कक्षा १२ परीक्षा व्यवस्थापनमा लापरवाही भएको भन्दै नेविसंघद्वारा बोर्डको ध्यानाकर्षण

काठमाडौँ । कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा देखिएको व्यवस्थापकीय कमजोरी र अनियमितताप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ। संघले बुधबार बोर्डलाई औपचारिक ध्यानाकर्षण पत्र बुझाएको हो।

नेविसंघका अनुसार चितवनस्थित इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा समयमै सञ्चालन हुन नसक्नुका साथै उत्तरपुस्तिका समयअगावै संकलन गरिएको घटना गम्भीर प्रकृतिको हो। प्रश्नपत्र वितरणमा ढिलाइ हुँदा परीक्षा सुरु हुन केही मिनेट विलम्ब भए पनि निर्धारित समय पूरा नहुँदै उत्तरपुस्तिका उठाइएको आरोप संघले लगाएको छ।

संघका अनुसार परीक्षा बिहान ८:३१ बजे सुरु भए पनि ११–१३ बजे नै उत्तरपुस्तिका संकलन गरिएको हुँदा विद्यार्थीले पूर्ण समय उपयोग गर्न नपाएको अवस्था सिर्जना भएको छ। यस्तै, यस्ता समस्या भैरहवा, काठमाडौँको बालकुमारी कन्या कलेज तथा नुवाकोटलगायतका अन्य केन्द्रहरूमा पनि देखिएको नेविसंघले जनाएको छ।

नेविसंघले घटनामा संलग्न वा जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न, प्रभावित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न तथा परीक्षा व्यवस्थापन प्रणालीमा सुधार गर्न बोर्डसँग माग गरेको छ। साथै, अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएको छ।

विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने परीक्षा प्रक्रियामा लापरवाही स्वीकार्य नहुने चेतावनी दिँदै नेविसंघले माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा जाने संकेतसमेत गरेको छ।