२०८३ जेष्ठ १७, आइतवार

प्रभु साहसँग रविले भने– सरकारले मधेशलाई प्राथमिकतामा राखेर काम गर्छ

काठमाडौँ । राष्ट्रिय  स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सरकारले मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

साह मंगलबार लामिछानेलाई बधाई ज्ञापन गर्न उनको निजी निवास बुढानीकलकण्ठ पुगेका थिए। सभापति रवि लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराउँदा आफू हर्षित भएको साहले उल्लेख गरे।

साह र लामिछानेबिच देश र अझ विशेषगरी मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएको भन्दै यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो । 

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

त्यस अवसरमा उनीहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ । 

‘कानुनी तथ्यहरूका आधारमा छानबिन हुनुपर्छ, घण्ट बजाएर मात्र हुँदैन’ : गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य र मानवअधिकारको पालना गर्न सरकारलाई सुझाव दिएका छन् ।

बास्कोटाले फेसबुकमार्फत  बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारप्रति लक्षित गर्दै यस्तो सुझाव दिएका हुन् । 

घण्ट बजाएर मात्र नहुने भन्दै उनले विधिको शासन, कानुनी राज्य, मानव अधिकार अनि बच्चा, बुढापाका र महिलाप्रति नेपाली संस्कारको पनि पालना गर्न सुझाव दिएका हुन् ।

उनले जो कोहीमाथि छानबिन गर्दा आग्रह र पूर्वाग्रहले नभई कानुनी तथ्यहरूका आधारमा गर्नुपर्ने बताएका छन् ।

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

काठमाडौँ । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ गएको जनाइएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना सम्पूर्ण कार्यक्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको जनाएको छ।

मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यसहित उक्त निर्णय कार्यान्वयनमा ल्याएको स्पष्ट पारेको छ।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असर न्यूनीकरण गर्न तथा वैकल्पिक एवं वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो कदम चालिएको मन्त्रालयको भनाइ छ।

पोखरा महानगरद्वारा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

काठमाडौँ । पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ ।

महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्नेगरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । 

उनका अनुसार महानगरपालिकाभित्रका बजार क्षेत्रका ११ वटा वडाका लागि प्रतिवडा एक/एक लाख रुपैयाँ र ग्रामीण क्षेत्रका २२ वटा वडाका लागि दुई/दुई लाख रुपैयाँका दरले कुल ५५ लाख रुपैयाँ विनियोजन गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ ।

महानगरका ३३ वडा वडामध्ये वडा नं १ देखि १० र १२ नं वडालाई बजार क्षेत्र र अन्यलाई ग्रामीण क्षेत्रका रूपमा लिइएको छ । वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयले त्यहाँको आवश्यकता पहिचान गरेअनुरूप उक्त स्थानमा बजेट विनियोजनअनुसार किसानलाई ५० प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

नागढुंगा–मुग्लिन सडक : आजदेखि ३ दिन रातको समयमा बन्द

काठमाडौँ । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो ।

चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ ।

पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

काठमाडौँ । काठमाडौँका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । उनी जेन जेड आन्दोलनको बेला काठमाडौँकोप्रमुख जिल्ला अधिकारी थिए ।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा दमन गरेको आरोप छ ।

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

काठमाडौँ । लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ । रगतको अभावमा बिरामीले भोग्नु परिरहेको सास्तीलाई दृष्टिगत गर्दै लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाताका परिवारबीच सोमबार त्रिपक्षीय समन्वयमा यो परियोजना अघि बढाइएको हो ।

ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौता भएको छ । यसका लागि लहान(१० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको तीन कट्ठा जग्गा उपलब्ध गराउने सहमति भएको हो ।

भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले रु ४० लाख सहयोग गर्नुहुने भएको छ भने उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिनेछ ।

यसैगरी, लायन्स क्लबले ब्लड बैंकका लागि आवश्यक पर्ने रु एक करोड ५० लाखभन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरणहरू उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापना यस क्षेत्रको स्वास्थ्य उपचारमा एउटा ठूलो उपलब्धि हुने बताए । “लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या थियो”, उनले भने, “हाम्रो प्राथमिकता नागरिकको स्वास्थ्य हो र यो ब्लड बैंकको स्थापनाले आपतकालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्यालाई जरैदेखि समाधान गर्नेछ ।”

