कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
बागलुङ
फागुन १५ गते,
नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।
चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्त्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १० गतेदेखि १४ गतेसम्म आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए।
धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा चिनिएको बागलुङ कालिका भगवती मन्दिर परिसरमा कालिका मन्दिर स्थापनापछि मेला लाग्दै आएको छ । कालिका मन्दिर स्थापनाको डेढ/दुई सय वर्षपछि मेला आयोजना गरिँदै आएको छ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैते दसैँ मेलालाई परम्पराको निरन्तरता दिन गरिँदै आएको अध्यक्ष खड्काले जानकारी दिए ।
चैतेदसैँ मेलामा कालिका मन्दिर परिसरमा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिद बिक्रीका लागि स्टलहरू राखिनेछ भने लोक दोहोरी गीत, भलिबललगायत विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ ।
