प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ
कार्तिक १३ गते,
सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाकाे माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनर्स्थापनासमेतको माग गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका थिए। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले ती रिटकाे आजदेखि सुनुवाइ सुरु गरेको हो।
‘निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबीबमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ आदेशमा भनिएको छ।

