२०८३ जेष्ठ १८, सोमवार

मनोहरा सुकुम्वासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९:०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो । 

 प्रहरी उपरीक्षक खड्काले भने, “यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।”

यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुम्वासीले आक्रमण  गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए ।  

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपालञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडक खण्ड दिउँसो ३:३० बजेदेखि बन्द गराएको हो ।

वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।

वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गतसालको बाढी पहिरोले राग मार्गको रोशी तथा सिन्धुलीको नेपाल थोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपाल थोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गत साल असोजको बाढी पहिरोले चौकी डाँडा–नेपाल थोक सडक खण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल क्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

हिरासतमा मृत्यु प्रकरण छानबिन गर्न प्रहरीद्वारा समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी पत्रअनुसार घटनाको तथ्यगत र वस्तुनिष्ठ अनुसन्धानका लागि समिति गठन गरिएको हो।

पत्रअनुसार सिन्धुली जिल्ला, सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय दल बहादुर विकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो।

सोही क्रममा मिति २०८३ वैशाख ७ गते बिहान करिब ९:४५ बजे हिरासत कक्षको शौचालयमा उनले आफ्नै सर्टको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ।

उक्त घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा नेपाल प्रहरीको मानव स्रोत तथा प्रशासन शाखाका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रेम रेग्मी र सोही कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र सापकोटा सदस्य रहेका छन्।

प्रहरी प्रधान कार्यालयले उक्त समितिलाई तोकिएको जिम्मेवारीअनुसार घटनाको सूक्ष्म अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधि सभा अन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई रोकिएको छ। पूर्वनिर्धारित निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा पनि प्रक्रिया अघि नबढ्ने निर्णय भएको हो।

एक निर्वाचन समिति सदस्यका अनुसार आगामी मिति भने हालसम्म तय गरिएको छैन। सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास स्वरूप उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल तथा राजु कटुवाल रहेका छन्।

दलको नेतृत्व चयनलाई लिएर पार्टीभित्र शीर्ष नेताहरूबीच एकमत बन्न नसकेको देखिएको छ। सभापति गगनकुमार थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति विश्वप्रकाश शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई समर्थन गरेका छन्।

यसैबीच, समानुपातिक सांसद अर्जुननरसिंह केसीले सहमतिमा सहमति नजुटेमा आफू पनि प्रतिस्पर्धामा उत्रिने संकेत नेताहरूलाई दिइसकेका छन्। नेताहरूबीच आवश्यक सहमति बन्न नसक्दा आजका लागि तय गरिएको निर्वाचन प्रक्रिया अन्ततः स्थगित भएको हो।

सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, अन्तरिम आदेश माग

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गर्दै आएका सुकुमवासीहरूलाई हटाउने सरकारी निर्णयविरुद्ध जेनजी अधिकारकर्मीहरू र कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी मुख्यालय र काठमाडौं महानगरपालिकासहितका निकायलाई विपक्षी बनाइएको छ। निवेदकहरूले सुकुमवासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरेका छन्।

रिटमा भनिएको छ, ‘स्पष्ट निर्णय वा वैकल्पिक व्यवस्था बिना सुकुमवासीहरूलाई अचानक विस्थापित गर्नु न्यायसंगत हुँदैन। यदि यस्तो निर्णय भइसकेको छ भने त्यसलाई समेत खारेज गर्नुपर्नेछ।’

अधिवक्ताहरू तनुजा पाण्डे, सुशान्त नेपाली, अर्णव चौधरी, प्रज्वल विक्रम राणा, ओजस्वी भट्टराई, कविता राई, बिकास कुमार गुप्ता र कानूनका विद्यार्थी माजिद अन्सारीसहितको टोलीले रिट दायर गरेको हो। थापाथली क्षेत्रका एक बासिन्दा पनि निवेदनमा सहभागी छन्।

निवेदकहरूले हतारमा कुनै विकल्प नदिई सुकुमवासीहरूलाई हटाउने प्रयास मानवअधिकारको दृष्टिले अनुचित भएको दाबी गरेका छन्।

थापाथली बस्ती पुगे सांसद आरेन राई, सुकुम्वासीको पक्षमा रहने प्रतिबद्धता

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राई शुक्रबार थापाथलीस्थित सुकुम्वासी बस्ती पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका अनधिकृत बसोबास हटाउने तयारी गरिरहेका बेला उनले स्थलमै पुगेर बस्तीको अवस्था अवलोकन गरेका हुन्।

वैकल्पिक व्यवस्थाबिनै हटाउन खोजिएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरिरहेका समयमा सांसद राई त्यहाँ पुगेका थिए। उनले प्रभावित समुदायसँग भेटघाट गर्दै उनीहरूको माग र समस्या सुनेका थिए।

अवलोकनका क्रममा सांसद राईले सुकुम्वासी समुदायको अधिकार र हितका पक्षमा आफ्नो पार्टी उभिने बताएका छन्। अन्य दलहरूको धारणा आफूले प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट सुकुम्वासीका विषयमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘सुकुम्वासीको पहिचान दुरुपयोग भयो, व्यवस्थापन प्रक्रियामा सहयोग गर्नुस्’ : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले सुकुम्वासी तथा भूमिहीनको नाममा केही व्यक्तिहरूले गलत लाभ लिने प्रयास गरेको देखिएको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको छ। साथै सरकारले अघि बढाएको सुकुम्वासी व्यवस्थापन कार्यमा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएको छ।

प्रहरीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त व्यवस्थापन कार्यक्रम वास्तविक भूमिहीन तथा आवासविहीन नागरिकको सुरक्षित बसोबास, सम्मानजनक जीवन र अधिकार सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट गरिएको छ। वास्तविक लाभग्राहीको पहिचान गरी आवश्यक आवास तथा सेवा-सुविधा उपलब्ध गराउने लक्ष्य यस प्रक्रियाको रहेको उल्लेख गरिएको छ।

त्यस्तै, केही स्वार्थ प्रेरित व्यक्तिहरूले सुकुमवासीको नाम र अधिकारको दुरुपयोग गर्दै फाइदा उठाउने प्रयास भइरहेको पाइएको प्रहरीको भनाइ छ। यस्ता गतिविधिबारे सम्बन्धित समुदाय स्वयं जानकार रहेको पनि सन्देशमा उल्लेख छ।

यस्ता गलत अभ्यासका कारण वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू राज्यका सेवा-सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको दाबी गर्दै प्रहरीले समस्या लामो समयदेखि निरन्तर रहँदै आएको जनाएको छ।

प्रहरीले वास्तविक भूमिहीनहरूको पहिचानमा सहयोग गर्न र नक्कली दाबी गर्ने व्यक्तिहरूलाई पहिचान गरी व्यवस्थापन प्रक्रियालाई सफल बनाउन सबैलाई सहकार्य गर्न आह्वान गरेको छ।

नदी किनारका अनाधिकृत बस्ती हटाउन काठमाडौँ प्रशासनको अल्टिमेटम

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनार तथा सार्वजनिक प्रयोजनका जग्गामा बनेका अनधिकृत बस्ती र संरचना तत्काल खाली गर्न निर्देशन दिएको छ। प्रशासनले शुक्रबार साँझ ७ बजेसम्म स्थान खाली नगरे संयुक्त रूपमा हटाउने कारबाही अघि बढाइने जनाएको हो।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा सरकारी, सार्वजनिक तथा पर्ती जग्गामा निर्माण गरिएका घर टहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको छ। 

तोकिएको समय सीमाभित्र स्थान खाली नगरिए स्थानीय प्रशासन, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको समन्वयमा संरचना हटाइने उल्लेख गरिएको छ।

प्रशासनले कारबाहीका क्रममा भत्काइने संरचना वा त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिप्रति सम्बन्धित व्यक्तिहरू स्वयं जिम्मेवार रहने स्पष्ट पारेको छ।

सूचनामा नदीको प्राकृतिक बहाव अवरुद्ध हुने, सार्वजनिक आवागमनमा असर पर्ने तथा सहरी पूर्वाधार निर्माणमा बाधा पुग्ने गरी लामो समयदेखि बसोबास गर्दै आएका घर टहरा हटाउन लागिएको जनाइएको छ। 

यस्ता संरचनामा बसोबास गर्ने, भाडामा बस्ने वा व्यापारिक गतिविधि सञ्चालन गर्ने सबैलाई समयमै स्थान खाली गर्न प्रशासनले आग्रह गरेको छ।

भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह

तेहरान । इरान स्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सूचना जारी गरेको छ ।

 सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकहरूलाई आवश्यक समन्वय गरेर स्वदेश फर्कन  सल्लाह दिएको छ ।

 पछिल्लो समयमा भारत र इरानबिच केही उडानहरू सुरु भएको रिपोर्टहरूलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अवस्था सहज नभए सम्म इरान यात्रा नगर्न सल्लाह दिइएको जनाएको छ । क्षेत्रीय तनावका कारण हवाई क्षेत्र प्रतिबन्ध र परिचालन अनिश्चितताले इरानका लागि अन्तर्राष्ट्रिय उडानमा असर गरिरहेको दूतावासले जनाइएको छ ।

दूतावासले यस अघि अप्रिल-८ मा यस्तै सुझाव जारी गरी भारतीय नागरिकहरूलाई तुरुन्त इरान छोड्न आग्रह गरेको थियो । दूतावासले यात्रा गर्नु अघि दूतावाससँग आवश्यक समन्वय गर्नुपर्ने पनि बताएको छ ।

यस अघिको सुझावको निरन्तरता र हालैको घटनाक्रमको आधारमा इरानमा रहेका भारतीय नागरिकहरूलाई दूतावाससँगको समन्वयमा र दूतावासले सुझाएका मार्गहरू प्रयोग गरेर इरानबाट छिटो बाहिरिन आग्रह गरेको जनाइएको छ ।

मध्य पुर्वमा हालैका घटनाक्रमका बारेमा अन्तर–मन्त्रीस्तरीय कार्यक्रममा बोल्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले फेब्रुअरी-२८ देखि यस क्षेत्रबाट करिब १२ लाख १२ हजार यात्रु भारत आएको बताएका छन्  ।