२०८३ जेष्ठ १७, आइतवार

ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्’

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न जोडदार माग गरेकी हुन्।

पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गरेकी छन्।

उनले भनेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईँ नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भएको छ ।यति बेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुन नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ ।’

उनले थपिन्, ‘बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईँ को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन।त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईँको सोच गलत छ। अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।’

उनले अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने बताइन्। उनले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु सुझाव दिइन्।

‘नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ । व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन’ उनले भनेकी छन्, ‘देश र जनताको हितमा नि:स्वार्थी भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।’

गुण्डुमा एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ ।

शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्नेछन्। शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले धारणा राख्दैछन् ।

शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।

राजनीतिक परिस्थितिबारे पदाधिकारीहरूको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।

कुवेतले जुनदेखि अन्तर्राष्ट्रिय उडान चरणबद्ध रूपमा सञ्चालन गर्ने

काठमाडौँ । कुवेतले आगामी जुन १ तारिखदेखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। अरब मुलुकका साथै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ।

कुवेत नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहले विमानस्थलको पूर्वाधार सुधार, प्रणाली स्तरोन्नति तथा सञ्चालनसम्बन्धी मर्मत-सम्भार कार्य सम्पन्न भएपछि उडान पुनः सुरु गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

उनका अनुसार सुरक्षित र व्यवस्थित हवाई सेवा सुनिश्चित गर्न आवश्यक प्राविधिक तयारी तथा सञ्चालन मूल्यांकन जारी रहेको छ। विमानस्थल र उडान सेवाको पुनः सञ्चालन प्रत्येक चरणको प्राविधिक परीक्षण तथा अवस्थाको मूल्यांकनका आधारमा विस्तार गरिने जनाइएको छ।

महानिर्देशक अल सबाहले विशेष गरी टर्मिनल-१ मा यात्रु सेवा तथा सुरक्षा मापदण्डलाई थप प्रभावकारी बनाउन स्तरोन्नति र विकासका काम भइरहेको बताएका छन्। यात्रु चाप व्यवस्थापन र सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले विमानस्थलका संरचना तथा सेवा प्रणालीमा सुधार गरिएको पनि उनले उल्लेख गरेका छन्।

अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेलाई कानुनी कारवाही गर्ने मेडिकल काउन्सिलको चेतावनी

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कानुनी रूपमा दर्ता नभई ‘डा.’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कडा कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ। काउन्सिलले बिहीबार जारी गरेको अत्यावश्यक सूचनामार्फत अवैध रूपमा चिकित्सकको परिचय प्रयोग गर्नेप्रति ‘जिरो टोलरेन्स’ नीति अवलम्बन गरिने स्पष्ट पारेको हो।

काउन्सिलका अनुसार विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैरचिकित्सक व्यक्ति वा अन्य स्वास्थ्यकर्मीले अनधिकृत रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गर्दै बिरामी परीक्षण, परामर्श तथा औषधि सिफारिस गर्ने गतिविधि बढेको पाइएको छ। यस्तो अभ्यासले जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको काउन्सिलको ठहर छ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामी परीक्षण, उपचार परामर्श तथा एलोप्याथिक औषधि सिफारिस गर्ने अधिकार काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकलाई मात्रै रहेको उल्लेख गरिएको छ। काउन्सिलले सम्बन्धित परिषदबाट कानुनी मान्यता प्राप्त चिकित्सकबाहेक अन्य कसैले नामअघि ‘डा.’ प्रयोग गरेको पाइए १५ दिनभित्र हटाउन निर्देशन दिएको छ। उक्त निर्देशन साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड तथा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममा समेत लागू हुने जनाइएको छ।

काउन्सिलले विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘डाक्टर’ उल्लेख भएको आधारमा मात्रै नेपालमा स्वतन्त्र चिकित्सकीय अभ्यास गर्न नपाइने पनि स्पष्ट पारेको छ। ऐनअनुसार चिकित्सकीय अभ्यास तथा ‘डाक्टर’ वा ‘चिकित्सक’ पद प्रयोग गर्ने अधिकार नियामक व्यवस्थाअनुसार मात्रै लागू हुने जनाइएको छ।

निमित्त रजिस्ट्रार दीपेन्द्र पाण्डेका अनुसार तोकिएको समय सीमा समाप्त भएपछि विशेष अनुगमन टोलीमार्फत प्रत्यक्ष तथा डिजिटल माध्यमबाट निगरानी सुरु गरिनेछ। अवैध रूपमा उपाधि प्रयोग गरी बिरामी परीक्षण वा औषधि सिफारिस गरेको भेटिएमा ऐनको दफा २६ र २७ अनुसार मुद्दा दर्ता गरिने उनले बताए।

काउन्सिलका अनुसार दोषी ठहरिएमा अधिकतम तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

जेठ १४ गते सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) का अवसरमा २०८३ साल जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार मिति २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ।

मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर ईद २०८३ साल जेठ १४ गते परेको ब्यहोरा प्राप्त भएपछि उक्त दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना समेत व्यक्त गरेको छ।

तीन दिने भ्रमणका लागि काठमाडौँ आइपुगिन् बेलायती मन्त्री सीमा मल्होत्रा

काठमाडौँ । सीमा मल्होत्रा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेकी छन्।

