काठमाडौँ । धादिङको रुबीभ्याली क्षेत्रमा साइक्लिङका क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषको नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
काठमाडौँ महानगरपालिका-कपन निवासी ती पुरुष जेठ १० गते धादिङस्थित रुबीभ्याली गाउँपालिका-३ को सवालुंङ भीर क्षेत्रमा साइक्लिङ गरिरहेका बेला करिब २०० मिटर तल खसेर अड्किएको अवस्थामा फेला परेका थिए।
उद्धारका लागि नेपाली सेना अन्तर्गतको भैरव गण (बोरांङ) बाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीयवासीसँग समन्वय गरी उद्धार कार्य सञ्चालन गरेको जनाएको छ।
घाइतेलाई घटनास्थलमै प्राथमिक उपचार प्रदान गरिएको थियो। त्यसपछि करिब सात किलोमिटर दूरीसम्म स्ट्रेचरमार्फत बोकेर सुरक्षित स्थानमा पुर्याइएको र थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जनाइएको छ।
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान आवश्यक प्रक्रिया पूरा गरेका युवाहरूले आफूहरूलाई शीघ्र रोजगारीमा पठाउन माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गरी विभिन्न प्रशासनिक प्रक्रिया पूरा गरे पनि लामो समयसम्म कोरिया जान नपाएको गुनासो गरेका छन्। उनीहरूले “रोजगारको अधिकार सुनिश्चित गर”, “उत्तीर्णलाई शीघ्र कोरिया पठाऊ” लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदर्शनकारीहरूको भनाइअनुसार ईपीएस प्रणालीअन्तर्गत परीक्षा पास गरेर रोजगारदाताको सूचीमा समावेश भए पनि श्रम सम्झौता प्राप्त नहुनु, सीमित श्रम कोटा, प्रक्रियागत ढिलाइ तथा प्रशासनिक जटिलताका कारण ठूलो सङ्ख्यामा युवा प्रतीक्षामै रहेका छन्।
उनीहरूले कोभिड-१९ महामारीपछि श्रम आपूर्ति प्रक्रियामा थप समस्या उत्पन्न भएको उल्लेख गर्दै नेपाल र दक्षिण कोरिया बीचको श्रम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले भाषा तयारी, तालिम तथा कागजी प्रक्रियामा उल्लेख्य समय र आर्थिक स्रोत खर्च गरे पनि अपेक्षाअनुसार रोजगारीका लागि जान नपाएको बताएका छन्। साथै, श्रम कोटा वृद्धि, प्रक्रिया पारदर्शीकरण तथा छिटो श्रम स्वीकृतिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार सुनुवाइ हुँदैछ ।
यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । उक्त रिटमा आज दोस्रो सुनुवाइ हुन लागेको हो ।
देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय यादवबीच भेट भएको छ । सोमबार उपराष्ट्रपति यादवलाई भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानकाबीच आइतबार आफूले अमेरिकी वार्ताकारहरूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ निर्देशन दिएका छन् ।
“वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् ।
उनले सम्झौता गर्न हतार नगर्न भनेपछि अगाडि लेख्छन् “सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ।”
गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको औपचारिक तयारी सुरु गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गतेको निर्णयानुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचनसम्बन्धी कामहरूको समयसीमा तय गरेको हो।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी गरिएको सूचनाअनुसार महाधिवेशन तयारीका लागि ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठनदेखि प्रतिनिधि छनोटसम्मका कार्यहरू आगामी असार ५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सार्वजनिक कार्यतालिकाअनुसार, ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्न कार्य आगामी जेठ १५ गतेभित्र सक्नुपर्नेछ। यसका साथै, निर्वाचन कार्यालयले जेठ ७ गतेदेखि १० गतेभित्र सबै तहमा आधिकारिक परिपत्र तथा माइन्युटको प्रतिलिपि पठाइसक्नुपर्ने जिम्मेवारी पाएको छ।
पार्टीको तल्लो तहदेखिको प्रतिवेदन संकलनलाई पनि रास्वपाले प्राथमिकतामा राखेको छ। जेठ २० गतेभित्र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिसक्नुपर्ने र जेठ ३० गतेभित्र जिल्ला सभापतिहरूले जिल्ला अधिवेशन तथा निर्वाचनको अन्तिम प्रतिवेदन पेश गरिसक्नुपर्ने गरी समयसीमा निर्धारण गरिएको छ।
महाधिवेशनका लागि प्रतिनिधिको नामावली संकलनका लागि पनि आयोगले मिति तोकेको छ। जिल्ला र प्रदेश समितिले जेठ २५ गतेभित्र महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली केन्द्रमा पेश गरिसक्नुपर्नेछ। त्यस्तै, प्रदेश अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरूको विवरण आगामी असार ५ गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
रास्वपाले आफ्नो महाधिवेशनमा आधुनिक प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिने भएको छ। कार्यतालिकाअनुसार जेठ ७ गतेदेखि असार ५ गतेसम्मको अवधिमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग र यससम्बन्धी प्राविधिक पक्षमा केन्द्रमा आवश्यक छलफल र तयारी गरिने उल्लेख छ।
आयोगले सबै प्रदेश समितिका सभापतिहरूलाई आ-आफ्नो प्रदेशअन्तर्गतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी कार्यतालिकाअनुसार कार्य सम्पादन गर्न निर्देशन दिएको छ।
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। उनीहरूले पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउन, रोकिएको १२औँ महाधिवेशनको मिति तोक्न तथा संगठनलाई पुनः सक्रिय बनाउने माग अघि सारेका हुन्।
सांकेतिक विरोधका रूपमा गरिएको धर्ना कार्यक्रममा सहभागी विद्यार्थी नेताहरूले नेपाली काँग्रेसभित्र देखिएको गुट-उपगुट अन्त्य गर्दै संगठनात्मक एकता मजबुत बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संगठनात्मक प्रक्रियालाई समयमै अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
धर्नाका क्रममा पार्टी कार्यालयका विभिन्न स्थानमा प्लेकार्ड टाँसिएको थियो। ती प्लेकार्डमार्फत “पार्टी एकता पहिलो प्राथमिकता”, “१२औँ महाधिवेशन सुनिश्चित गर”, तथा संगठनलाई सक्रिय बनाउनुपर्ने जस्ता सन्देशमार्फत नेतृत्वलाई दबाब दिइएको थियो।
विद्यार्थी प्रतिनिधिहरूले संगठनभित्रको आन्तरिक विभाजनभन्दा माथि उठेर समग्र पार्टी संरचनालाई एकताबद्ध बनाउनुपर्ने धारणा राखेका छन्। साथै, लामो समयदेखि रोकिएको महाधिवेशन प्रक्रिया तत्काल अघि बढाएर युवालाई नेतृत्व तहमा प्रभावकारी भूमिका दिनुपर्ने उनीहरूको माग छ।
नेविसंघका कार्यकर्ताहरूले संगठनलाई लामो समयसम्म निष्क्रिय राख्नु उचित नहुने बताउँदै नियमित महाधिवेशनमार्फत संस्थागत सुदृढीकरण अपरिहार्य भएको बताएका छन्।
काठमाडौँ । जातीय विभेदका कारण समाजमा देखा परिरहेको संरचनागत असमानता, हिंसात्मक घटनाहरू तथा ऐतिहासिक रूपमा कायम रहँदै आएको उत्पीडनप्रति आपत्ति जनाउँदै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
जात व्यवस्था उन्मूलन मोर्चा नेपाल अन्तर्गत प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको समन्वयमा आयोजित उक्त प्रदर्शनमा देशका विभिन्न भागबाट आएका प्रभावित समुदायका सदस्य, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रदर्शनलाई सहभागीहरूले सामाजिक न्याय, समानता र मानवअधिकारका सवालसँग जोड्दै प्रतीकात्मक प्रतिरोध दिवसका रूपमा प्रस्तुत गरेका थिए। छ वर्षअघि रुकुम जिल्लाको सोतीमा प्रेम सम्बन्धका कारण भएको भनिएको घटनामा नवराज विकसहित छ जनाको मृत्यु भएको घटनालाई स्मरण गर्दै उक्त दिनलाई प्रतिरोध र न्यायको मागसँग जोडिएको उल्लेख गरिएको थियो।
प्रदर्शनकारीहरूले जातीय विभेदका कारण अन्तरजातीय सम्बन्धमै आधारित हिंसात्मक घटनाहरू दोहोरिनु गम्भीर चुनौती भएको भन्दै राज्य संरचनाभित्र विद्यमान विभेदकारी मानसिकता अन्त्य नभएसम्म लोकतान्त्रिक अभ्यास पूर्ण नहुने धारणा राखेका छन्।
विरोधका क्रममा सहभागीहरूले भूमिहीन दलित समुदायका लागि उपयुक्त जमिनको व्यवस्था, दलित विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा नि:शुल्क शिक्षाको सुनिश्चितता, र विगतका जातीय हिंसासम्बन्धी घटनाको छानबिन गर्न स्वतन्त्र तथा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।
काठमाडौँ । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर ‘लु’ का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ ।
भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ ।
दक्षिणी राज्य तेलंगानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ । त्यहाँका राजस्व मन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरे । कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी उपाय अपनाउन निर्देशन दिइएको छ ।
स्वास्थ्य विशेषज्ञका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन)गराउन सक्छ, जसले रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अंगहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ । तेलंगानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवतीलाई अत्यावश्यक नभएसम्म दिनको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ ।
काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छन् ।
‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आज आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफलमा उनले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिइन् ।
शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तरसम्बन्धलाई जोड्नुपर्ने उनको भनाइ थियो । “बेलायतको एक अभिष्ट शैक्षिक विकास हो । कसरी शिक्षामार्फत युवालाई अवसर सृजनामा सहयोग गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौँ ।,” उनले भनिन्, “नेपालमा बेलायती सम्बन्धनप्राप्त कलेज र बेलायतमा नेपालबाट पढ्न गएका विद्यार्थीका माध्यमबाट दुई देशको शैक्षिक सहकार्य र सम्बन्ध झल्किएकै छ । शिक्षाका अन्य क्षेत्रमा नेपालको नयाँ सरकारका प्राथमिकताका आधारमा सहकार्य बढाउन हामी तयार छौँ ।”