२०८३ जेष्ठ १७, आइतवार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ ।

समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध गरेको छ।

मंगलबार प्रतिनिधि सभा सुरु हुनासाथ हर्क साम्पाङसहितका सांसदले प्ले कार्ड देखाएर विरोध गरेका हुन् ।

सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेका छन् ।

‘पूर्वगृहमन्त्री गुरुङसम्बन्धी छानबिन आयोगमाथि निगरानी आवश्यक’ : सांसद साह

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अभिषेक प्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन गठित आयोगको गतिविधिमाथि निगरानी आवश्यक रहेको बताएका छन्।

प्रतिनिधि सभाको आकस्मिक समयमा धारणा राख्दै सांसद साहले आयोगले प्रभाव र दबाबमुक्त ढंगले काम गर्नुपर्ने उल्लेख गरे। उनले पूर्वगृहमन्त्री गुरुङको सम्पत्तिमाथि उच्चस्तरीय र पारदर्शी अनुसन्धान हुनुपर्ने मागसमेत गरेका छन्।

सांसद साहले छानबिन प्रक्रियाबारे जनस्तरमा विभिन्न आशंका र टिप्पणी उठिरहेको उल्लेख गर्दै आयोगले कसैलाई उन्मुक्ति दिने वा संरक्षण गर्ने ढंगले काम गर्न नहुने धारणा राखेका छन्।

उनले सार्वजनिक पदमा रहेका वा रहिसकेका व्यक्तिहरू कानुनभन्दा माथि हुन नसक्ने बताउँदै आयोगले निष्पक्षता कायम राख्नुपर्ने आवश्यकता औँल्याए।

गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौँ । गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ ।

मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको र त्यसलाई थप प्रभावकारी बनाएको जनाएको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् ।

मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित ‘हटलाइन नम्बर’ ११५१ लाई थप प्रभावकारी बनाइएको छ । चौबिसै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ ।

सेवाग्राहीका ‘फोन’, ‘ह्वाट्सएप’, ‘इमेल’देखि ‘हेलो’ सरकारसम्म आएका गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रणालीलाई परिणाममुखी बनाइएको छ ।

मन्त्री श्रेष्ठको सचिवालयले यसलाई नियमित प्रशासनिक प्रक्रियाभन्दा उत्तरदायी एवम् जबाफदेही ढंगले अघि बढाएको छ । मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जन र स्वकीय सचिव राजा शाक्य स्वयम् जनसरोकारका विषय सम्बोधन गर्न सम्बन्धित निकायसँगको समन्वयमा खटिँदै आएका छन् ।

श्रम संस्कृती पार्टीले संसद्‌मा देखायो प्ले कार्ड : सभामुखको आदेशपछि पनि पर्चासहित बसे सांसद

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएका छन् । संसद्‌भित्र प्ले कार्ड प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्याल (डिपी)ले यस्तो शैली दोहोर्याउन नदिन निर्देशन दिएका छन् । तर, सभामुखको आदेशपछि पनि सम्बन्धित सांसदहरू छातीमा पर्चा टाँसेर बैठकमा सहभागी भएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सुरुमा सभामुखको आसन अगाडि पुगेर प्ले कार्ड देखाएका थिए । त्यसपछि उनीहरू छातीमा पर्चा टाँसेर बैठकमा बसेका थिए ।

घटनापछि सभामुख अर्यालले संसद् कानून निर्माणको महत्वपूर्ण थलो भएकाले विरोध पनि संसदीय मर्यादाभित्र हुनुपर्ने बताएका छन् ।

उनले भने, “प्रतिनिधि सभाको यो सभा साँच्चिकै महत्वपूर्ण हुने र कानून निर्माण गर्ने महत्वपूर्ण थलो हो । विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । आगामी दिनमा यसलाई आदेशकै रूपमा लिन म जानकारी गराउँछु ।”

सभामुखले प्ले कार्ड र पर्चासहितको विरोध शैलीलाई असंसदीय अभ्यासको रूपमा समेत टिप्पणी गरेका छन् । उनका अनुसार संसद्‌को नियमावली, कानूनी व्यवस्था वा संसदीय अभ्यासले यस्तो शैलीलाई मान्यता दिएको देखिँदैन ।

“पर्चा देखाएर विरोध गर्ने कुरा न हाम्रो कानून, न नियमावली र न अभ्यासले दिएको देखिन्छ,” सभामुखले भने, “त्यसकारण आगामी दिनमा विरोधको शैली मर्यादापूर्वक ढंगले अपनाउन म जानकारी गराउँछु ।”

सभामुखको निर्देशनपछि पनि श्रम संस्कृती पार्टीका सांसदहरू भने छातीमा पर्चा टाँसेरै बैठकमा बसेका थिए ।

भदौ घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले घटनाको अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोग अन्तर्गत गठन गरिएको समितिले तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिनुको कारणबारे प्रश्न उठाए।

सांसद केसीले लिली थापाको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कुन स्वार्थका कारण रोकिएको हो भन्ने विषयमा संसद्ले जानकारी पाउनुपर्ने बताएका छन्।

उनले उक्त घटनाका क्रममा लामो समयसम्म सर्वसाधारणले असुरक्षित र राज्यको संरक्षणविहीन अवस्था अनुभूत गर्नुपरेको उल्लेख गर्दै यस्ता घटना पुनः नदोहोरिने सुनिश्चितता सरकारले दिनुपर्ने धारणा राखेका छन्।

त्यस्तै, घटनाको अनुसन्धानका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनसमेत औपचारिक रूपमा सार्वजनिक नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

केसीले दुवै प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

ललित र सन्दीपको उत्कृष्ट बलिङमा स्कटल्यान्ड १९४ रनमा अलआउट

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो। ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल लिस्कले पनि अर्धशतक बनाए। उनले यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक सफलता हात पारे।

यसै खेलमा लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान राखे। उनले २ विकेट लिने बित्तिकै यो कोसेढुंगा पार गरेका हुन्।

सन्दीपले ७३ म्याचमा १५० लिए। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए।

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको विरोध प्रदर्शन

काठमाडौँ । बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सार्वजनिक जग्गा संरक्षणका नाममा दीर्घकालदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक पुनर्स्थापनाविना हटाउने कार्य भइरहेको भन्दै विरोध प्रदर्शन गरेका छन्।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शन राजमार्ग चौराहाबाट सुरु भएर मिलन चोक, अस्पताल लाइन हुँदै ट्राफिकचोकसम्म पुगेको थियो। आयोजकका अनुसार प्रदर्शनपछि सोही क्षेत्रमा सभाको आयोजना गरिएको छ।

आन्दोलनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको उल्लेख्य उपस्थिति रहेका २२ भन्दा बढी जिल्लाबाट सहभागीहरू बुटवल पुगेका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारी नीतिको विरोध गर्दै नाराबाजी गरेका थिए। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनले विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

संघर्ष समितिले विभिन्न प्रदेशमा वैकल्पिक व्यवस्थाविना बस्ती हटाउने कार्य तीव्र भएको आरोप लगाउँदै त्यसको विरोध स्वरूप आन्दोलन आयोजना गरिएको जनाएको छ। समितिका अनुसार हालसम्म देशभर करिब १२ लाख परिवार प्रभावित भएका छन् भने यसबाट झन्डै ५० लाख नागरिक प्रत्यक्ष असरमा परेका छन्।

समितिले लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरू घरबास गुम्ने त्रासमा रहेको र त्यसले मानसिक तनावसमेत बढाएको दाबी गरेको छ। यही विषयमा सरकारको ध्यानाकर्षण गराउन आन्दोलन गरिएको आयोजकको भनाइ छ।

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने ‘प्रचण्ड’को अडान

वीरेन्द्रनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताएका छन् ।

प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।

“मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्र हाम्रो दल सरकारमा जान्छ,” उनले भने, “काँग्रेस र एमालेबाट अलग–अलग सरकार निर्माणको प्रस्ताव आएको थियो त्यसलाई मैले अस्वीकार गरेको छु ।”

युएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

एजेन्सी । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ । दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गरेको बताइएको छ ।

संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेष गरी मध्यपूर्वको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदानप्रदान गरेका थिए ।