२०८३ जेष्ठ १७, आइतवार

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार काठमाडौँमा मात्रै तीन ठाउँमा रामघाट, चन्द्रागिरि र तीनचुलीमा आगालागीका घटना भएको छ । तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा एक जना घाइते भएका छन् ।

यसैगरी, दाङको गिठेपानीमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी हुँदा एक जना घाइते भएका छन् । अछामको मंगलसेनस्थित घर नजिकै खेतमा बालिएको आगोमा पर्न गरी एक दुई वर्षीय बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ ।

चौबिस घण्टामा १८ विपद्, तीनको मृत्यु
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगलागीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो । यसैगरी, विभिन्न जिल्लामा विपद्जन्य घटनामा परेर पाँच जना घाइते भएका छन् ।

बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजी प्रक्रियामा प्राधिकरण

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय दायित्व पूरा नगर्ने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणले लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता रकम नतिर्ने कम्पनीहरूलाई अनुमति पत्र खारेज गर्नुअघि १५ दिनभित्र सफाइ पेश गर्न सूचना जारी गरेको हो ।

प्राधिकरणका अनुसार पटक-पटक पत्राचार, इमेल तथा सार्वजनिक सूचना जारी गर्दा समेत सम्बन्धित कम्पनीहरूले अटेर गरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमति पत्र किन खारेज नगर्ने भनेर स्पष्टीकरण माग गरिएको हो ।

ऐनको दफा २८ को उपदफा (४) अनुसार चित्त बुझ्दो सफाइ पेश नभए अनुमति पत्र खारेजी प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

अमिषा पराजुलीको अभिव्यक्तिबारे साइबर ब्युरोसँग आमाले मागिन् माफी

काठमाडौँ । जेन जेड राजनीतिकर्मी अमिषा पराजुलीले प्रहरीमाथि लगाएको अभिव्यक्तिसम्बन्धी विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले स्पष्टीकरण प्रक्रिया अघि बढाउँदै उनको परिवारसँग छलफल गरेको जनाएको छ।

ब्युरोका अनुसार पराजुलीले सार्वजनिक कार्यक्रममा आफूले उजुरी दिन जाँदा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै दिएको अभिव्यक्तिपछि विषयले औपचारिक ध्यानाकर्षण गराएको थियो। सोही क्रममा ब्युरोले उनको आमालाई कार्यालयमा बोलाएर घटनाबारे बुझ्ने काम गरेको बताइएको छ।

ब्युरोद्वारा जारी विवरणअनुसार आमासँगको बुझाइमा सम्बन्धित आरोपलाई पुष्टि हुने गरी प्रहरी कर्मचारीबाट आपत्तिजनक शब्द प्रयोग नभएको भनाइ आएको उल्लेख छ।

यसै क्रममा छोरीको अभिव्यक्तिका कारण संस्थागत छविमा परेको असरप्रति क्षमा माग्दै आमाले लिखित रूपमा माफी व्यक्त गरेको पनि ब्युरोले जनाएको छ।

प्रधान न्यायाधीश शर्माद्वारा पदभार ग्रहण, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप स्वीकार्य नहुने प्रतिबद्धता

काठमाडौँ । सर्वोच्च अदालतमा पदभार ग्रहण गरेपछि प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले न्यायिक स्वतन्त्रता र निष्पक्षतामाथि कुनै पनि प्रकारको बाह्य वा आन्तरिक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

मंगलबार सर्वोच्च अदालतमा पद सम्हाले लगत्तै उनले दिएको संक्षिप्त सम्बोधनमा न्याय सम्पादन प्रक्रियाको गरिमा, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा संस्थागत स्वतन्त्रता सुरक्षित राख्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताएका हुन्।

उनका अनुसार न्यायपालिका संविधानको संरक्षक निकायका रूपमा मौलिक हकहरूको सुनिश्चितता गर्ने र लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउने आधार स्तम्भ हो। यस कारण स्वतन्त्र, निष्पक्ष र प्रभावकारी न्याय प्रणाली निर्माण तथा संरक्षण आफ्नो कार्यकालको मुख्य लक्ष्य रहने उनले उल्लेख गरे।

प्रधान न्यायाधीश शर्माले न्यायपालिकाको स्वायत्तता लोकतान्त्रिक प्रणालीको मेरुदण्डसरह रहेको धारणा राख्दै त्यसलाई अक्षुण्ण राख्ने प्रतिबद्धता व्यक्त गरे। उनका भनाइमा न्यायिक प्रक्रियाको मर्यादा र न्यायाधीशहरूको पेशागत निष्पक्षतामा कुनै पनि हस्तक्षेप सह्य नहुने र त्यस्तो अवस्थाप्रति शून्य सहनशीलता अपनाइनेछ।

उनले न्यायपालिकाको संस्थागत स्वतन्त्रतामाथि शंका उत्पन्न हुने कुनै पनि परिस्थिति सिर्जना हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यसैबीच सर्वोच्च अदालतका प्रमुख न्यायाधीशको रूपमा उनले न्याय प्रणालीप्रति जनविश्वास मजबुत बनाउने, विधिको शासनलाई सुदृढ गर्ने र संविधानअनुसार न्यायिक दायित्व प्रभावकारी रूपमा निर्वाह गर्ने दायित्व आफूले गम्भीरतापूर्वक लिएको बताएका छन्।

सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमावर्ती क्षेत्रमा भन्सारसम्बन्धी व्यवस्थाका विषयमा सर्वोच्च अदालतबाट जारी आदेश कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले दैनिक उपभोगका अत्यावश्यक सामग्री तथा औषधिजन्य वस्तु ल्याउँदा अनावश्यक सास्ती भोग्नुपरेको बताएका हुन् ।

उनले अदालतले नागरिकलाई असहज हुने प्रकृतिका सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि व्यवहारमा त्यसको प्रभाव नदेखिएको उल्लेख गरे । अदालतको निर्देशनपछि पनि सीमामा समस्या कायमै रहेको उनको भनाइ थियो ।

सांसद केरुङले सीमावर्ती क्षेत्रमा सर्वसाधारणमाथि कडाइ गर्नेभन्दा संगठित तस्करी नियन्त्रणमा सरकार केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । सामान्य नागरिकलाई दुःख दिने प्रवृत्तिले समस्या समाधान नहुने उनको तर्क थियो ।

त्यसैगरी उनले निवर्तमान गृहमन्त्री सुधन गुरुङसँग जोडिएको प्रकरणको छानबिनका लागि गठित आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् । आयोग गठनको उद्देश्य नै पूर्वगृहमन्त्रीलाई सफाइ दिनेतर्फ उन्मुख भएको आशंका व्यक्त गर्दै उनले छानबिन प्रक्रियामा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका हुन् ।

उनका अनुसार आयोगमा विषयगत विज्ञहरू समावेश गरिए पनि सार्वजनिक रूपमा आएका अभिव्यक्तिका कारण अनुसन्धान प्रक्रियामाथि शंका उत्पन्न भएको छ । सत्ताको दबाबबाट मुक्त भएर आयोगले जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।

रोल्पामा दुई वटा सकेट बम फेला

काठमाडौँ । रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन् ।

पाछावाङ खोलामा जाली लगाउने प्रयोजनका लागि खन्ने क्रममा मंगलबार बिहान शंकास्पद वस्तु देखिएपछि स्थानीय मजदुरले सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त भएपछि नेपाली सेना अन्तर्गत सूर्यदल गण लिबाङबाट बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक परीक्षणपछि फेला परेको वस्तु सकेट बम भएको पुष्टि गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

सुरक्षा निकायका अनुसार ती बम द्वन्द्वकालीन समयमा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

सर्वोच्च अदालतको अवस्थाप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीको सांकेतिक प्रदर्शन

काठमाडौँ । कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा गरिएको उक्त प्रदर्शन अदालतभित्र विकसित पछिल्ला घटनाक्रमप्रति सांकेतिक असन्तुष्टि जनाउने उद्देश्यले आयोजना गरिएको हो ।

बार एसोसिएसनले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार मंगलबार दिउँसो नेपाल बारको कार्यालय परिसरमा कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमार्फत न्यायिक प्रक्रियामा देखिएको अवरोधप्रति ध्यानाकर्षण गराउने प्रयास गरिएको सहभागीहरूले बताएका छन् ।

बारले उक्त कार्यक्रमलाई सत्य र न्यायको पक्षमा गरिएको सांकेतिक अभिव्यक्तिका रूपमा प्रस्तुत गरेको छ ।

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित रहेको भन्दै रास्वपा सांसद सिंहको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट विनियोजन प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री संसदमा अनुपस्थित रहेको विषयमा असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि सभामा जारी बजेटसम्बन्धी छलफलमा भाग लिँदै उनले बजेट प्रस्तुत तथा विनियोजनसँग प्रत्यक्ष सम्बन्धित मन्त्री उपस्थित नभई प्रक्रिया अघि बढाइएकोप्रति प्रश्न उठाएका हुन् ।

सांसद सिंहले आफ्नो लामो संसदीय अनुभवमा पहिलो पटक अर्थमन्त्रीको अनुपस्थितिमै बजेट विनियोजनसम्बन्धी छलफल सञ्चालन भएको देखेको बताए । उनले यसलाई संसदीय अभ्यास र परम्परासँग मेल नखाने विषयका रूपमा व्याख्या गरे ।

छलफलका क्रममा सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित रहेको उल्लेख गर्दै उनले बजेट निर्माण र कार्यान्वयनसँग सम्बन्धित जिम्मेवारी अर्थ मन्त्रालयको हुने भएकाले सम्बन्धित मन्त्री स्वयं उपस्थित हुनुपर्ने धारणा राखेका छन् ।

उनले संसदीय प्रणालीमा स्थापित अभ्यास र प्रक्रियालाई कमजोर बनाउने ढंगले परम्परा तोडिँदै गए संसद्को प्रभावकारिता नै प्रभावित हुन सक्ने चेतावनी दिए । संविधानले अंगीकार गरेको संसदीय व्यवस्थामा सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीबाटै आउनुपर्ने उनको भनाइ थियो ।

सांसद सिंहले संसद्मा उठाइने विषय जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरकारको उत्तरदायित्व र उपस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको हो ।

बैठकमा समिति सदस्यहरूले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए । समिति सभापति डा.कृष्ण हरि बुढाथोकीका अनुसार सदस्यहरूले उठाएका विषयमा विज्ञसँग छलफल गरी सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइनेछ ।

त्यस्तै समिति अन्तर्गतका उपसमितिलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप सुझाव पेस गर्न निर्देशन दिइएको उनले बताए।

काँग्रेसभित्र संस्थापन इतर समूहले सञ्चालनमा ल्यायो सम्पर्क कार्यालय

काठमाडौँ । नेपाली काँग्रेसभित्र संस्थापन इतर समूहले पार्टीगत गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

अनामनगरमा खोलिएको उक्त कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग नजिक मानिने नेताहरूको सक्रियतामा सञ्चालनमा ल्याइएको हो । कार्यालय स्थापनामा गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायत नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

तीमध्ये बराल, बस्नेत र काफ्ले पूर्व केन्द्रीय सदस्य हुन् भने शेरचन हाल बागलुङ काँग्रेस सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीको जिम्मेवारीमा छन् । यस्तै कार्की कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् ।

समूहका नेताहरूले सम्पर्क कार्यालयलाई पार्टीको आगामी १५औँ महाधिवेशनलाई एकतामूलक बनाउन केन्द्रित रहने संरचनाका रूपमा व्याख्या गरेका छन् ।