२०८३ जेष्ठ १७, आइतवार

एसइई नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डका अनुसार विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

बोर्ड स्रोतका अनुसार उत्तरपुस्तिका तथा विद्यार्थी विवरण इन्ट्री पूरा भइसकेको छ भने हाल तथ्यांक रुजु गर्ने कार्य भइरहेको छ। प्राविधिक तथा प्रशासनिक प्रक्रियाहरूलाई निरन्तरता दिँदै वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा यसपटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो। परीक्षा सम्पन्न भएपछि तत्कालै केन्द्रमै मूल्याङ्कन प्रक्रिया सुरु गरिएको बोर्डले जनाएको छ।

यस वर्ष परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी भएका थिए।

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । जबर्जस्तीकरणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष दत्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोप छ ।घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो ।

वर्षा हुने बित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपाल थोकमा राखिन्छ । 

गत सालको बाढी पहिरोले राजमार्गको चौकी डाँडा, रोशी तथा सिन्धुलीको नेपाल थोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको  थियो । हाल उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ ।

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रबिन्दु भएर आज ११:१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । 

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा.लोकविजय अधिकारीले बताए। भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ । 

पश्चिम बंगालमा भाजपा नेता सुवेन्दु अधिकारीका पीएको गोली प्रहार गरी हत्या

काठमाडौँ । पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ ।

मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् ।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गर्दै राज्यमा पहिलो पटक सरकार बनाउने तयारीमा छ । त्यही बेला चर्चित नेता अधिकारीका पीएको गोली हानी हत्या भएको हो ।

अधिकारीका पीए चन्द्रनाथ रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानी काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । 

यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने जानकारी दिए । सत्र रोपनी जमिनमा रु. १२ अर्बभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुआतमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने उनले बताए ।

अस्पतालमा क्यान्सरसहित अतिविशिष्टिकृत सेवा हुने छ । प्राडा न्यौपानेले भने, “विश्वका सुविधा सम्पन्न अस्पतालले दिन सक्ने सेवा यही दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दै छौँ । सरकार उपचारका लागि विदेश जानुपर्ने हाम्रो ध्येय रहने छ । ” तीन सय शय्याको यस अस्पतालले प्रमुख रूपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । अनुभवी विशेषज्ञ चिकित्सकहरूले अस्पतालबाट सेवा दिने छन् ।

नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल यो हुने उनले दाबी समेत गर्नुभयो । यस अस्पताल सञ्चालनमा आएसँगै भारतलगायतका देशहरू जाने बिरामीले सोहीअनुरूपको सेवा स्वदेशमा पाउने प्रा. डा. न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सिएमसी हेटौँडा अस्पतालको निर्माण थालिएको छ । हेटौँडा उपमहानगरपालिका–४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो ।

टीकापुरमा बजार अनुगमन तीव्र, गैरकानुनी रूपमा सञ्चालित हेल्थ केयर सेन्टरमा महानगरको ताला

काठमाडौँ । टीकापुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै गैरकानुनी रूपमा सञ्चालन गरिएको हेल्थ केयर सेन्टरमा ताला लगाएको छ। अनुगमनका क्रममा कानुनविपरीत फार्मेसी दर्तामा क्लिनिक सञ्चालन गरिएको, म्याद गुज्रिएका औषधि भेटिएको तथा आवश्यक कागजातसमेत नराखिएको पाइएपछि नगरपालिकाले टीकापुर हेल्थ केयर सेन्टर प्रा.लि.लाई सिल गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार पछिल्लो समय बजार अनुगमनलाई तीव्र बनाइएको छ। सोही अभियानअन्तर्गत प्लास्टिकमुक्त क्षेत्र बनाउने उद्देश्यसहित बजार क्षेत्रबाट प्लास्टिक हटाउने कामसमेत अघि बढाइएको उनले बताए।

नगरपालिकाले मेडिकल तथा क्लिनिकहरूमा गरिएको अनुगमनका क्रममा टीकापुर हेल्थ केयर सेन्टर प्रा.लि.ले फार्मेसी दर्तामा क्लिनिक सञ्चालन गरिरहेको भेटिएको जनाएको छ। साथै झुक्याएर डाक्टरको नाम प्रयोग गरी कानुनविपरीत सेवा सञ्चालन गरिएको प्रारम्भिक अनुगमनबाट देखिएको नगरपालिकाको भनाइ छ।

अनुगमनका क्रममा केही औषधि म्याद सकिएको अवस्थामा भेटिएको तथा दर्ता र नवीकरणसम्बन्धी आवश्यक कागजातसमेत पेश गर्न नसकिएको जनाइएको छ। हिजो अनुगमन गर्न जाँदा सम्बन्धित व्यवसायीले सटर बन्द गरेर सम्पर्कविहीन भएको र आज बिहान पुन: खटिएको टोलीले संस्थालाई सिल गरेको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए।

नगरपालिकाका अनुसार सम्बन्धित व्यवसायीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन। संस्थामा रहेका कर्मचारीले समेत आवश्यक कागजात देखाउन नसकेपछि कानुनअनुसार ताला लगाइएको जनाइएको छ।

टिकापुर नगरपालिकाले पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण, कालोबजारी रोकथाम तथा विकास निर्माणका कामलाई पनि प्राथमिकतासाथ अघि बढाइरहेको जनाएको छ। नगरलाई व्यवस्थित बनाउन स्थानीयवासीको सहभागितासहित प्रमुख प्रशासकीय अधिकृत धितालको नेतृत्वमा बजार व्यवस्थापन र अनुगमनलाई थप प्रभावकारी बनाइएको नगरपालिकाको भनाइ छ।

संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल हुँदै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधिवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३:०० देखि ५:०० बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन: मतगणना कार्य जारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना कार्य जारी रहेको छ । नयाँ नेतृत्वका लागि काठमाडौँमा सम्पन्न मतदान प्रक्रियापश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ ।

निर्वाचनमा देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यवाहक प्रमुख डंगोल पशुपति क्षेत्रका सहयोगापेक्षीको अपेक्षा बुझ्न होल्डिङ् सेन्टरमा

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख २३ गते मंगलबारबाट संयुक्त रूपमा वडा नम्बर ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखिएका छन् । पहिलो दिन ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरूमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेका थिए । 

मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी छन् । 

‘हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ,’ डंगोलले भनिन्, ‘यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।’

उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन् । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले, बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइन् ।