२०८२ जेष्ठ ३, शुक्रबार

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा  भातृ संस्थाका अध्यक्ष हुन् ।

केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ । बिस्तृत जानकारी आउन बाँकी रहेको छ।
 

पहिलो पटक राष्ट्रपतिवाट हजयात्रीको बिदाई

काठमाडौं, २ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

“विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु”, उनले भने ।

उनले परापुर्वकाल देखि नै नेपाल राज्य निर्माणमा मुस्लिम समुदायको महत्वपूर्ण योगदान रहेको बताए । “पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित् निकायले ध्यान दिनेनै छ भन्ने मैले विश्वास लिएको छु, हज कार्यलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम  र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।

सो असवरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर बिदाइ गरेका थिए । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाई गरिनु गौरवको विषय भएको बताए ।

अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रम जारी

काठमाडौं, २ जेठ । आज देखी काठमाडौंमा अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रम सुरू भएकाे छ ।

हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा सगरमाथा संबाद कार्यक्रम सुरू गरिएकाे हाे ।

सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेवाट सुरू भएकाे आजको कार्यक्रममा १७५ बिदेशी पाहुनासहित ३५० जनाले सहभागिता जनाइरहेका छन ।

जसअनुसार तीनवटा सेशनमा यो कार्यक्रम सञ्चालन हुनेछ । परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा संबाद’ कार्यक्रमको जलबायु परिवर्तन सबन्धी मुख्य बिषय छलफल हुनेछ ।

यस्तो छ कार्यतालिका

उदघाटन सत्रः आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने यो संवादको मुख्य औपचारिक कार्यक्रम हो।  प्रधानमन्त्री केपी ओलीबाट सम्बोधन हुने यस समारोहमा पराराष्ट मन्त्रीले स्वागत मन्तव्य दिने कार्यक्रम छ। उक्त कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने र चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आएका विशिष्ट पाहुनाहरू र कोप २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ। यो कार्यक्रम १६ मे को विहान ९ः३० मा शुरू हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुनेछ।  

छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम बिहान ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ।

त्यसपछि बिशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रालगायत बिभिन्न कार्यक्रमहरू गरिनेछ ।

एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

सञ्जय मिश्रा 

बिरगंज, २ जेठ। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्भाले देखिनै एसपी गौतम मिश्र पुरै एक्सनमा देखिएका छन। 

उनको कडा एक्सनले अपराधी र तस्कर माझ खैलाबैला मच्चिएको छ भने सानो अवधिमा प्रहरीले करोडौंको अबैध माल सामान बरामद गरेको छ।

एसपी मिश्रको सक्रियता र कडा निर्देशनले पर्सा जिल्लामा प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको छ।

विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समय देखि फरार रहेका १९५  प्रतिवादीहरूलाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरिएको एसपी  मिश्रले बताएका छन्। 

फैसला कार्यान्वयन अभियान अन्तर्गत गत ३० गते उक्त प्रतिवादीहरूलाई पक्राउ गरी दण्ड सजाय असुलको लागि बुधवार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ।

उनीहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय असुलको लागी अदालतमा उपस्थित गराइएको छ।

एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु पर्सा प्रहरीको लागी गर्बको अनुभूति गरिरहेको एसपी मिश्रले न्युजकारखानालाई बताए ।

एसपी मिश्रको निर्देशनमा प्रहरीले तस्करी, लागुऔषध कारोवार, नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 

धनकुटामा नवनिर्मित प्रहरी भवनको प्रहरी महानिरीक्षक थापाद्वारा उद्घाटन

धनकुटा, १ जेठ ।  प्रहरी महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । 

साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र, प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गरे ।

साथै उनले श्रीपञ्चमी पार्क बालकेन्द्र धनकुटाको आश्रयमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरे । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनहरूले जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा मनोबल वृद्धि हुनुका साथै काम प्रति थप उत्प्रेरित हुने विश्वास व्यक्त गरे । 

