टीकापुरमा बजार अनुगमन तीव्र, गैरकानुनी रूपमा सञ्चालित हेल्थ केयर सेन्टरमा महानगरको ताला
काठमाडौँ । टीकापुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै गैरकानुनी रूपमा सञ्चालन गरिएको हेल्थ केयर सेन्टरमा ताला लगाएको छ। अनुगमनका क्रममा कानुनविपरीत फार्मेसी दर्तामा क्लिनिक सञ्चालन गरिएको, म्याद गुज्रिएका औषधि भेटिएको तथा आवश्यक कागजातसमेत नराखिएको पाइएपछि नगरपालिकाले टीकापुर हेल्थ केयर सेन्टर प्रा.लि.लाई सिल गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार पछिल्लो समय बजार अनुगमनलाई तीव्र बनाइएको छ। सोही अभियानअन्तर्गत प्लास्टिकमुक्त क्षेत्र बनाउने उद्देश्यसहित बजार क्षेत्रबाट प्लास्टिक हटाउने कामसमेत अघि बढाइएको उनले बताए।
नगरपालिकाले मेडिकल तथा क्लिनिकहरूमा गरिएको अनुगमनका क्रममा टीकापुर हेल्थ केयर सेन्टर प्रा.लि.ले फार्मेसी दर्तामा क्लिनिक सञ्चालन गरिरहेको भेटिएको जनाएको छ। साथै झुक्याएर डाक्टरको नाम प्रयोग गरी कानुनविपरीत सेवा सञ्चालन गरिएको प्रारम्भिक अनुगमनबाट देखिएको नगरपालिकाको भनाइ छ।
अनुगमनका क्रममा केही औषधि म्याद सकिएको अवस्थामा भेटिएको तथा दर्ता र नवीकरणसम्बन्धी आवश्यक कागजातसमेत पेश गर्न नसकिएको जनाइएको छ। हिजो अनुगमन गर्न जाँदा सम्बन्धित व्यवसायीले सटर बन्द गरेर सम्पर्कविहीन भएको र आज बिहान पुन: खटिएको टोलीले संस्थालाई सिल गरेको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए।
नगरपालिकाका अनुसार सम्बन्धित व्यवसायीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन। संस्थामा रहेका कर्मचारीले समेत आवश्यक कागजात देखाउन नसकेपछि कानुनअनुसार ताला लगाइएको जनाइएको छ।
टिकापुर नगरपालिकाले पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण, कालोबजारी रोकथाम तथा विकास निर्माणका कामलाई पनि प्राथमिकतासाथ अघि बढाइरहेको जनाएको छ। नगरलाई व्यवस्थित बनाउन स्थानीयवासीको सहभागितासहित प्रमुख प्रशासकीय अधिकृत धितालको नेतृत्वमा बजार व्यवस्थापन र अनुगमनलाई थप प्रभावकारी बनाइएको नगरपालिकाको भनाइ छ।
