२०८३ जेष्ठ १७, आइतवार

मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा अवरोध नहुने

काठमाडौँ 

फागुन १४ गते,

आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका दिन देशभित्र र अन्तर्राष्ट्रिय दुवै प्रकारका हवाई सेवा नियमित रूपमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ।निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान व्यवस्थापनसँग सम्बन्धित सहजीकरणको विषयमा विभिन्न निर्णय गर्दै यससम्बन्धी व्यवस्था मिलाउन गृह मन्त्रालय लाई पत्राचार गरेको जनाएको छ। आयोगको निर्णयअनुसार मतदानको दिन पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पूर्ववत सञ्चालन हुनेछन्।

यससँगै उडान टिकट भएका यात्रुलाई विमानस्थल र उनीहरूको बसोबास स्थल (घर वा होटेल) बीच आवतजावत गर्न निजी सवारी वा सम्बन्धित वायुसेवा कम्पनीले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत मन्त्रालयलाई अनुरोध गरिएको छ।

यसअघि भएका निर्वाचनहरूमा आन्तरिक हवाई सेवा अवरुद्ध गर्ने अभ्यास रहेको थियो। सोही पृष्ठभूमिमा नेपाल पर्यटन बोर्ड ले यात्रु व्यवस्थापनसम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो। नयाँ निर्णयसँगै सेवा निरन्तरता कायम राख्ने उद्देश्यले व्यवस्थापन सहजीकरण गरिने आयोगले जनाएको छ।

महाराजगञ्जस्थित भाटभटेनी पुनर्निर्माणपछि पुनः सञ्चालनमा

काठमाडौँ 

फागुन १४ गते,

आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेको भाटभटेनी सुपरमार्केट महाराजगञ्ज करिब छ महिनाको मर्मत तथा पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ। सुपरमार्केटको पुनः उद्घाटन अवसरमा संस्थाका अध्यक्ष मीनबहादुर गुरुङ लगायतको उपस्थितिमा धार्मिक अनुष्ठान सम्पन्न गरी सर्वसाधारणका लागि सेवा पुनः सुरु गरिएको जनाइएको छ। आन्दोलनको घटनाबाट भवन संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पुनर्निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइएको थियो।

उक्त आन्दोलनको प्रभाव देशभर रहेका १२ वटा स्टोरमा परेको थियो। तोडफोड तथा आगजनीका कारण ठूलो आर्थिक क्षति पुगेको र भवनभित्र रहेका सामग्री नष्ट भएको कम्पनी स्रोतले जनाएको छ। घटनाका क्रममा केही व्यक्तिहरू जलेको अवस्थासमेत भेटिएको उल्लेख गरिएको छ।

यसअघि नै भाटभटेनी सुपरमार्केट कोटेश्वर पनि पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। पुनः सञ्चालनमा ल्याइएका संरचनाहरूमा क्षतिका दृश्य र राष्ट्रिय प्रतीकात्मक भवनहरूको तस्बिर समेटिएको सन्देशमूलक प्रस्तुति राखिएको छ, जसमा सिंहदरवार, सर्वोच्च अदालत र संघीय संसद भवन का दृश्यहरू समावेश छन्।

घटनापछि भवन लामो समय सञ्चालनमा आउन नसक्ने अनुमान गरिए पनि पुनर्निर्माण सम्पन्न गरी सेवा पुनः सुरु गरिएको कम्पनीले जनाएको छ। व्यावसायिक पूर्वाधार पुनर्स्थापनाले निजी क्षेत्रको पुनरुत्थान सम्भावना र सेवा निरन्तरताप्रति सकारात्मक सन्देश दिएको सरोकारवालाहरूको धारणा छ।

रास्वपा नेता राईले गरे पार्टी परित्याग गरेको घोषणा

काठमाडौँ 

फागुन १४ गते,

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी सदस्यता परित्याग गरेको सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिक गतिविधिमा अब संलग्न नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका हुन्। उनले आफ्नो अभिव्यक्तिमा राजनीति इमानदारीपूर्वक गर्ने क्षेत्र नरहेको अनुभूति भएको जनाउँदै अब पार्टी र राजनीतिक गतिविधिका लागि समय तथा स्रोत खर्च नगर्ने बताए। स्वतन्त्र नागरिकका रूपमा सामाजिक सेवामा संलग्न हुने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यसअघि पनि उनले दलहरूमा नेतृत्व चयन र उम्मेदवारी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै टिप्पणी गरेका थिए। वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट उम्मेदवारी दिएका राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए। सो निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मनबहादुर गुरुङ विजयी भएका थिए भने नेपाली काँग्रेस का किशोरदत्त बराल दोस्रो स्थानमा रहेका थिए। राई तेस्रो स्थानमा सीमित भएका थिए।

