको हो । 

एक हप्तादेखि नेपालगन्ज जाने तयारीमा रहेका सिमकोट गाउँपालिका–६ का रोहन रावतले बुधबार बेलुका टिकट वितरणका लागि सीता एयरले गोलाप्रथा प्रणाली लागु गरेपछि आफूले पाउन सफल भएको बताउनुभयो । 

सीता एयरले बिहीबार सिमकोटका लागि तीन उडान भरेको थियो । पहिलो उडानमा पर्यटकलाई ओसारेको थियो भने दोस्रो र तेस्रो उडानमा गोलाप्रथाबाट टिकट पाउन सफल यात्रुलाई ओसारेको थियो । सो जहाजमा टिकट पाउनका लागि एक सय जना यात्रुबिच गोलाप्रथा गरिएको थियो । 

एउटा उडानका लागि चार जनालाई मात्र गोलाप्रथाद्वारा टिकट वितरण गरिएको थियो । सीता एयरले १४ जना यात्रु बोक्ने गर्छ । गोलाप्रथाबाट टिकट नपाउने अर्का यात्रु छिरिङ लामाले हवाई टिकट पाउन भाग्यको खेलमा भर पर्नुपर्ने अवस्था हुम्लावासीलाई रहेको बताउनुभयो । केही बढी टिकटको गोलाप्रथा गरेको भए राम्रो हुने बताउँदै उहाँले हवाई टिकटको समस्या यात्रुका लागि जहिले पनि यस्तै हुने गरेको गुनासो गर्नुभयो । 

सीता एयरका सिमकोट शाखाका सहायक इन्चार्ज सूर्य लामाले यात्रु धेरै, टिकट सीमित भएको कारण बाध्य भएर गोलाप्रथाबाट सर्वसाधारणका लागि टिकट वितरण गरिएको बताउनुभयो ।   

व्यवसायीसँग बैठक राखी व्यावसायिक वातावरण बनाउन गृह मन्त्रालयको ७७ जिल्लामै परिपत्र 

काठमाडौँ 

कार्तिक १४ गते,

जेन–जी आन्दोलनपछि सहज व्यावसायिक वातावरण बनाउनका लागि व्यवसायीहरूसँग बैठक राखेर समन्वय गर्न गृह मन्त्रालयले ७७ जिल्लाकै प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। 

जेन-जी आन्दोलनका क्रममा व्यावसायिक कार्यालय तथा घरमा समेत आक्रमण भएपछि उनीहरूले असुरक्षित महसुस गरेका छन्। आन्दोलनका नाममा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्। 

गृह मन्त्रालयमा पनि व्यवसायीले गुनासो गरेपछि मन्त्रालयले व्यवसायीसँग समन्वय गर्न निर्देशन दिएको हो। 

आन्दोलन बढाउँदै नर्सिङ सङ्घ

काठमाडौँ

कात्तिक १३ गते,

आन्दोलनरत नर्सले बुधबार दुई घण्टा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । देशभरका नर्स पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत छन् । 

माग सम्बोधन नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूले बताएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नर्सको आन्दोलन एक/दुई दिनभित्र समाधान भइसक्ने जानकारी गराउनुभयो । “सम्भवतः बिहीबारसम्ममा निष्कर्षमा पुग्न सकिन्छ,” मन्त्री शर्माले भन्नुभयो, “सबै पक्षको छलफलपछि एउटा विन्दुमा पुगिसकेका छौँ ।” उहाँले नर्सका जायज माग पूरा गराउन आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । मन्त्री शर्माले नेपालमा अत्यन्त कम पारिश्रमिकमा काम गर्नुपरेको यथार्थ दृष्टिगत गर्दै तलब बढाउन सकिने बताउनुभयो । कतिपय अस्पतालले नर्सको तलब सरकारीसरह पुर्‍याइसकेका छन् । ग्रान्डी, नर्भिकजस्ता अस्पतालले सरकारीसरह पारिश्रमिक पुर्‍याएका छन् । 

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सको आन्दोलन नरोकिने जानकारी दिँदै सरकार, निजी मेडिकल कलेज र निजी अस्पतालसँगको छलफल सकारात्मक रहेको बताउनुभयो । पारिश्रमिक वृद्धि नगरी आन्दोलन नरोक्ने उहाँको भनाइ छ ।

बुधबारबाट सरकारी अस्पतालका नर्ससमेत आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नर्सका मागमा एउटा विन्दुमा पुगिसकेको जानकारी दिँदै बिहीबारसम्ममा टुङ्गो लगाइने बताउनुभयो । 

निजी अस्पतालको संस्था अफिनका अध्यक्ष डा. पदम खड्काले अस्पतालको वर्गीकरण गरेर तलब तोकिनुपर्ने जानकारी दिनुभयो । उहाँले सबै अस्पताललाई एउटै डालोभित्र हालेर हेर्न नहुने भन्दै काठमाडौँका चलेका अस्पताल र उपत्यकाबाहिरका अस्पताल तुलना गर्न नसकिने बताउनुभयो । 

