कार्यवाहक प्रमुख डंगोल पशुपति क्षेत्रका सहयोगापेक्षीको अपेक्षा बुझ्न होल्डिङ् सेन्टरमा
काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख २३ गते मंगलबारबाट संयुक्त रूपमा वडा नम्बर ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखिएका छन् । पहिलो दिन ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरूमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेका थिए ।
मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी छन् ।
‘हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ,’ डंगोलले भनिन्, ‘यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।’
उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन् । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले, बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइन् ।
