काठमाडौँ । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकेट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रुपैयाँ तिरिसकेका थिए ।
तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले ‘३ लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम लिन्न’ भनेपछि उनी मलेसिया उड्न पाएनन् । उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रुपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन ।
म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ तिरे जेठ ३ गते उडाइदिने बतायो । त्यसपछि उनले पैसाको जोहो गरे । नाइट गाडी चढेर शनिबार बिहान काठमाडौँ ओर्लिए ।
कम्पनीको एक जना कर्मचारीले शनिवारै बिहान अजयलाई फोन गरे । पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडि पैसा लिए भेट्न बोलाए ।
त्यति बेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए । अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन् ।
अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैँ खटिए । केही सञ्चारकर्मीका साथ तीनकुने स्थित प्रहरी वृत्त पुगे । त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो । म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरूमा अजयसँग पैसा मागे । अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केही बेर भनाभन भयो । त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो ।
‘फ्रि भिसा फ्रि टिकेट’ नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याइयो ।
ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात रहेको पाइयो । उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ ।