२०८३ जेष्ठ १७, आइतवार

उच्च पहाडी र हिमाली ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ

पुष १५ गते,

आज देशका उच्च पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार उच्च क्षेत्रमा कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

भोलि र पर्सि पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । अझै केही दिन तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै रहने सम्भावना छ ।

तराईमा बढेको चिसोले जनजीवन प्रभावित हुँदै आएको छ । तर महाशाखाले शीतलहरूको आधिकारिक घोषणा भने गरिसकेको छैन । काठमाडौँ उपत्यकामा अहिले बिहान हुस्सु लागे पनि दिउँसो मौसम सफा रहनेछ । आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएको छ ।

आयोगले तोक्यो खर्च सीमा

काठमाडौँ

पुस १५ गते,

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

नेपाली काँग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको सूची

काठमाडौँ

पुष १५ गते,

नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा अझैसम्म पनि बुझाउन सकेको छैन। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समानुपातिक नामावली बुझाउनको लागि अहिले पनि आफूहरू निर्वाचन आयोगमै रहेको बताए । ६३ दलले बन्द सूची पेस गरिसक्दा पनि सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले बन्द सूची बुझाउन नसकेको हो । आयोगले भने काँग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने जनाएको छ। 

कुलमानसँग एकतापछि पनि रास्वपाको चुनाव चिह्न घण्टी नै रहने, यस्तो सात बुँदे सहमति !

काठमाडौँ 

पुष १५ गते,

उज्यालो नेपाल पार्टीसँगको पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ ।

यसअघि पार्टी एकताको लागि पटक पटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आएका थिए । सोमबार साँझ भएको निर्णायक वार्तामा भने उनेपाले आफ्नो अडान त्यागेको छ । अब एकीकृत पार्टीको चुनाव चिह्न घण्टी नै रहने सात बुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।

एकीकृत पार्टीको झण्डा पनि साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ ।

सुदन गुरुङसँगको तस्बिरसहित बालेनको सन्देश-‘देश बनाउन प्रयास गर्ने पात्रहरू नै इतिहासमा रहन्छन्’

काठमाडौँ 

पुष १५ गते,

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले देश निर्माणको कुरा सबैले गर्ने भए पनि त्यसका लागि वास्तविक रूपमा अघि बढ्ने पात्र नै निर्णायक हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले बाबु सुधन गुरुङले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गर्दै उक्त योगदान देशले सय वर्षसम्म पनि नबिर्सने उल्लेख गरेका छन्। मेयर बालेनको यो अभिव्यक्ति पछिल्लो पुस्तामा लोकप्रिय मानिएका रवि लामिछाने, कुलमान घिसिङ र बालेन एकै स्थानमा जोडिएको पृष्ठभूमिमा आएको हो। जेन जेड पुस्ताका नेता सुधन गुरुङले यी तीनै व्यक्तित्वलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।

पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाविरुद्ध आ–आफ्नो क्षेत्रमा एक्लै आवाज उठाएर उदाएका तीन नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएसँगै बालेनको यो स्टाटस सार्वजनिक भएको हो। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) समूहबीच एकता भएको भोलिपल्ट कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकतासँगै पुराना राजनीतिक शक्तिविरुद्ध उठेको आवाज अब करिब एक ठाउँमा संगठित हुँदै गएको देखिएको छ। विवेकशील साझा पार्टी यसअघि नै रास्वपामा समाहित भइसकेको छ भने जेन जेड आन्दोलनका केही अगुवाहरू पनि रास्वपामा प्रवेश गरिसकेका छन्। जेन जेड आन्दोलनका युवाहरूले राजनीतिक, नैतिक र भौतिक समर्थनलाई तीनवटा संगठित समूहमा केन्द्रित गर्दै आगामी चुनावका लागि यी शक्तिहरू एकसाथ आउनुपर्ने दबाब निरन्तर दिँदै आएका थिए।

पुराना पार्टीहरूको बर्चस्व तोड्न छुट्टाछुट्टै चुनावमा भाग लिँदा अपेक्षित परिणाम नआउने निष्कर्षसहित यी तीन राजनीतिक शक्तिहरू एक ठाउँमा आएको विश्लेषण गरिएको छ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौँ 

पुष १५ गते,

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । ८० वर्षको उमेरमा उपचारको क्रममा आज बिहान ६ बजे उनको निधन भएको गलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलले जनाएको छ ।

खालिदा जिया केही महिनादेखि फोक्सो सङ्क्रमणका लक्षण देखिएपछि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

तमु ल्होसारका अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ 

पुष १५ गते,

प्रधानमन्त्री सुशीला कार्कीले तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।

आज बिहान शुभकामना सन्देश जारी गर्दै गुरुङ समुदायको ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान र सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने कामना पनि गरेकी छिन् ।

अग्निपीडितलाई राहत सहयोग

राजविराज 

पुष १४ गते,

धर्मी हल्फा महिला विकास क्लव सप्तरीले छिन्नमस्ता गाउँपालिका –३ गोविन्दपुरका अग्निपीडित परिवारलाई सोमबार राहत वितरण गरेको छ ।

पीडित परिवारलाई तत्काल आवश्यक सामग्री त्रिपाल, साडी, थाल, गिलास, कराही, पुन्यू बाल्टीन, मगसहित आवश्यक भाडाकुँडा खाद्यान्न सामग्री, बाल्टिन, मग, म्याट्रेस लगायतका सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अति विपन्न आगलागी पीडित परिवारलाई यस्तो शीतलहरमा दुई छाक टार्न समस्या नहोस् भन्ने उद्देश्यले राशन वितरण गरेको हुँ ।” पुस १० गते आगलागी भएर स्थानीय मो. रहमत मियाँको घरको धान, गहुँ, लत्ता कपडा, भाँडाकुडा रूपियाँ पैसा गरी २ लाख ६५ हजारको बराबरको क्षतिभएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रको ८१औँ जन्म जयन्ती मनाइयो

काठमाडौँ

पुष १४ गते,

स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानसहित विभिन्न संघसंस्थाको आयोजनामा सोमबार राजा वीरेन्द्रको ८१ औँ जन्म जयन्ती मनाइएको छ। जावलाखेलस्थित वीरेन्द्रको सालिक तथा तस्बिरमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको हो । त्यसअवसरमा वीरेन्द्रको योगदानको चर्चासमेत गरिएको थियो ।

राजा वीरेन्द्र शाह वंशीय राजामध्येका देशभक्त र जनप्रिय राजा मानिन्छन् । दशौं शाहवंशीय राजा वीरेन्द्रले २०२८ देखि २०५८ जेठ १८ गतेसम्म शासन गरेका थिए । उनको प्रारम्भिक शिक्षा दरबारमै भयो । माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि बेलायतको इटन कलेजमा पढे । पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरे । वीरेन्द्रको बिहे २०२२ सालमा ऐश्वर्यसँग भएको थियो ।

वि.सं. २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।

पूर्व गृहमन्त्री रमेश लेखकको बयान सकियो

काठमाडौँ 

पुष १४ गते,

नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् ।

भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरवारस्थित जाँचबुझ आयोग पुगेका थिए । मध्याह्न करिब १२:३० बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिएका छन् ।

जेन्जी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी एक दिन ढिला गरी आज बयानका लागि सिंहदरवार पुगेका हुन् ।

त्यस्तै उनले आजै पत्रकार सम्मेलन गरेर जेन जेड आन्दोलनको विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरिने जनाएका छन् ।

जेन जी  आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।