२०८३ जेष्ठ १७, आइतवार

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ-मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालेको छ । 

जोखिमपूर्ण मानिएको रामनगर-जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ । अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले बताए । 

बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ । पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रमुख पाण्डेले बताए।

१०० रुपैयाँभन्दा माथिका उपभोग्य वस्तुमा भन्सार शुल्क कार्यान्वयन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । नेपाल-भारत सीमाबाट सर्वसाधारणले ल्याउने दैनिक उपभोग्य वस्तुमा सरकारले तोकेको भन्सार शुल्क सम्बन्धी व्यवस्था तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालत ले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार शुल्क उठाउने सरकारी निर्णय रोक्न आदेश दिएको हो। शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त व्यवस्था रोक्नुपर्ने निष्कर्षसहित अन्तरिम आदेश जारी गरेको बताइएको छ।

आदेश अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायत सम्बन्धित निकायलाई दैनिक उपभोग्य वस्तुमा तत्काल भन्सार शुल्क नउठाउन निर्देशन दिइएको छ।

यसअघि अर्थ मन्त्रालयले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनीत गरेको छ।

पार्टी सभापति गगनकुमार थापा ले श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम उनलाई कोषाध्यक्ष पदमा नियुक्त गरिएको हो।

श्रेष्ठ यसअघि पनि शेरबहादुर देउवा पार्टी सभापति रहेका बेला कोषाध्यक्षको जिम्मेवारीमा रहिसकेका छन्। पूर्वराज्यमन्त्रीसमेत रहेका श्रेष्ठ व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै शिक्षा र कृषि क्षेत्रमा संलग्न हुँदै आएका छन्।

उनी २०७८ साल मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। हालै सम्पन्न विशेष महाधिवेशनपछि उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ।

न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई रिहा गरी अनुसन्धान जारी राख्न निर्देशन दिएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।

अदालतले पाण्डेलाई विदेश जानुपर्ने अवस्था आएमा पूर्वअनुमतिबिना मुलुक बाहिर जान नपाउने व्यवस्था गर्न पनि आदेश दिएको छ। पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार तत्काल नदेखिएको निष्कर्षसहित अदालतले बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो।

यसअघि पाण्डेकी पत्नी निरु दाहालले उनलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित विषयमा आपराधिक विश्वासघातलगायतका कसुरमा अनुसन्धान गर्दै पाण्डेलाई पक्राउ गरेको थियो।

अख्तियार प्रमुखसहित उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको अभियोगमा प्रकाश पाठक थुनामा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले विभिन्न गम्भीर आपराधिक आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपको प्रकृति, उपलब्ध प्रमाण तथा घटनाको संवेदनशीलतालाई आधार मान्दै अनुसन्धान अवधिभर थुनामा राख्नुपर्ने निष्कर्षसहित आदेश जारी गरेको हो। पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी कारोबार तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले उनलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उक्त प्रक्रिया इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौँबीचको समन्वयमा सम्पन्न भएको बताइएको छ। यस प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च तहका १० जना पदाधिकारीलाई धम्की दिएको आरोप सार्वजनिक भएको थियो।

नियम विपरीत बस्दै आएका कर्मचारीद्वारा आवास खाली गर्न अटेरी

काठमाडौँ । चीन सरकारको सहयोगमा निर्माण गरिएको बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बस्दै आएका केही कर्मचारीले आवास खाली गर्ने निर्देशनको पालना नगरेको पाइएको छ।

अस्पताल प्रशासनले वैशाख १६ गते सूचना जारी गर्दै तोकिएका मापदण्डभन्दा बाहिर रहेका कर्मचारीलाई आवास छोड्न स्पष्ट निर्देशन दिएको भए पनि हालसम्म कुनै पनि कर्मचारीले आवास खाली नगरेको जनाएको छ।

आपत्कालीन सेवा, चिकित्सकीय उपचार तथा परिचालनमा संलग्न जनशक्तिलाई प्राथमिकताका आधारमा आवास उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था अनुसार उक्त निर्देशन जारी गरिएको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पताल परिसरभित्र सहायक, अधिकृत तथा चिकित्सक स्तरका कर्मचारीका लागि छुट्टाछुट्टै आवास संरचना निर्माण गरिएको छ। सहायक स्तरका कर्मचारीका लागि १० वटा भवनमा करिब ६० परिवार बस्न सक्ने व्यवस्था रहेको छ।

त्यसैगरी, अधिकृत स्तरका कर्मचारीका लागि ६ वटा भवन र थप १० भवनमा एकल तथा दुई परिवार बस्ने गरी आवास संरचना तयार गरिएको छ। चार परिवार क्षमता भएका छ वटा भवनमध्ये केहीमा चिनियाँ प्राविधिक तथा केहीमा अधिकृत स्तरका कर्मचारी र चिकित्सक बसोबास गर्दै आएका छन्।

चिनियाँ सहयोगमा निर्माण भएका दुई भवनमा १८ परिवार रहेको विवरण पनि प्रशासनले सार्वजनिक गरेको छ। सहायक स्तरका कर्मचारीका लागि निर्माण गरिएका ३६ कोठामा १८ परिवार बसोबास गरिरहेको जनाइएको छ।

अस्पताल प्रशासनले सेवा सुविधा व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा अस्पतालबाट करिब २५ किलोमिटर भित्र निजी आवास भएका कर्मचारीलाई आवास सुविधा नदिने नीतिगत प्रावधान रहेको स्पष्ट पार्दै सोही आधारमा आवास खाली गर्न आग्रह गरिएको जनाएको छ।

