२०८३ जेष्ठ १७, आइतवार

पशुपतिनाथ मन्दिरका लागि भारतीय गृहमन्त्रीद्वारा ४० किलो चन्दन सहयोग

काठमाडौँ । भारतका गृह तथा सहकारिता मन्त्री अमित शाहले काठमाडौँस्थित पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन सामग्री पठाएका छन्।

पुष्य नक्षत्रको अवसर पारेर पठाइएको उक्त चन्दन नेपालका काँग्रेस सांसद सन्दीप राना मार्फत हस्तान्तरण गरिएको हो। उक्त सामग्रीलाई पशुपतिनाथ क्षेत्र विकास कोष अन्तर्गतको कार्यालयमा औपचारिक रूपमा बुझाइएको छ।

मन्दिरको नित्य पूजा-आराधनामा प्रयोग गर्ने उद्देश्यसहित चन्दन हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा मुख्य पुजारी गणेश भट्ट को उपस्थिति रहेको जनाइएको छ।

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । 

नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन  गर्दै  उपकुलपति प्रा डा सुशील बज्राचार्यले सो जानकारी दिएका हुन् ।

कक्षामा हुने पठनपाठनलाई एकोहोरो पढाउने शैलीबाट मुक्त गरी अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको उनले बताए। 

“पछि क्रमशः सबै कक्षाहरूलाई स्मार्ट प्रविधि प्रयोग गर्दै स्मार्ट कक्षामा परिणत गर्दै लगिने छ”, उनले भने  । यसले पठनपाठन र समग्र शैक्षिक नतिजाकै सुधारमा ठूलो मद्दत हुने उनको भनाइ छ । इन्जिनियरिङ अध्ययन संस्थानमा लामो समय प्राध्यापन गरेका उपकुलपति बज्राचार्यले त्यहाँ स्मार्ट प्रविधिको प्रयोग निकैअघि देखि भएको जानकारी दिँदै त्यसको अनुभवका आधारमा सबै क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्न खोजिएको बताए ।  

यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान, बाढी-पहिरोको जोखिम भने यथावत

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो क्षेत्रमा वर्षाको मात्रा औसतभन्दा कम हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, वर्षा कम भए पनि आकस्मिक रूपमा भारी वर्षा हुने अवस्थाका कारण बाढी तथा पहिरोको जोखिम भने कायमै रहने विभागको मूल्यांकन छ।

विभागका अनुसार लामो समयसम्म खडेरी पर्ने र त्यसपछि एक्कासि वर्षा हुँदा विपद् जोखिम थप बढ्न सक्ने देखिएको हो। यसले पहाडी तथा नदी तटीय क्षेत्रमा बाढी-पहिरोको सम्भावनालाई निरन्तर चुनौतीपूर्ण बनाइराख्ने विभागको विश्लेषण छ।

विभागकी प्रवक्ता तथा मौसमविद् विभूति पोखरेलले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम भने औसतभन्दा बढी रहने पूर्वानुमान गरिएको जानकारी दिएकी छन्। उनले मौसम पूर्वानुमान प्रणालीलाई प्रविधिगत रूपमा सुधार गरिएको कारण यसको प्रभावकारिता क्रमशः बढ्दै गएको पनि उल्लेख गरिन्।

विभागको प्रक्षेपण अनुसार कर्णाली प्रदेशको दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका पूर्वी क्षेत्र तथा कोशी प्रदेशका दक्षिणी भूभागमा वर्षा सामान्यभन्दा कम हुने सम्भावना बढी रहेको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको उत्तर-पूर्वी भाग, कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र तथा कोशी प्रदेशका पूर्वी र दक्षिणी भागमा अधिकतम तापक्रम सामान्यभन्दा उच्च हुने सम्भावना रहेको पनि विभागले जनाएको छ।

प्रधानमन्त्रीले संसद् बेवास्ता गरेको भन्दै एमालेको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्‌प्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यक्रमका बीच प्रधानमन्त्री स्वयं उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले असन्तुष्टि जनाएका हुन्।

सोही क्रममा एमाले सांसद ऐनबहादुर महरले संविधानले तोकेको संसद्प्रतिको उत्तरदायित्व प्रधानमन्त्रीले पालना नगरेको टिप्पणी गरे। उनका अनुसार सदनलाई छल्ने, बेवास्ता गर्ने र नागरिकको अभिव्यक्तिलाई अवमूल्यन गर्ने प्रवृत्ति देखिएको छ।

महरले संविधानको धारा ७६ को उपधाराले सरकारलाई संसद्प्रति उत्तरदायी रहनुपर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको पालना नभएको दाबी गरे। उनले प्रतिनिधि सभा नियमावलीका प्रावधानहरू समेत बेवास्ता गरिएको आरोप लगाए।

उनका अनुसार यस्तो अभ्यासले कार्यकारी भूमिकालाई बढी स्वेच्छाचारी दिशातर्फ लैजान सक्ने जोखिम रहेको छ।

काभ्रेको नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नम्बर-२ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौँमा परीक्षणका लागि पठाइएको थियो । ‘प्रयोगशालाबाट आएको परीक्षण नतिजाअनुसार ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको छ,’ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले भने

नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।

सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गरे । बेइजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको बताइएको छ । लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन् ।

बेइजिङमा रहँदा पुटिनले रुस र चीनबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारले जनाएको छ ।

पोखराको अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

गण्डकी । पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरूप सबै टहरा हटाइएको पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । उक्त स्थानमा विसं २०३८ देखि टहरा बनाएर बस्न थालिएको थियो ।

अमरसिंह माविको नाममा रहेको यहाँको जग्गा विद्यालयले नै भाडामा लगाएपछि व्यवसायीले भाडामा लिएर टहरा निर्माण गरी विभिन्न व्यवसायहरू गर्दै आएका थिए । व्यावसायिक टहरा व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुखसहित अमरसिंह माविका प्रधानाध्यापक, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी तथा सञ्चारकर्मी सबैको साथ र सहयोग रहेको उनको भनाइ छ ।

खाली गराइएको स्थानको आगामी दिनमा कसरी उपयोग गर्ने सम्बन्धमा विद्यालयका प्रधानाध्यापक, पूर्व व्यवस्थापन समितिका अध्यक्ष, पोखरा महानगरपालिका शिक्षा महाशाखालगायत सम्बद्ध सबैलाई राखेर छलफल गरी निष्कर्षमा पुग्ने योजना रहेको उनले बताए ।

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

संसद्को मर्यादा विपरीत सदनमा प्ले कार्ड देखाएर विरोध गरेपछि आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए ।

‘सदन र जनताप्रति सरकार जबाफदेही हुनुपर्छ’- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उस्तो बताएका हुन् । उनले आफूहरूले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरू सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे ।

उनले भने ,‘नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने ,उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । हाम्रो जोडदार माग छ । यो सदन र जनताप्रति सरकार जबाफदेही हुँनैपर्छ ।

जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ? प्रश्नको उत्तर दिने उहाँहरूको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’

तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा धर्ना

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्।

कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले बुधवार गम्भीर आपत्ति जनाएका छन्।

सहमति विपरीत गरिएको यस कदमको कडा विरोध गर्न र आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले विस्थापित बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषको कार्यालय (गौशला)को मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका हुन् ।