२०८३ जेष्ठ १७, आइतवार

विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेज नियमनका लागि नयाँ नियमावली तयारी अन्तिम चरणमा

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशीसँग सम्बन्धनमा सञ्चालन भइरहेका कलेजहरूबारे विभिन्न गुनासो बढ्दै गएको सन्दर्भमा स्पष्ट कानुनी व्यवस्था आवश्यक भएको उल्लेख गरे। उनका अनुसार हाल त्यस्ता शैक्षिक संस्थाको अनुगमन र व्यवस्थापनमा देखिएका कमजोरीलाई सम्बोधन गर्न नियमावली ल्याउन लागिएको हो।

मन्त्रालयले तयार पारेको नियमावलीको प्रारम्भिक मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए। ती मन्त्रालयबाट प्राप्त राय र सुझाव समेटिएपछि अन्तिम रूप दिँदै मन्त्रिपरिषद्‍मा पेस गर्ने तयारी रहेको बताइएको छ।

उनका अनुसार हालसम्म नेपाली विश्वविद्यालय तथा क्याम्पसहरू तुलनात्मक रूपमा नियमनमा रहे पनि विदेशी विश्वविद्यालयसँग सम्बन्धनमा सञ्चालन भएका कलेजहरूको निगरानी प्रभावकारी बन्न नसकेको निष्कर्ष मन्त्रालयले निकालेको छ। नयाँ नियमावलीमार्फत सम्बन्धन दिने आधार, अनुमति प्रक्रिया र नियमन संरचना स्पष्ट रूपमा निर्धारण गरिनेछ।

पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा क्षेत्रमा रेलमार्ग नजिक भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीय समयअनुसार आइतबार चमन गेट आसपासको रेल ट्र्याकमा भएको विस्फोटपछि ठूलो जनधन क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। विस्फोटका कारण रेलका तीन वटा डिब्बा लिकबाट बाहिर खसेका तथा दुई वटा डिब्बा पल्टिएका थिए।

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा विस्फोट अत्यन्त शक्तिशाली भएको बताएका छन्। विस्फोटको प्रभावले रेलमार्ग आसपास पार्क गरिएका सवारी साधनमा क्षति पुगेको तथा नजिकका आवासीय संरचनाहरूमा समेत असर परेको जनाइएको छ।

घटनापछि सुरक्षाका लागि सेना र प्रहरी परिचालन गरिएको छ। यद्यपि, हालसम्म विस्फोटको कारण तथा क्षतिबारे आधिकारिक विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच रेलमन्त्री मुहम्मद हनिफ अब्बासी ले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेका छन्। रेल मन्त्रालयद्वारा जारी विवरणअनुसार क्वेटा क्यान्टबाट चमनतर्फ गइरहेको शटल रेल चमन गेट नजिकै विस्फोटको चपेटामा परेको हो।

मन्त्रालयका अनुसार विस्फोटका कारण इन्जिनसहित तीन वटा डिब्बा पटरीबाट बाहिर गएका तथा थप दुई डिब्बा पल्टिएका थिए। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

कञ्चनपुरमा होटेल व्यवसायीमाथि समूहगत आक्रमण, अनुसन्धान जारी

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा एक होटेल व्यवसायीमाथि एक समूहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटेलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति करिब ९ बजेतिर कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर वीरेन्द्र थापाले होटेलमै रहेका बेला ५ देखि ६ जनाको समूह आएर चन्दमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। घटनापछि घाइते भएका चन्दको उपचार गरिएको र उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी दृश्य कैद भएको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको जनाएको छ।

फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान सुरु

काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाभित्र निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ । महानगरले खोलाघर क्षेत्र खाली गराउँदै करिडोर निर्माणको योजना अघि बढाएको जनाएको छ ।

महानगर प्रमुख धनराज आचार्य तथा सम्बन्धित वडाका जनप्रतिनिधिको उपस्थितिमा आइतबार बिहानदेखि तीन स्थानबाट एकैसाथ डोजर परिचालन गरिएको हो ।

प्रारम्भिक चरणमा जिरो किमीदेखि सिर्जना चोकसम्म फिर्के खोलामाथि निर्माण गरिएका संरचना हटाउने काम थालिएको छ । उक्त खण्डमा लायन्स भवन क्षेत्रबाट भत्काउने कार्य सुरु गरी वडा नम्बर ६ तर्फ अघि बढाइएको जनाइएको छ ।

त्यसैगरी अर्को टोलीले वडा नम्बर २ र १८ को सीमास्थित अँधेरी कुनाबाट संरचना हटाउने काम सुरु गरेको छ । यो अभियान वडा नम्बर ४ सम्म विस्तार गरिने महानगरले जनाएको छ । अर्को डोजर वडा नम्बर ४ र ५ को सीमास्थित फिर्केपुल-बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट परिचालन गरिएको छ, जसले वडा नम्बर ५ र ८ तर्फको क्षेत्र समेट्नेछ ।

महानगरका अनुसार २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र परेका सबै स्थायी तथा अस्थायी संरचना हटाउन थालिएको हो । प्रतिवेदनमा खोलाघर क्षेत्रभित्र करिब १६० वटा संरचना रहेको उल्लेख गरिएको छ । तीमध्ये सरकारी कार्यालय, प्रदेश प्रहरीका संरचना, सामुदायिक भवन तथा निजी आवाससमेत रहेका छन् ।

यसअघि महानगरले जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै जेठ ९ भित्र सम्बन्धित पक्षलाई आफ्ना संरचना स्वेच्छाले हटाउन आग्रह गरेको थियो । तोकिएको अवधि समाप्त भएपछि महानगरले डोजरमार्फत हटाउने प्रक्रिया अघि बढाएको हो ।

महानगरको सूचना सार्वजनिक भएपछि केही संघसंस्था तथा स्थानीय बासिन्दाले आफ्ना संरचना स्वयं हटाउन सुरु गरेका थिए । त्यसमध्ये फोटोग्राफर संघ, लायन्स क्लब तथा अन्य केही स्थानीयले स्वेच्छिक रूपमा संरचना हटाएको जनाइएको छ ।

नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुईजना पक्राउ

काठमाडौँ । रुपन्देहीमा नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलिले नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोवार हुने गरेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा प्रहरीले नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैँची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोट समेतका  सामानसहित  दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने अभियुक्तहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने  ३८ वर्षका अव्दुल हमिद र रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं‍‍. ११ मसिना बस्ने २२ वर्षका बिक्की भन्ने अनिल पासी रहेका छन् ।

सबै नोटमा ङ २५ ०२४९१२ नं. रहेको नक्कली नेपाली  पाँच सय दरको नोट ३०  थान, नेपाली रु. १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ नगरेको अवस्थामा रहेका नोट ७ थान बरामद गरेको छ । त्यस्तै नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको  सिपियु एक थान,  नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर एक थान, प्रिन्ट पेपर रिम चार थान, मोवाईल दुई थान र एउटा कैची पनि बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ।  

मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ । नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ ।

चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बसेको हो ।

बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ जना चिनियाँ प्रतिनिधिमण्डलको सहभागी थियो । चिनियाँ प्रतिनिधिमण्डलमा झोङ्बा काउन्टीका जनसरकारका उपकाउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, काउन्टीका सुरक्षा ब्युरोका वैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी र झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका पाँच जना कर्मचारीहरूको उपस्थिति थियो ।

नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीलगायतको उपस्थिति थियो । यसैगरी नेपाल–चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्टलगायतको उपस्थिति रहेको थियो ।

चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ बेपत्ता

बेइजिङ । उत्तरी चिनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ  ।  सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७:२९ बजे विस्फोट भएको थियो ।

 विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै  ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ । स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिह्न्वाले  आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ । 

राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित “सबै प्रयास“ गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ । उनले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । 

 यस अघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको  रिपोर्ट गरेको थियो । बेपत्ता रहेकाहरूका केहीको अवस्था “गम्भीर“ रहेको अघिल्लो रिपोर्टले जनाएको छ ।

भीमसेन थापा गाउँपालिकाद्वारा वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न अक्युपञ्चर सेवा सुरु

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेनथापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, “गाउँमा अक्युपञ्चर सेवाको सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएपछि उपचारका लागि अन्यत्र धाउनु पर्दैन । नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।”

जिल्लामा पहिलो पटक भीमसेनथापा गाउँपालिकाले अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र यो सेवा सुरु गरेको शाखा प्रमुख खनालको बताए। “स्थानीयस्तरमा आधुनिक चिकित्सा पद्धतिसँगै परम्परागत तथा वैकल्पिक उपचारको पहुँच विस्तार भएको छ”, उनले भने, “यसबाट अक्युपञ्चर विधिबाट उपचार गर्न चाहने जिल्लाभरका बिरामी लाभान्वित हुनेछन् ।”

स्वास्थ्य शाखा प्रमुख खनालका अनुसार विशेषगरी जीर्ण खालका जोर्नीको दुखाइ, मांसपेशीको दुखाइ तथा विभिन्न किसिमका नसा (स्नायु)सम्बन्धी समस्या भएका बिरामीका लागि यो सेवा अत्यन्तै उपयोगी हुनेछ । साथै पक्षघात (प्यारालाइसिस)जस्ता जटिल शारीरिक समस्या भएका बिरामीका लागि यो पद्धतिबाट उपचार गर्दा सहज हुने उनले बताए ।

‘रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छ’ :  मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् । हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन् । 

मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सृजना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन् । 

 बन्द उद्योगहरू सञ्चालनमा आए रोजगारीको अवसर सृजना हुने उल्लेख गर्दै मन्त्री यादवले कपडा उद्योग सञ्चालनका लागि आवश्यक तयारीमा सरकार जुटेको बताइन् । 

मन्त्री यादवले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगै रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको निरीक्षण गरिन् । सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगिता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराइन् । 

अमेरिकी सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठान छन् । 

कूल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगको रूपमा सञ्चालनमा छन् ।

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ । 

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो ।

स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडेलको यही जेठ ६ गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो । मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा एक हजार ४५९ संस्थाहरू समावेश छन् ।

सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारबाही अभियान सुरु गरेको छ । यही जेठ १ गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएकामध्ये ३२ जनालाई नेपाल प्रहरीले कारबाहीका लागि मुद्दा दायरको तयारी गरेको छ । 

वैदेशिक अध्ययनका क्रममा झुठो विवरण देखाइ कारोबार गर्ने, सरकारी निकायका छाप–लेटर प्याड अनधिकृतरूपमा बनाइ प्रयोग गर्ने, बिना दर्ता सञ्चालन भएकाजस्ता प्रकृतिका विकृतिप्रति निर्मम भएर कानुनी कारबाही अघि बढाइएको हो ।

शैक्षिक परामर्श क्षेत्रमा शुद्धीकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले शुद्धीकरणको अभियानमा आफूहरूको साथ रहने तर सबै व्यवसायीलाई त्रसित नबनाउन आग्रह गर्दै आएको छ ।