२०८३ जेष्ठ १७, आइतवार

एमाले पूर्वसांसद जानकी देवी नेकपामा प्रवेश

सिरहा 

फागुन १३ गते,

नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् । २ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.-३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन् ।

उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्।

उनले विचारभन्दा व्यक्तिको वर्चस्व हाबी हुनु, इमान्दार कार्यकर्ताहरू निरुत्साहित हुनु र संगठनात्मक मूल्य कमजोर बन्दै जानुजस्ता कारणले आफू बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताएकी छन् ।

रोल्पालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने वर्षमान पुनको  प्रतिबद्धता

काठमाडौँ 

फागुन १३ गते,

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ रोल्पालीले शिर झुकाउनुपर्ने काम नगर्ने बताएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल मार्फत भिडियो जारी गरेर मत माग्दै उनले यस्तो बताएका हुन् । रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगरेको र अब पनि नगर्ने उनले बताए । 

पुनले जनप्रतिनिधिका रूपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे चर्चा गर्दै उनले जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, जिल्लाभरका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ शय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिँचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको उल्लेख गरेका छन् ।मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘रोल्पाको सडक सञ्जाल विस्तार गर्नका लागि मदन भण्डारी लोकमार्ग होस् वा शहीद मार्ग निर्माण र कालोपत्रे गर्ने मैले खेलेको भूमिका यहाँहरूलाई थाहा छ ।’ संघीय र स्थानीय सरकारको साझेदारीमा १० वटै पालिकाका प्रशासनिक भवनहरू संघीय र स्थानीय सरकारको साझेदारीमा करिब बनिसकेका छन् ।’

उनले ‘जनयुद्ध र जनआन्दोलन’मा योगदान गर्ने जिल्लाको जनप्रतिनिधिका रूपमा आगामी दिनमा पनि आफूले जिल्लाको इज्जत बढाउने काम गर्ने प्रतिबद्धता गरे । उनले भनेका छन्, ‘रोल्पालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नेछु । राष्ट्र निर्माणमा, राष्ट्रिय स्वाधीनतामा, देशको समृद्धिमा युवाहरूलाई रोजगार/स्वरोजगार बनाउने अभियानमा लाग्नेछु ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर 

फागुन १३ गते,

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने, “२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् ।”

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ ।

सन् २०२२ को गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा आठ गरी ३६ वयस्क बाघ रहेको सार्वजनिक गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफल रहेको भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको संरक्षण अधिकृतहरू बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रति वर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

गैँडाकोटमा मृतावस्थामा युवती फेला

नवलपरासी

फागुन १३ गते,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेलापरेकी छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी हुन् ।

युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

“प्रारम्भिक अनुसन्धानका क्रममा शरीरका टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा निलडाम रहेका छ”, प्रहरी उपरीक्षक खड्काले भने, “घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरिएको छ ।”

मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् । उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

सात निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौँ 

फागुन १३ गते,

सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।

पश्चिमी न्यूनचापीय रेखाको प्रभावः आज हल्का वर्षाको सम्भावना

काठमाडौँ,

फागुन १२ गते,

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।  यी स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन सुरु भएको महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् विभूती पोखरेलले माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण आज देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभएको छ । 

“आज साँझसम्म वर्षाको सम्भावना रहे पनि पश्चिमी न्यूनचापीय रेखा कमजोर हुँदै जाने भएकाले क्रमिक रूपमा सुधार हुने छ,” उहाँले भन्नुभयो । पोखरेलका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना  छ ।

साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।तराईका केही क्षेत्रमा भने बिहीबार बिहानको समयसम्म नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले विशेषगरी सवारी आवागमन र हवाई उडानमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ : प्रचण्ड

काठमाडौँ 

फागुन १२ गते,

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलनपछि उत्पन्न भएको विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता बढेको बताएका छन् ।

एमाले निकट मुक्ति समाज दोलखाका नेताहरू तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै उनले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
अहिले नेपाली कम्युनिस्ट पार्टी बनिसकेपछि ध्रुवीकरणको एउटा नयाँ माहोल बनेको उनले बताए ।