यसैबिच निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले उठाएका मागको समर्थनमा स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेसागत सङ्घ संस्थाको संयुक्त सञ्जालले ऐक्यबद्धता जनाएको छ । 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीको सेवा सुविधा, तलबभत्ता, सुरक्षालगायत उपभोक्ता संरक्षण ऐनसम्बन्धी विषयमा छलफल भएको जानकारी दिँदै नेपाल नर्सिङ सङ्घले उठाएको १५ बुँदे माग तथा निजी र सरकारी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको तलब तथा सेवा सुविधामा एकरूपता कायम गराउने लक्ष्यसाथ बैठक भएको बताउनुभयो । 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ 

कार्तिक १३ गते,

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाकाे माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनर्स्थापनासमेतको माग गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका थिए। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले ती रिटकाे आजदेखि सुनुवाइ सुरु गरेको हो।

‘निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबीबमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ आदेशमा भनिएको छ।

हिमाली भेगमा अलपत्र दुई हजार पर्यटकको उद्धार

काठमाडौँ

कात्तिक १३ गते,

वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । 

पदयात्राको मुख्य सिजनमै भएको भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा अलपत्र परेका स्थानीय, आन्तरिक र बाह्य पर्यटक गरी बुधबारसम्म एक हजार पाँच सय जना स्थानीय र आन्तरिक पर्यटक तथा दुई सयभन्दा बढी विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको हो । हिउँमा फसेका केही पर्यटकको उद्धार जारी छ । 

मनसुनजन्य विपत्का बेला राज्य संयन्त्र तत्काल उद्धार कार्यमा खटिँदा मनाङबाट सबैभन्दा बढी पर्यटकको उद्धार गरिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार बुधबारसम्म मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, उपल्लो मनाङलगायत क्षेत्रमा अलपत्र परेका सबै पर्यटकको उद्धार सम्पन्न भएको छ ।

उहाँले भन्नुभयो, “तिलिचो, उपल्लो मनाङलगायत ठाउँमा उद्धारको पर्खाइमा रहेका एक हजार पाँच सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटकको उद्धार गरिएको छ । उपल्लो क्षेत्रका हरेक होटलमा सोधपुछ र चेकजाँच गरेर पर्यटकको उद्धार गरिएको हो । अहिले उपल्लो क्षेत्रमा आफ्नै खुसीले बसेका केही पर्यटक र स्थानीयबाहेक अरू सबैको उद्धार गरिएको छ । उद्धार गरिएका पर्यटक बुधबार चामे, बेँसीसहरलगायत गन्तव्यमा पुगिसकेका छन् ।” 

हिमपातका कारण बाटो अवरुद्ध भएपछि जिल्लामा सवारीको समेत अभाव भएको जनाउँदै उहाँले मनाङबाट सकुशल पर्यटकलाई १५ वटा जिप र दुई वटा बसबाट गन्तव्यतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो । मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार सफल भएको उहाँले बताउनुभयो ।

मधेशमा सुरक्षा समन्वय बैठक सम्पन्न, निर्वाचनको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन 

महोत्तरी 

कार्तिक १२ गते,

गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा मधेसमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा भएको बैठकमा गृह मन्त्रालयका सचिव, मधेश प्रदेशका प्रमुख सचिव, मध्यपूर्वि पृतनाका पृतनापति, गृह मन्त्रालयका सहसचिव, मधेश प्रदेशका प्रदेश सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू सहभागी थिए । त्यस्तै, सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थितिमा थियो । 

उक्त बैठकमा जेन–जी आन्दोलनपश्चात विकसित घटनाक्रम र हालको मधेश प्रदेशको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र निर्वाचनको तयारी सम्बन्धमा मधेश प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु र सिरहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आ–आफ्नो प्रस्तुति भएको थियो । 
बैठकमा गृहमन्त्री अर्यालले सुशासन कायम गरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । 

‘जेन्जी पुस्ताले उठाएका माग र आन्दोलनका कारण भाद्र २३ र २४ गते भएको आन्दोलन पश्चात् नागरीक स्तरमा उठेका आवाजलाई सम्बोधन गर्ने गरी गठन भएको यो सरकारका मुलतः ३ वटा प्राथमिकताहरु रहेका छन्,’ निर्देशनका क्रममा उनले भने,‘पहिलो प्रदर्शन पश्चात् विग्रेको शान्ति सुरक्षा र सेवा प्रवाहलाई सामान्यीकरण गर्ने, दोश्रो फागुन २१ गते स्वस्च्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्ने र तेश्रो सुशासन प्रबद्र्धन गर्ने । प्रदर्शनका क्रममा घाईते भएका व्यक्तिहरुलाई परिचयपत्र प्रदान गर्ने, राहत उपलब्ध गराउने सम्बन्धमा सरकारबाट निर्णय भएका छन् । ती निर्णयहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुहोला ।’  