हालको निर्वाचन सन्दर्भमा उम्मेदवारी वितरण प्रक्रियामा असन्तुष्टि देखिएको पृष्ठभूमिमा उनले पार्टी छाड्ने निर्णय सार्वजनिक गरेको बताइएको छ। कास्की-१ का लागि पार्टीले यसपटक खडकराज पौडेल लाई उम्मेदवार बनाएको छ। उम्मेदवारी चयनपछि राई नेतृत्वप्रति असन्तुष्ट रहँदै आएको स्रोतले जनाएको छ।

पछिल्लो समय उम्मेदवारी वितरणमा आर्थिक प्रभावको आरोप लगाउँदै विभिन्न तहका केही नेताहरूले पार्टी परित्याग गरेको अवस्थासमेत देखिएको छ।

काँग्रेसको आज सुर्खेत र बाँकेमा चुनावी सभा, गगनले सम्बोधन गर्ने

काठमाडौँ 

फागुन १४ गते,

नेपाली काँग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो । वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा आयोजना गरिएको चुनावी सभालाई सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो साढे १२ बजेपछि चुनावी सभा हुन गइरहेको काँग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले जानकारी दिएका छन् । सुर्खेतको चुनावी सभा पछि आजै बाँके(३ मा पर्ने जानकी गाउँपालिका–३ मानपुरमा पनि काँग्रेसको चुनावी सभा हुँदैछ ।

त्यसतै काँग्रेसले शुक्रबार रूपन्देहीको बुटवलमा पनि चुनावी सभा गर्ने तयारी गरेको छ ।

शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौँ 

फागुन १४ गते,

नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । देउवा बुधबार राति ११:३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।

देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष)बाट प्रस्थान गरेका हुन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।

जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आज प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइँदै

काठमाडौँ 

फागुन १४ गते,

नेपाल जेनजेड फ्रन्टले जेनजेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुन: सडकमा उत्रिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् । फ्रन्टले विज्ञप्ति जारी गर्दै गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ गतेपछि एक दिन पनि म्याद नथपी सार्वजनिक गर्न र कार्यान्वयनमा ल्याउन माग गरेको हो । फ्रन्टले यसले न्याय सुनिश्चितता हुने र जेनजेड जनआन्दोलनलाई न्याय हुने जनाएको छ ।

फ्रन्टले भनेको छ, ‘देश अराजकताको डिलमा पुगेको सङ्क्रमणकालीन अवस्थालाई न्यायोचित ढंगले सम्हाल्न, शान्ति, सुव्यवस्था तथा सुरक्षा कायम गर्न, जेनजेडले उठाएका माग सम्बोधन गर्न र भदौ २३ र २४ का घटनामा न्याय सुनिश्चित गर्न हामीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्‍लाई राज्यको बागडोर सुम्पिने सामुहिक निर्णय गरेका थियौँ ।

सोही सन्दर्भमा फ्रन्टले भदौ २३ र २४ गते भएको विध्वंशको छानबिन गर्न बनेको आयोगको म्याद नथप्न र प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । फ्रन्टले आज प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण बुझाउने भएको छ ।

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ 

फागुन १४ गते,

निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा आवश्यक सहयोगका आग्रह गरिएको जानकारी उनले दिए । साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएकोसमेत आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भएबमोजिम नेपाल सरकारबाट निर्णय समेत भइसकेको छ ।

आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ 

फागुन १४ गते,

चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय छ । यही फागुन २१ गते बिहान सात बजेदेखि मतदान सुरु हुनेछ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजना अन्तर्गत मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सुरक्षा वस्तुस्थितिको आँकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक अन्य निर्णय समेत उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट भएर कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

साथै जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय)ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने भनिएको छ ।

मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालनमा रोक लाग्नेछ । यो निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।

इजरायलमा मोदी : रणनीतिक साझेदारीको नयाँ चरण

काठमाडौँ 

फागुन १३ गते,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुगेका छन् ।  मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबीच उनको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ ।

प्रस्थानअघि जारी वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत र इजरायलबीच ‘बलियो र बहुआयामिक रणनीतिक साझेदारी’ रहेको उल्लेख गरे । उनले समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने र इजरायलको संसद् नेसेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । “विगत केही वर्षमा हाम्रो सम्बन्ध उल्लेखनीय रूपमा सुदृढ भएको छ”, उनले भने।

सन् १९९२ मा पूर्ण कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सहकार्य क्रमशः विस्तार हुँदै आएको छ । सन् २०१४ मा मोदी पदमा आएपछि सम्बन्ध अझ घनिष्ठ बनेको विश्लेषण गरिन्छ । उनले सन् २०१७ मा प्रधानमन्त्रीका रूपमा इजरायल भ्रमण गरेका थिए भने त्यसपछि नेतान्याहुले भारतको भ्रमण गरेका थिए । दुवै नेताले सार्वजनिक रूपमा एकअर्कालाई ‘मित्र’ को संज्ञा दिँदै आएका छन् । ।

नयाँदिल्लीले रक्षा, कृषि, प्रविधि र साइबर सुरक्षाजस्ता क्षेत्रमा इजरायलसँग सहकार्य बढाउँदै आएको छ । सोमबारदेखि भारत–इजरायल स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता नयाँदिल्लीमा सुरु भएको छ । भारत सरकारका अनुसार सन् २०२४–२०२५ मा दुई देशबीचको कुल व्यापार तीन अर्ब ६२ करोड अमेरिकी डलर पुगेको छ ।

प्रधानमन्त्री मोदीले नेतान्याहुसँग सहकार्यलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्ने र इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । सेप्टेम्बर २०२३ मा भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरको महत्त्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो । यसमा रेलवे, बन्दरगाह, ऊर्जा र डाटा सञ्जाल विकासका परियोजना समावेश थिए । तर अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र त्यसपछिको गाजा युद्धले ती योजनामा अवरोध पुर्‍याएको थियो ।

भ्रमणअघि भारतभित्र पनि राजनीतिक प्रतिक्रिया देखिएको छ । काँग्रेस नेतृ प्रियंका गान्धीले प्रधानमन्त्री मोदीले नेसेटलाई सम्बोधन गर्दा ‘गाजामा हजारौँ निर्दोष नागरिकको हत्या’ बारे पनि उल्लेख गर्नुपर्ने अपेक्षा व्यक्त गरेकी थिइन् । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । भारतमा करिब २२ करोड भारतीय मुस्लिम समुदायका रहेका छन् ।

भारतले इजरायलसँग सम्बन्ध विस्तार गर्दै गर्दा खाडी राष्ट्रहरू र इरानसँग पनि सन्तुलित सम्बन्ध कायम राखेको छ । अडानी समूहले हाइफाको बन्दरगाह सञ्चालन गरिरहेको छ भने इजरायली ड्रोन प्रविधिले मे २०२५ मा पाकिस्तानसँगको भिडन्तमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । साथै भारतले इरानको चाबहार बन्दरगाह विकासमा पनि संलग्नता जनाउँदै अफगानिस्तानसँगको व्यापार पहुँच सुदृढ गर्ने प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री मोदीको यो भ्रमणले रक्षा र व्यापार साझेदारी मात्र नभई, क्षेत्रीय कूटनीतिक सन्तुलनमा भारतको सक्रिय भूमिकालाई पनि पुनः उजागर गरेको छ ।

निर्वाचन अवधिलाई लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो, एकै दिन १३८ बुलेट भित्रियो

काठमाडौँ 

फागुन १३ गते,

आसन्न निर्वाचन अवधिमा आपूर्ति व्यवस्थामा अवरोध नआओस् भन्ने उद्देश्यले नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात परिमाण उल्लेख्य रूपमा वृद्धि गरेको जनाएको छ। निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राखी देशव्यापी वितरण प्रणालीलाई सुदृढ बनाउने कदम चालिएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन मार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास लोड भई मंगलबार नेपालतर्फ पठाइएको जानकारी दिएका छन्। सो दिन विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड भएको र उक्त परिमाण करिब १ लाख ७३ हजार ८०० घरायसी सिलिन्डर बराबर हुने निगमले स्पष्ट पारेको छ।

निगमका तथ्यांक अनुसार भारतका विभिन्न भण्डारण केन्द्रमध्ये बरौनी बाट ३६ बुलेट, मथुरा बाट ३६, पारादीप बाट ४०, दुर्गापुर बाट २४ तथा हल्दिया बाट २ बुलेट ग्यास नेपालका लागि पठाइएको हो।

कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा उपभोक्तालाई ग्यास अभावको समस्या नपरोस् भन्ने लक्ष्यसहित आयात व्यवस्थापन नियमित गरिएको उल्लेख गरे। उनले आपूर्ति प्रणालीलाई सहज राख्न निगम सतर्क रहेको र निर्वाचनको समयमा पनि उपभोक्ताले सामान्य रूपमा ग्यास प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।