२०८३ जेष्ठ १७, आइतवार

पटक-पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर ट्राफिक नियम उल्लंघन गर्दै आएका ३१ जना सवारी चालकलाई सवारी चालक अनुमति पत्र निलम्बन गर्न सिफारिस गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ती चालकहरूले अधिकतम १६ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको अभिलेख देखिएपछि उनीहरूको लाइसेन्स छ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागसमक्ष सिफारिस पठाएको जनाएको छ ।

ट्राफिक प्रहरीले नियम विपरीतका गतिविधिमा पटक-पटक कारबाहीमा परे पनि सुधार नआएको र एउटै प्रकृतिका गल्ती दोहोरिँदै गएको अवस्थालाई आधार बनाएर कडा प्रशासनिक कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको अनुमति पत्र अधिकतम छ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार विभागमा निलम्बन सिफारिस गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार केवल जरिवाना तिराउने अभ्यासले मात्रै ट्राफिक अनुशासन कायम गर्न अपेक्षित प्रभाव नपरेपछि अनुमति पत्र निलम्बनजस्ता थप कडा उपाय अवलम्बन गरिएको हो । निलम्बन लागू भएपछि सम्बन्धित चालकहरूले उक्त अवधिभर कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन् ।

ट्राफिक प्रहरी कार्यालयले यस प्रकारको कारबाहीले उपत्यकामा ट्राफिक नियम पालनामा सुधार ल्याउने तथा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ । विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो ।

उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको मापदण्ड पालना गरे/नगरेको यकिन गर्न यो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ । मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने भएकाले जरिवानासहित कारबाही प्रक्रिया अघि बढाएको हो ।

दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौँ । सुदूरपश्चिमको दार्चुला जिल्लामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको तपोवन आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान ११:५५ बजे भूकम्प गएको हो ।

केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको जनाएको छ । हालसम्म उक्त भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

धनगढी पुगे सभापति थापा 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा धनगढी पुगेका छन् । उनी धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटनका लागि कैलाली पुगेका हुन् ।

विशेष महाधिवेशनपछि पहिलो पटक कैलाली आएका सभापति थापाको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह गेटा विमानस्थल पुगेका थिए ।

उनीसँगै प्रदेश सरकारमा काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू पनि सभापति थापाको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गरेको छ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलामा सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ ।

 मन्त्रालयले आज एक सूचना जारी गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले आजदेखि जेठ ५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । 

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन् । 

बिदाइ कार्यक्रममा उनीहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गरे । 

उनीहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका थिए । 

नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरेको छ । 

मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजदेखि जेठ ५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ । कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै बाँकी तराई क्षेत्रका एक/दुई स्थानमा  हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना  छ ।

त्यसैगरी, आज राति  हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुंगालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस अभियानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएको जनाइएको छ ।

 ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिउँसोदेखि राति अबेरसम्म यहाँका विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक तथा यात्रु सबैको जिम्मेवारी आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । आज दिउँसो काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा सवारी जाँचका क्रममा उनले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।

उनले भने, “सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको अवस्था नियमित परीक्षण गर्न, तीव्रगति नियन्त्रण गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न हामीले विशेष अभियान सञ्चालन गरेका छौँ । दुर्घटना न्यूनीकरणका लागि म आफैँ पनि सडकमा खटिएर अनुगमन गरिरहेको छु । तपाईँहरू पनि ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुहोला ।”

ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्रगति, लापरबाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गरेर गाडी चलाउने तथा मापसे, लापसे गरेर सवारी चलाउने रहेको जनाएको छ । ती गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए।

पछिल्लो समय नागढुङ्गा, कलंकी, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगन्ज, नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य अवस्था तथा यात्रु क्षमताबारे समेत निगरानी थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

श्रम संस्कृति पार्टी र सुदन किरातीबीच एकताको सहमति

 काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकताको सहमति भएको छ । 

स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । गयराति भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।

यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न ३ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ । काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकताको सहमति भएको छ । 

स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । गयराति भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।

यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न ३ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।