उपत्यकामा ९ महिनामा साढे चार हजार बढी दुर्घटना, १७४ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको पछिल्ला नौ महिनामा सवारी दुर्घटनाको संख्या उल्लेख्य देखिएको छ। ट्राफिक प्रहरीको तथ्यांक अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ३१ दुर्घटना दर्ता भएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका ती दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका छन्।  दुर्घटनाबाट १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९ सय २७ जना सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्षभन्दा कम उमेरका रहेका छन्। त्यसैगरी १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जना तथा ३६ वर्षभन्दा माथिका ८१ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ।

उपत्यकामा सवारी दुर्घटनाको यस्तो परिमाणले सडक सुरक्षा, चालक अनुशासन र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने आवश्यकता अझ स्पष्ट पारेको सम्बन्धित निकायको मूल्यांकन छ।

सजिलो क्रान्तिबाट आएर पनि परिणाम दिन सकेनौं भने हामी नालायक सावित हुन्छाैं: रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनादेखि हालसम्मको राजनीतिक यात्रा इतिहासकै सहज संघर्ष रहेको बताउँदै अबको पाँच वर्ष जनताका पक्षमा परिणाममुखी काम गर्नुपर्ने बताएका छन्। आइतबार पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले सो धारणा राखेका हुन्।

उनले पार्टीको आगामी कार्यदिशा र जनअपेक्षालाई पूरा गर्न सांसदहरूलाई निर्देशन समेत दिए। सम्बोधनका क्रममा लामिछानेले रास्वपाको उदय र हालसम्मको सफलतालाई सहज रूपमा व्याख्या गरे । उनले भने, ‘हामीलाई थाहा थियो, हाम्रो बहुमत आउँछ भनेर। यति सहज संघर्ष आजसम्मको इतिहासमा कतै भएको छैन।’ उनले थपे, ‘यति सजिलो क्रान्तिबाट आएर पनि यदि हामीले परिणाम दिन सकेनौं भने हामी नालायक सावित हुनेछौं।’

सभापति लामिछानेले नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा पुर्‍याएको योगदानको बदलामा तत्काल पद वा पुरस्कार नखोज्न आग्रह गरे। ‘पार्टीमा योगदानको मूल्य नमाग्नुहोला, यो माग्ने बेला मेरो पनि भएको छैन,’ उनले सुनाए, ‘वास्तविक योगदान त अब दिने हो। अबको हाम्रो मुख्य लक्ष्य भनेको अवस्था बदल्ने क्रान्ति गर्ने हो।’

मन्त्री पद नपाएको भन्दै असन्तुष्ट रहेका नेताहरूप्रति लक्षित गर्दै लामिछानेले सांसदको भूमिका मन्त्रीको भन्दा कम नहुने बताए। उनले मन्त्री नहुँदा दुःख मान्नुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै भने, ‘म मन्त्री भइनँ भनेर दुःख मान्ने साथीहरूले बुझ्नुपर्छ, सांसदको रूपमा हामीले दिन सक्ने योगदान मन्त्रीको भन्दा धेरै छ।’

प्रशिक्षणका क्रममा उनले रास्वपाका सांसदहरूलाई संसद्‌मा जनताका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन र कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुन प्रेरित गरे।

राखेपलाई मन्त्रालयको पत्र : क्यानलाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्नू

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्न खेलकुद मन्त्रायलले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै मन्त्रालयले परिषद्लाई उक्त निर्देशन दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाबाट २०८१-८-१६ र २०८१-११- २१ मा प्राप्त पत्र बमोजिमका उजुरीहरू निरुपण गरी कारबाही किनारा गर्नुपर्ने सो हुन नसकी फाइल अनिर्णित रहेको देखिएकाे जनाएकाे छ।

यस सम्बन्धमा क्यानलाई राखेपले आयोगको पत्र बमोजिम जवाफ र आवश्यक कागजात समेत प्राप्त नभए साेही ऐन दफा २९ बमोजिम किन कारबाही नगर्ने भनि राखेप मार्फत अन्तिम पटक चेतावनीसहितको सर्त पालना गर्न निर्देशसहितको जवाफ माग गरी आवश्यक कारबाही अगाडि बढाउने भनेर यस मन्त्रालय २०८१-१-१४ निर्णय अनुसार आवश्यक कार्यर्थ पठाएको अनुराेध रहेको मन्त्रालय जनाएको छ।

तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेता तथा राजनीतिज्ञ जोसेफ विजय चन्द्रशेखरले भारतको तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन् । सो समारोहमा परिवारका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चलचित्र क्षेत्रका व्यक्तित्व तथा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो ।

यससँगै तमिलनाडुमा करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहेकको राजनीतिक दल नेतृत्वमा सरकार बनेको छ ।

विजयले स्थापना गरेको राजनीतिक दल टिभिकेले छोटो समयमै प्रदेश राजनीतिमा उल्लेखनीय उपस्थिति जनाएको छ । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा २३४ सिटमध्ये १०८ सिट जित्दै पार्टीले प्रभावशाली प्रदर्शन गरेको थियो ।

तर सरकार गठनका लागि आवश्यक ११८ सिटको स्पष्ट बहुमत नपुगेपछि काँग्रेस, भारतीय कम्युनिस्ट पार्टी र मार्क्सवादी कम्युनिस्ट पार्टीलगायत दलहरूको समर्थन जुटाएर उनले सरकार गठनको बाटो सुनिश्चित गरेका हुन् ।