नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली ५ का उम्मेदवार चौधरी रास्वपा प्रवेश

काठमाडौँ 

फागुन १२ गते,

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु र कैलाली ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार आनन्दबहादुर चन्दले धनगढीस्थित चुनावी सम्पर्क कार्यालयमा चौधरीलाई मंगलबार पार्टी प्रवेश गराएका हुन् ।

उम्मेदवार चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल र रास्वपाको मुद्दा एउटै भएकाले आफू रास्वपामा प्रवेश गरेको बताए । ‘हामी पहिलेदेखिनै एउटै मुद्दामा लक्ष्मणसहित सँगै थियौँ । अहिले हाम्रा मुद्दामा सबै मिलेर जाने भन्ने उद्देश्यले रास्वपामा आएको हुँ’ पार्टी प्रवेशपछि चौधरीले भने ।उम्मेदवार चौधरीले अब आफ्नो उम्मेदवारी निस्क्रिय पारेर रास्वपाका उम्मेदवार चन्दलाई सहयोग गर्ने बताए । रास्वपाका उम्मेदवार चन्दले चौधरीको प्रवेशले रास्वपा यो क्षेत्रमा थप मजबुद बनेको बताए ।

क्षेत्र नम्बर ५ अन्तर्गत कैलारी गाउँपालिका–९, बनकन्द्री घर भएका चौधरी २०७४ सालको चुनावमा प्रदेश सभाको उम्मेदवार बनेका थिए । त्यसबेला राष्ट्रिय जनता पार्टी नेपालबाट क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश सभा २ का उम्मेदवार उनले दुई हजार ८१५ मत प्राप्त गरेका थिए ।