दाता पक्षका तर्फबाट मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवा गर्न पाउनु गौरवको विषय भएको बताए । उनका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडबाडी सेवा सदनजस्ता संस्थाको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

“हाम्रो परिवारले शिक्षा र स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ”, मुरारकाले भने, “अन्तरराष्ट्रियस्तरको ब्लड बैंक निर्माणपछि हामी अन्य सामाजिक क्षेत्रमा पनि सहयोग जारी राख्नेछौँ ।” यो केन्द्र सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्ला सप्तरी, धनुषा र उदयपुरका बिरामीले प्रत्यक्ष लाभ पाउनेछन् ।

इलामका सांसद राईले प्रधानमन्त्री बालेनसँग राखे दर्जनबढी माग

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद निश्कल राईले जिल्लामा प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत साथै कृषि क्षेत्रका समस्या र पर्यटन विकासमा ध्यान दिन प्रधानमन्त्री बालेन्द्र शाहसँग माग राखेका छन् ।

सोमबार प्रधानमन्त्री शाहले राखेको सांसदहरुसँगको छलफलमा राईले संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरुपनि अवगत गराएको बताए ।

‘प्रधानमन्त्रीज्यूसँग क्रमवद्ध रुपमा मागहरु अगाडि राखेको छु । प्रारम्भमा प्रतिनिधि सभा बैंठक चाँडो भन्दा चाँडो आब्हान गर्न माग राखें । अगाडिका सरकारले प्रथम, दोस्रो र तेस्रो प्राथमिकतामा राखेका विधेयकहरुमाथि तत्काल छलफल थाल्न पनि भनेको छु,’ उनले नेपाल न्यूज बैंकसँग भने,‘सरकारले अगाडि बढाएका एकसय बुँदाका कार्य योजना कार्यान्वयन गर्नपनि कानूनी जटिलताहरु रहेकाले त्यसको समाधानका लागि पनि संसद आब्हानको माग गरेको छु ।’

सांसद राईले वर्षाद्को मौसम सुरु भइसकेकाले इलामलगायत विभिन्न जिल्लामा भएका दैवि प्रकोपको क्षतिलाई ‘डिजास्टर हिट जोन’का रुपमा घोषणा भइसकेको उल्लेख गर्दै त्यसको लागि तत्काल आवश्यक कदम चाल्न माग गरे ।

जिल्लामा विपत्तिमा परेर १३२ पूर्ण क्षतिग्रस्त भएको, २७६ वटा परिवारहरु विस्थापित र ४०१ वटा घरहरुमा सामान्य क्षति भएकाले उनीहरुका लागि बजेट विनियोजन र विनियोजित बजेटको कार्यान्वयनमा जोड दिएका छन् ।

त्यस्तै क्षति भएका विद्युत आयोजना, पुल तथा सडकहरुको काम तत्काल सुरु गर्न पनि माग गरेको जानकारी दिए । ‘विपत जोखिम न्यूनीकरण र पूर्वतयारी गर्ने कुरामा पनि सरकारको ध्यान जाओस् भन्ने कुरा राखेको छु,’ राईले भने ।

सांसद राईले इलाममा उत्पादन हुने चिया, अलैंची, दुध, सुपारी, कफी साथै जडीवुटीको व्यवसायमा देखिएका समस्याहरु तत्काल समाधानका लागि माग समेत गरेका छन् ।

राईले भारत निर्यात हुने नेपाली चियामाथिको भारतीय सिन्डिकेट तोड्न, बजार व्यवस्थित बनाउन साथै कृषिजन्य उत्पादनमा ध्यान दिन पनि आग्रह गरेका छन् ।

उनले पर्यटन सुधार गर्नका लागि सीमा सडकको रुपमा रहेको काकाभिट्टा–चिवाभञ्चांङ प्रथम प्राथमिकतामा राख्न, भारततर्फ अध्यागमन राख्नका लागि भारत सरकारसँग पहल गर्न, माई तटबन्धन निर्माण, मेची कोरिडोर साथै इलाम सदरमुकाम जाने वैकल्पिक मार्गको कामलाई प्राथमिकता दिन सांसद राईले प्रधानमन्त्री समक्ष माग राखेका छन्।