नेपाल प्रहरी सबैको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै शिष्ट र सभ्य बोली, वचन एवम् व्यवहारका साथ नागरिकमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए । 

प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् वस्तुनिष्ठ अपराध अनुसन्धान एवम् नियन्त्रणमा प्रहरीले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको चर्चा गर्दै समाजमा देखिएका विकृति एवम् विसङ्गति न्यूनीकरणमा नागरिकसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

आत्महत्या, लागूऔषध दुर्व्यसन तथा सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउँदै घरेलु हिंसा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराधमा थप सचेत हुनुपर्ने एवम् विपद् व्यवस्थापनमा समेत सक्रिय भई कार्य गर्नुपर्ने उनले बताए ।   

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रूपैयाँ ८५ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

नेपाल ६ बिकेटले बिजयी, बहराइन समुह चरणवाटै बाहिरियो

काठमाडौं, १ जेठ । नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ ।

आइसिसी महिला ट्वान्टी(२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको हो ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो ।  उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाएका थिए भने बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिएकी थिइन ।
 

त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । 

समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर–३ को सभ्भावनालाई जिवितै राखेको छ । पराजित बहराइन भने समूह चरणबाटै बाहिरिएको छ । जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित बहराइन एक अंकका साथ पुछारमा थन्किएर बाहिरिएको हो ।

अब नेपालले सुपर–३ मा पुग्नका लागि शुक्रबार हुने हङकङ र बहराइनबीचको खेल कुर्नुपर्नेछ । यो खेलमा बहराइन विजयी भएमा नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ ।

साढे २२ लाख रुपैयाँको लागतमा योग भवन निर्माण हुँदै

रौतहट, १ जेठ।  रौतहट जिल्लाको उत्तरीभेग गुजरा नगरपालिका–१ मनहर्वा गाउँमा साढे २२ लाख रुपैयाँको लागतमा योग भवन निर्माण सुरु भएको छ।

पूर्व मन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशबाट विनियोजित उक्त बजेटबाट आरोग्य तथा योग भवन (सार्वजनिक) भवन सुरु भएको हो।

बुधवार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि पूर्व मन्त्री चौधरीले विधिवत रूपमा शिलान्यास गरेसंगै भवनको निर्माण सुरु भएको हो।

यसै आर्थिक वर्षभित्र भवनको निर्माण सम्पन्न गरिने योजना रहेको पूर्व मन्त्री चौधरीले न्युज कारखानालाई बताए । शिलान्यास कार्यक्रममा वडाका सम्पुर्ण  नेता कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
 

जेलन्सकी टर्की पुग्दा पुटिन भने मस्कोमा नै

काठमाडौं, १ जेठ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका भोलोडिमिर जेलेन्स्कीले भाग लिनको लागि आह्वान गरे पनि बिहीबार इस्तानबुलमा युक्रेनमा युद्ध सम्बन्धी शान्ति वार्तामा उपस्थित नहुने भएको छ ।

पुटिन नजाने भए पछि रुसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने भएका छन ।

क्रेमलिनको विज्ञप्ति अनुसार अब मेडिन्सिकीले रूसको तर्फवाट जेलेन्सकीसँग टर्कीमा बार्तामा गर्नेछन ।

जेलेन्स्कीले पहिले नै भनेका थिए कि उनी वार्तामा उपस्थित हुनेछन् । रुसी राष्ट्रपतिले राजी भएमा पुटिनलाई व्यक्तिगत रूपमा भेट्नेछन्, र उनले आमने सामने बैठक सुनिश्चित गर्न आफूले सक्दो प्रयास गर्ने बताएका थिए।

जेलेन्स्कीले राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भेट्न बिहीबार टर्कीको राजधानी अंकारामा हुनेछन् तर  रुससँग इस्तानबुलमा हुने प्रत्यक्ष वार्तामा भाग लिने बताए पनि उनी पुटिन सहभागी भएमा मात्रै बार्तामा उपस्थित हुनेछन् ।