उनले भने, ‘ केही समयभित्र अन्तत: फेरि सबै वामपन्थी कम्युनिस्ट हामी एकै ठाउँमा हुनेछौँ।’ उनले केपी ओलीको गलत सोच र कार्यशैलीका कारण एमालेभित्र विद्रोह गर्नेको संख्या बढेको बताए।

‘एमाले भित्रैकै पनि तपाईँहरू जस्तै साथीहरूले विद्रोह गर्दै फेरि एकताको झन्डा उठाउन सहयोग गर्नेछन्। र हामी एकताबद्ध हुनेछौँ। निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। मैले देशभरिको रेकर्ड मैले त दिनदिनै हेरिराखेको छु। सबै हेर्दा दिनप्रतिदिन हाम्रो प्रगति हुँदै गएको छ। हामी एक नम्बर पार्टी हुने सम्भावना छ। नभए पनि हामी प्रतिस्पर्धी पार्टी हुनेछौँ।’

रास्वपा सभापति रवि लामिछाने झापामा, इटहरीको सभामा दुवै नेताले सम्बोधन गर्ने

झापा

फागुन १२ गते,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार बिहानै झापा आइपुगेका छन्। आसन्न निर्वाचनको प्रचारप्रसारका लागि झापा आइपुगेका लामिछानेले काँकरभिट्टाबाट धुलाबारी र चारआली हुँदै बिर्तामोडमा आएर सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा झापाले जनाएको छ।

बिर्तामोडमा आयोजना गरिने एक संक्षिप्त कार्यक्रममा लामिछानेले स्थानीय मतदाता र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। बिर्तामोडको कार्यक्रमपश्चात् उनले पूर्व-पश्चिम राजमार्गमा ‘रोड शो’ गर्दै दमक पुग्ने कार्यक्रम रहेको रास्वपा झापाले जनाएको छ।

विशेषगरी झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता तथा पूर्व मेयर बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा रहेका र त्यहाँ पनि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

लामिछाने आजै सुनसरी प्रस्थान गर्ने कार्यतालिका रहेको पार्टी स्रोतले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली ५ का उम्मेदवार चौधरी रास्वपा प्रवेश

काठमाडौँ 

फागुन १२ गते,

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु र कैलाली ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार आनन्दबहादुर चन्दले धनगढीस्थित चुनावी सम्पर्क कार्यालयमा चौधरीलाई मंगलबार पार्टी प्रवेश गराएका हुन् ।

उम्मेदवार चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल र रास्वपाको मुद्दा एउटै भएकाले आफू रास्वपामा प्रवेश गरेको बताए । ‘हामी पहिलेदेखिनै एउटै मुद्दामा लक्ष्मणसहित सँगै थियौँ । अहिले हाम्रा मुद्दामा सबै मिलेर जाने भन्ने उद्देश्यले रास्वपामा आएको हुँ’ पार्टी प्रवेशपछि चौधरीले भने ।उम्मेदवार चौधरीले अब आफ्नो उम्मेदवारी निस्क्रिय पारेर रास्वपाका उम्मेदवार चन्दलाई सहयोग गर्ने बताए । रास्वपाका उम्मेदवार चन्दले चौधरीको प्रवेशले रास्वपा यो क्षेत्रमा थप मजबुद बनेको बताए ।

क्षेत्र नम्बर ५ अन्तर्गत कैलारी गाउँपालिका–९, बनकन्द्री घर भएका चौधरी २०७४ सालको चुनावमा प्रदेश सभाको उम्मेदवार बनेका थिए । त्यसबेला राष्ट्रिय जनता पार्टी नेपालबाट क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश सभा २ का उम्मेदवार उनले दुई हजार ८१५ मत प्राप्त गरेका थिए ।
     

वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली 

काठमाडौँ 

फागुन १२ गते,

काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। यससँगै आजबाट रंगहरुको पर्व होलीको उत्सव औपचारिक रूपमा सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडाका टुक्रा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ गते र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ । वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएको अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो । 

होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ।