सशस्त्र प्रहरी मुख्यालयको आगलागी घटनाबारे छानबिन गर्न डिआइजी थापाको संयोजकत्वमा समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्यालयस्थित सवारी व्यवस्थापन शाखामा भएको आगलागी घटनाको कारण र क्षतिबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) सन्दीप थापाको संयोजकत्वमा समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डिआइजी विष्णुप्रसाद भट्टले घटनाको वस्तुगत अध्ययन र तथ्य संकलनका लागि समिति बनाइएको जानकारी दिएका छन्।

समितिलाई प्रतिवेदन बुझाउने निश्चित समयसीमा भने तोकिएको छैन। यद्यपि, यथाशीघ्र अनुसन्धान प्रक्रिया पूरा गरी निष्कर्षसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बताइएको छ।

बुधबार साँझ करिब ८ बजे सशस्त्र प्रहरी मुख्यालयभित्र रहेको मोटर यातायात (एमटी) शाखामा आगलागी भएको थियो। घटनाबाट केही सवारी साधनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागी नियन्त्रणका लागि बंगलामुखी गणबाट खटिएको टोलीले तत्काल उद्धार तथा नियन्त्रणको काम गरेको थियो। आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन तथा घटनाको कारणबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।