नयाँ सरकार गठनपछि बेलायत सरकारका तर्फबाट नेपाल भ्रमणमा आउने उनी पहिलो मन्त्री हुन्। उनको भ्रमणलाई नेपाल-बेलायत सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

काठमाडौँस्थित ब्रिटिस दूतावास काठमाडौँका अनुसार नेपालका लागि बेलायती राजदूत रब फेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री मल्होत्रालाई स्वागत गरेका थिए। उनले यो भ्रमण दुई देशबीचको दीर्घकालीन मित्रता तथा समकालीन साझेदारीलाई थप मजबुत बनाउने अवसर भएको बताएका छन्।

भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै गोर्खा समुदायका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

संविधान संशोधनसम्बन्धी सुझाव संकलन सुरु, ७ दिनभित्र राय-सुझाव उपलब्ध गराउन अनुरोध

काठमाडौँ । संविधानमा आवश्यक परिमार्जनका विषयमा नागरिक तहबाट सुझाव संकलन गर्ने उद्देश्यसहित सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला सबैलाई राय-सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

कार्यालयका अनुसार संविधान संशोधनसम्बन्धी विषयवस्तु समेटिने गरी तयार गरिने बहस पत्रका लागि नागरिक सहभागिता सुनिश्चित गर्न लिखित सुझाव संकलन गर्ने निर्णय गरिएको हो । यस सम्बन्धी प्रक्रिया अघि बढाउन गठित कार्यदलको हालैको बैठकले सर्वसाधारणबाट प्रत्यक्ष सुझाव लिने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

सूचनामा नेपालको संविधानमा समसामयिक सुधार तथा आवश्यक संशोधनका विषयमा राय उपलब्ध गराउन ७ दिनको समयसीमा तोकिएको छ । इच्छुक नागरिकले आफ्ना सुझाव इमेल, टेलिफोन वा सचिवालयमार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ । प्राप्त सुझावहरूलाई समेटेर आगामी बहस पत्र तयार गरिने बताइएको छ ।

गत चैत १६ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार गठन गरिएको उक्त कार्यदलको नेतृत्व प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले गरेका छन् । कार्यदलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी रहेका छन् ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय का कानुन सचिव, नेपाल कानुन आयोगका सचिव सदस्यका रूपमा रहेका छन् भने कानुन तथा फैसला कार्यान्वयन हेर्ने सम्बन्धित महाशाखा प्रमुखले सदस्य-सचिवको जिम्मेवारी सम्हालेका छन् । कार्यदललाई ‘संविधान संशोधन बहस पत्र तयारी कार्यदल-२०८२’ नाम दिइएको छ ।

सरकारले यो प्रक्रियामार्फत संविधान संशोधनसम्बन्धी छलफललाई व्यापक सहभागितामूलक बनाउँदै नीतिगत सुझावहरूलाई औपचारिक दस्तावेजमा समेट्ने लक्ष्य लिएको छ ।

मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय, बल्खुमै कार्यालय निर्माण गर्ने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङ दम्पतीबाट प्रस्ताव गरिएको जग्गा तथा कार्यालय भवन सहयोग नलिने निर्णय गर्ने तयारी गरेको छ।

पार्टी सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार गुरुङ दम्पतीले अनुदान स्वरूप उपलब्ध गराउने भनिएको भवन निर्माण सम्बन्धी प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने उल्लेख गरिएको छ। एमालेले अब आफ्नै पहलमा मदननगर, बल्खुस्थित क्षेत्रमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने योजना अघि बढाउने भएको छ।

सचिवालयमा पेश गरिएको प्रस्तावमा कलंकी क्षेत्रमा भवन निर्माणको प्रस्ताव गर्ने दाताप्रति आभार व्यक्त गर्दै उक्त प्रस्ताव स्वीकार नगर्ने र बल्खुमै नयाँ कार्यालय निर्माण गर्ने निर्णय गर्न सुझाव दिइएको छ।

व्यवसायी गुरुङले उपलब्ध गराउने भनिएको भवनको शिलान्यास २०८१ असोजमा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा गुरुङ दम्पतीको उपस्थितिमा गरिएको थियो। तर त्यसपछि निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को खोजी गरेर विपक्षी दलले पटकपटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्री भेट्न पुगेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच आधा घन्टा छलफल भएकाे थियो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

संसद बैठक स्थगित गरी प्रधानमन्त्रीलाई भेट्न पुगेका सभामुख अर्यालले अहिले राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेका छन् । 

तारकेश्वरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा चल्यो डोजर

काठमाडौँ । काठमाडौँ उपत्यकास्थित तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि कारवाही गर्दै हटाउने कार्य गरेको छ।

नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण अभियानअन्तर्गत अवैध रूपमा निर्माण भएका टहरा, पर्खाल तथा अन्य भौतिक संरचनाहरू हटाइएको जनाएको छ। अभियानका क्रममा नगर प्रहरी, प्राविधिक टोली तथा सम्बन्धित स्थानीय प्रशासनको समन्वयमा डोजर प्रयोग गरी केही संरचना पूर्ण रूपमा भत्काइएको हो।

नगरपालिकाका अनुसार सार्वजनिक जग्गा अतिक्रमण नगर्न पटक-पटक सूचना जारी गरिए पनि अटेर भएपछि बाध्य भएर संरचना हटाउनुपर्ने अवस्था आएको हो। नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तर रूपमा अघि बढाइने जनाएको छ।