‘म रुसबाट को आउँछन् भनेर हेर्न पर्खिरहेको छु र त्यसपछि म युक्रेनले कुन कदम चाल्ने निर्णय गर्नेछु। अहिलेसम्म मिडियामा उनीहरूबाट आएका संकेतहरू अविश्वासी छन्,’ उनले बुधबार आफ्नो रात्रि भिडियो सम्बोधनमा भनेका छन ।

पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि व्यक्तिगत रूपमा अहिले भेटेका छैनन्। रूस र युक्रेनले पछिल्लो पटक मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता भएको थियो ।

त्यसयता युक्रेनमा युद्ध चर्किएको छ । रुसी सेनाले बिस्तारै युक्रेनको पूर्वी भागमा गत वर्ष आफ्नो नियन्त्रणमा रहेको क्षेत्र विस्तार गरेको छ।
 

राजश्व परामर्श समितिद्दारा अर्थमन्त्री समक्ष प्रतिबेदन पेश

काठमाडौं, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ । 

त्यसैगरी डिजिटल कारोबारलाई ध्यानमा राख्दै विद्युतीय सेवा करको दायरा बढाउन, अन्तर्राष्ट्रिय सेवाप्रदायकहरूबाट प्राप्त तथ्याङ्कको व्यवस्थापन गर्न, घर–जग्गा कारोबारजस्ता क्रियाकलापहरूलाई व्यावसायिक रुपमा वर्गीकृत गरी करयोग्य बनाउन सुझाव पनि दिएको छ ।

 
पूँजीगत लाभकरको अभिलेखलाई प्रविधिमैत्री र पारदर्शी बनाउन, करदातासम्बन्धी तथ्यांक तथा आर्थिक विवरणहरूको अन्तर-आबद्धता कायम गर्ने प्रणाली विकास गर्नुपर्ने समितिको राय छ । 
त्यस्तै भन्सार प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै कर संकलनको सुदृढीकरणसँगै व्यापार सहजीकरणलाई सुनिश्चित गर्न सिफारिस गरिएको छ ।

भन्सार दरहरूको पुनरावलोकन गरी आन्तरिक उत्पादनलाई संरक्षण गर्ने नीतिगत समायोजन गर्नुपर्ने, मूल्याङ्कन प्रणालीमा विश्वव्यापी मान्यता प्राप्त मापदण्ड अपनाउनुपर्ने, भन्सार प्रक्रियालाई अझ सरल, पारदर्शी र सूचना प्रविधिमैत्री बनाउँदै डिजिटल प्रणालीहरू प्रयोगमा ल्याउनुपर्ने सुझाव दिइएको छ । 

समितिले सरकारको आयको विविधिकरण गर्न गैरकर स्रोतहरूको पहिचान, दर पुनरावलोकन तथा संस्थागत संरचना सुदृढ गर्नुपर्ने सुझाव दिएको छ । समितिले यी स्रोतहरूलाई अधिक प्रभावकारी रूपमा परिचालन गर्न दरहरू यथार्थपरक बनाउनुपर्ने, संग्रह प्रणाली पारदर्शी र डिजिटल बनाउनु पर्ने र राजस्व संकलनको उत्तरदायित्व स्पष्ट गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व अधिकार बाँडफाँड गर्दा देखिएको दोहोरोपन हटाउन स्पष्ट नीति र कानुनी आधार तयार गर्नुपर्ने उल्लेख छ ।

गैरकर स्रोतको प्रक्षेपण, लक्ष्य निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने संयन्त्र स्थापित गर्नुपर्ने र बजेटमा यथोचित प्रतिबिम्ब हुने गरी कार्यविधिहरू बनाउन पनि सुझाव दिइएको छ । 
अर्थमन्त्री पौडेलले समितिले दिएका सुझावहरु आगामी बजेट निर्माणका लागि महत्वपूर्ण हुने  बताए ।

प्रधानमन्त्रीसँग चिनियाँ जनकांग्रेसका बिचमा शिष्टचार भेटबार्ता

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए।

उनले  नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्ररुपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताए।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे ।

उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिए।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।