सरकारको प्राईमरी एजेण्डा निर्वाचन भएकाले त्यसको तयारीमा लाग्न उनको निर्देशन थियो । ‘हामीले जनताले अनुभुति गर्ने गरी शान्ति सुरक्षालाई थप सुदृढ तुल्याई अहिले हामिले जनतालाई सुरक्षाको प्रत्याभूती दिदै निर्वाचनको तयारी गर्नुपर्ने छ,’ उनले भने,‘निर्वाचनको लागि वातावरण बनाउने र सम्पन्न गर्ने कार्यमा यहाँहरुको भूमिका अहम रहने छ । केन्द्रबाट गर्ने नीतिगत, कानूनी दायित्व र जिम्मेवारीलाई हामीहरुले समयमै गर्ने र गरिरहेका छौ । यसका लागि निर्वाचन कानून, कानून संशोधन, आवश्यक श्रोत साधनको ब्यवस्थापन, राजनैतिक दलहरूसँग र सरोकारवालाहरुसँग छलफल गर्ने कामहरु गरिरहेका छौ ।’ 

मतदान केन्द्रको पुनर्निर्माण गर्नुपर्ने, मतदान केन्द्रहरुलाई सुदढ गर्न आवश्यक पर्ने विषयहरु विश्लेषण गरेर यहाँहरुले शिघ्र प्रतिवेदन दिन उनले भनेका छन् ।   
‘यो सरकार गठनको अर्को आधार र एजेण्डा सुशासन र पारदर्शिता हो । त्यसैले हिजो भन्दा आज र आज भन्दा भोलिहामीले आम नागरिक वा जनताको माग, चाहना र सोचाई अनुरुप सेवा प्रवाह गर्नुपर्नेछ,’ उनले भने,‘हामीले गर्ने अनुसन्धानहरु निष्पक्ष र तथ्यमा आधारित हुनुपर्दछ । राजश्व चुहावट नियन्त्रण, अपराध नियन्त्रण जस्ता विषयलाई गम्भिरतापूर्वक हेर्नुपर्नेछ । त्यसैले यहाँहरुले काम भैरहेको छ, गरिरहेका छौं भन्ने भन्दा पनि आगामी दिनमा हामीले यहाँहरुको कार्यसम्पादनलाई तथ्यमा आधारित भएर हेर्ने र मूल्यांकन गर्नेछौं ।’

मौसमी बर्षाको अन्यसँगै शुरु हुने चिसो मौसम र यसमा देखिने शितलहरलाई मध्यनजर गरेर तराई क्षेत्रमा हुने यसको प्रभावलाई समयमै उचित समन्वय, सरकारी निकायहरुबिचको समन्वयात्मक कार्य गरी यसबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने गरी योजनाबद्ध रुपमा  काम गर्न उनले जोड दिएका छन्।  ‘ गत विपद्मा जसरी हामीले समन्वयात्मक ढंगबाट कार्य गर्न सक्यौं, त्यसैगरी शितलहरको अवस्थाभएमा राज्यको उपस्थिति महशुस हुने गरी पूर्वतयारी गर्नुहोला,’ उनले भने । 

गृह सचिव रामेश्वर दंगालले बदलिदो परिवेशमा परिवर्तनलाई आत्मासाथ गरी सबै सुरक्षा निकायका कर्मचारीहरुमा निष्ठा, ईमान्दारीता र समन्वयात्मक रुपमा परिचालित भई काम गरी सुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्य गर्नु पर्ने कुरामा जोड दिए। 

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

इलाम 

कार्तिक १२ गते,

सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गर्नुभएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।

हिमपातले अन्नपूर्ण आधार शिविर क्षेत्र जान रोक, सुरक्षाकर्मीको टोली परिचालन

अन्नपूर्ण गाउँपालिका

कार्तिक १२ गते,

अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा मौसममा आएको खराबी र हिमपातको कारण भ्रमणमा जान रोक लगाइएको छ । गएरातिदेखि भारी मात्रामा हिमपात भइरहेकाले यस क्षेत्रमा गएका पर्यटकहरूको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । 

पछिल्लो समय अत्यधिक मात्रामा पर्यटकहरूको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले पर्यटकहरू बिरामी र अलपत्र पर्ने जोखिम भएकाले अन्नपूर्ण गाउँपालिकासँगको समन्वयमा पर्यटकहरूको सहजीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए । 

हिमाली उद्धारकर्मीको रूपमा परिचित इन्द्रसिंह शेरचनसमेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएको कारण पर्यटकहरू भारी हिमपातका कारण समस्यामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको छ । 

जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

अन्नपूर्ण गाउँपालिकाले समेत सूचना जारी गरेर मौसम खराबीको कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकहरूलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले पर्यटकीय क्षेत्रबाट फर्किरहेका पर्यटकहरूबाट सूचना लिइरहेको र कोही पर्यटक पनि अलपत्र र अप्ठ्यारो अवस्थामा रहेको जानकारी नआएको जनाइएको छ ।