२०८३ जेष्ठ १७, आइतवार

भन्सार क्षेत्रमा ट्राफिक सुधारका लागि सरोकारवालाको एकजुटता

भैरहवा, साउन १५ । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। भैरहवा भन्सार कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भन्सार क्षेत्र र सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या तथा समाधानमाथि विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड नियन्त्रण गर्न सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले भन्सार विन्दुबाटै ट्राफिक नियमको कडाइका साथ पालना हुनुपर्ने बताए। उनले सीमाक्षेत्रमा संचालन भइरहेका भारतीय ट्याक्सीहरूको व्यवस्थापन तथा अव्यवस्थित पार्किङ सुधारका लागि ट्राफिक प्रहरीले आवश्यक कदम चालिरहेको जानकारी गराए।

कार्यक्रममा भन्सार एजेन्ट संघले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा ट्राफिक प्रहरी, भैरहवा भन्सार कार्यालयका कर्मचारी, सञ्चारकर्मी, सशस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, बेलहिया गाउँ समाज, रेडक्रस सोसाइटी बेलहिया शाखा, लुम्बिनी खुकुरी क्लब, नेपाल भारत मैत्री संघ, बेलहिया माध्यमिक विद्यालय, सोटो नेपाल, गृहलक्ष्मी समूह, आमा समूहहरू, आफन्त नेपाल, ज्ञानपथ आमा समूह, भूपू सैनिक संघलगायत दर्जनौँ संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले सीमावर्ती क्षेत्रको ट्राफिक चुनौती समाधानमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको सन्देश दिएको छ।
 

भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी

 
काठमाडौं, १४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् ।

बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

राष्ट्रपति बनाउने समयमा नै फुले  उमेर र क्रियाशीलका हिसावले नेतृ विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको पनि महासचिव पोखरेलले स्मरण गरेका छन् । भण्डारीको निवासमै गएर राष्ट्रपतिमा तपाईले इच्छा नगर्दा राम्रो हुने भन्दै सल्लाहसमेत दिएकोसमेत दावी गरेका छन् । तर, पार्टीले सर्वसम्मत निर्णय गरेपछि उनी राष्ट्रपति भएको पनि दावी गरे ।

‘अहिले दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गरेर पुनः राजनीतिमा फर्किनु होला भन्ने लागेकै थिएन, तर वहाँमा त्यो धैर्यता देखिएन’ उनले भने ।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार भण्डारी अब सम्मानित भएर बस्नुपर्छ । ‘पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ, पार्टी पद्धतिको पालना गर्नु हुनेछ भन्ने विश्वास ब्यक्त गरेको छु,’ उनले भने ।  

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं, साउन १४ । नेपाली सुनचाँदी बजारमा बुधबार मुल्यवृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १,४०० रुपैयाँले बढी हो।

मङ्गलबार (अघिल्लो कारोबार दिन) छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार रुपैयाँ थियो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य २ हजार ३१० रुपैयाँ प्रति तोला पुगेको छ, जुन मंगलबारको मूल्य (२,३०० रुपैयाँ) भन्दा १० रुपैयाँले बढी हो।

साथै, दश ग्राम सुनको मूल्य १ लाख ६६ हजार ६६५ रुपैयाँ पुगेको छ भने दश ग्राम चाँदीको मूल्य १ हजार ९८० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

विशेषज्ञहरूले भोलिका दिनमा पनि बजारमा चाप रहन सक्ने सम्भावना औंल्याएका छन्, विशेष गरी अन्तर्राष्ट्रिय आर्थिक उतारचढावको कारणले मूल्यमा उतारचढाव जारी रहन सक्छ।

रूसको पुर्वी भागमा शक्तिशाली ८.८ रेक्टरको भुकम्प

काठमाडौं, १४ साउन । रूसमा ८.८ रेक्टरको शक्तिशाली भुकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ।

भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका छन्।

भूकम्पले रुसी शहर पेट्रोपाभ्लोभस्क–कम्चात्स्कीमा सडकमा उभिएका भवन र कारहरूलाई क्षति पुर्याएको छ, जसमा विद्युत् कटौती र मोबाइल फोन सेवा अबरूद्द रहेको छ ।

एनआईसी एशिया बैंकद्वारा ८.७५ प्रतिशत व्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक

काठमाडौं, साउन १३ । एनआईसी एशिया बैंकले शेयर धितो राखी ऋण लिन चाहने ग्राहकहरूलाई लक्षित गरी ‘ATHOT Loan Against Share’  नामक नयाँ योजना सार्वजनिक गरेको छ।

बैंकले यस योजनाअन्तर्गत ग्राहकहरूलाई अत्यन्त प्रतिस्पर्धी ८.७५ प्रतिशत वार्षिक ब्याजदरमा शेयर धितो ऋण उपलब्ध गराउने घोषणा गरेको हो। योजना अनुसार, १ प्रतिशत प्रिमियमसहित ८.७५ प्रतिशत ब्याजदर लागू गरिनेछ।

बैंकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका शेयर, म्युचुअल फन्ड, बीमा कम्पनी र अन्य अनुमोदित संस्थाको धितोमा आधारित ऋण सेवा प्रदान गर्नेछ। यस योजना अन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँसम्मको ऋण लिन सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक) सुवासराज काफ्लेले ग्राहक हितलाई प्राथमिकतामा राख्दै यस्तो योजना सार्वजनिक गरिएको बताए।

एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने

काठमाडौं, १३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । 

सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल बितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत रहेको छ ।

यस कार्यक्रमका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र महासचिव किरण राईले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा गरि सकिएको छ । राष्ट्रकै शैक्षिक र खेलकुद विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमको महत्वलाई ध्यानमा राख्दै प्रधानमन्त्री ओलीले निमन्त्रणा स्वीकार गरेको उपाध्यक्ष दावा कुङवा लामाले जानकारी दिए । 

नेपालमा यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ। देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा ३२,६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले जनाएका छन् ।
 

हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न, ९ लाखभन्दा बढीले पाए १०–१० कित्ता

काठमाडौं, साउन १३ । हिमालयन बैंक लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (एफपीओ) आज (मंगलबार) बाँडफाँड गरिएको छ। कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान औपचारिक रुपमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।

बैंकले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. ५७ प्रिमियम थप गरी रू. १५७ मा एफपीओ निष्काशन गरेको थियो। कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर असार ३१ गतेदेखि साउन ४ गतेसम्म सार्वजनिक रूपमा बिक्रीमा ल्याइएको थियो।

एफपीओमा उल्लेख्य सहभागिता देखिएको छ। कुल १८ लाख २५ हजार ९२२ लगानीकर्ताबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन वैध ठहरिएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले अस्वीकृत भएका छन्।

माग अत्यधिक भएपछि बाँडफाँड गोलाप्रथामार्फत गरिएको हो। यस प्रक्रियाबाट ९ लाख २५ हजार ४६ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँडपछि बाँकी रहेका ९ कित्ता शेयर २० कित्ताका लागि आवेदन दिएका सहभागीहरूमा वितरण गरिएको छ। यसअनुसार ९ जनाले थप एक कित्ता प्राप्त गर्दै ११–११ कित्ता शेयर पाएका छन्।

 मंगलबार सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि

काठमाडौं, साउन १३ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा रू. ६ सयले घटेर रू. १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा रू. १,९३,६०० रहेको थियो।

यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला रू. २,२९५ मा कारोबार भएको चाँदी आज रू. २,३०० मा पुगेको छ।

यसैगरी, १० ग्राम सुनको मूल्य आज रू. १,६५,४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य रू. १,९७२ रहेको छ।

सुनचाँदीका मूल्यहरू अन्तर्राष्ट्रिय बजार, विनिमय दर र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छन्।
 

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय साउन २० सम्म थप

काठमाडौं, साउन १३ ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हालै निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि साउन २० गतेसम्म थप गरिएको छ। कम्पनीले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले कायम शेयरधनीहरूलाई १०ः४.२ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ। यसअनुसार, इन्स्योरेन्सले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य रू. १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ हुन्छ। हरेक शेयरको अंकित मूल्य रू. १०० तोकिएको छ।

यसका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। सो अनुसार, जेठ १४ गतेसम्म नेप्सेमा शेयर खरिद गरी नाम दर्ता गरेका लगानीकर्ताले मात्र आवेदन दिन पाउने छन्।

शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक शेयरधनीहरूले निम्न स्थानहरूबाट आवेदन दिन सक्नेछन्ः

  • मुक्तिनाथ क्यापिटल लिमिटेड
  • मुक्तिनाथ विकास बैंकका शाखाहरूः बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुंगा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, र बुटवल
  • एशियन लाइफ इन्स्योरेन्सको कार्यालयहरू

त्यसैगरी, सी–आस्वा प्रणाली अन्तर्गत ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म तथा धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिने सुविधा उपलब्ध छ।

कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’

काठमाडौं, साउन १२ ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो।

ऊर्जाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन्। प्रवासमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रम तथा अन्तरक्रियाहरूमा सहभागी हुँदै उनी एक महिनासम्म विदेश भ्रमणमा रहनेछन्।

विद्युत् व्यवस्थापनमा परिवर्तन ल्याएर ‘लोडसेडिङ मुक्त नेपाल’ अभियानका अगुवा मानिने घिसिङलाई अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मान प्राप्त हुनु नेपालका लागि गौरवको विषय भएको प्रतिक्रिया आएका छन्।