२०८३ जेष्ठ १८, सोमवार

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । सप्तरीमा जगंली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर-६ मोहनपुर बस्ने ६६ वर्षीय यज्ञश्वर निरौलाको मृत्यु भएको हो ।

आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई राति ११: ४५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतक निरौलाको शव आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको  छ । 

निरौलाको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ । 

गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा आज पनि डोजर चलाइयो

काठमाडौँ । गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको थियो भने मनोहरा सुकुम्बासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा मन्त्रालयहरूको नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ जाँदै छन् ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन्। वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमानाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ताजा तरकारी भित्रिने गरेको छ। यहाँ दैनिक ‘क्यारिङ’ गर्ने साइकल चालकले ताजा तरकारी र फलफूल वीरगन्ज ल्याउने गर्छन्।

पर्सा र बारासँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरको नगवा, इनर्वालगायत खुला नाकाको फाइदा उठाउँदै साइकल चालकले दैनिक तरकारी तथा फलफूल भित्र्याउने गरेका छन्। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले खुला सीमानाकाबाट क्वारेन्टिन जाँचबिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा असर पार्ने भएकाले पनि नियन्त्रणमा लिनुपर्ने बताए।

‘खुला सीमानाकाको फाइदा उठाउँदै विभिन्न समूहले छपकैया, इनरुवा, विश्रामपुरलगायत स्थानबाट साइकलमार्फत दैनिक ठूलो मात्रामा तरकारी भित्र्याउने गरेका छन्’, उनले भने, ‘स्थानीय प्रशासन र सशस्त्र प्रहरीले त्यसमा ध्यान दिन जरुरी छ।’

वीरगन्जमा दैनिक साइकल चालकले बिहान सबेरैदेखि प्रतिसाइकलमा क्वारेन्टिन जाँचबिनै भारतीय तरकारी भित्र्याउने गरेका छन्। स्थानीय प्रशासन तथा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैनन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरेर क्वारेन्टिन जाँचमा योग्य भएका भएका तरकारी तथा फलफूलमात्र भित्र्याउन पाइने बताए। ‘क्वारेन्टिन जाँचबिनै ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन’, उनले भने, ‘कोही कसैले ल्याएका रैछन् भने आवश्यक अनुगमन गरेर नियन्त्रणमा लिइनेछ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटर गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्साको सीमा क्षेत्रबाट भन्दा पनि बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट क्वारेन्टिन जाँचबिनै तरकारी भित्रिएर वीरगन्ज बजारमा पुग्ने गरेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको रात्रिभोजमा गोली चल्याे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको रात्रिभोजमा गोली चलेको छ । राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा संवाददाताहरूसँग रात्रिभोजमा सहभागी भएका थिए । उक्त कार्यक्रम भइरहेको समयमा गोली चलेको हो ।

प्रहरीले गोली चलाउने सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रात्रिभोज चलिरहेको समयमा गोली चलेको आवाज आएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपति ट्रम्पलाई घेरा हालेर सुरक्षित रुपमा हलबाहिर निकालेका छन् । 

उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला बसेको स्थान बाहिर गोली चलेको थियो । त्यसलगत्तै उनीहरुलाई तुरुन्तै त्यहाँबाट बाहिर निकालिएको थियो।

प्रधानाध्यापकमाथि सांसद पोखरेलको व्यवहारप्रति शिक्षक महासंघको कडा आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले गृहजिल्लाका एक प्रधानाध्यापकमाथि गरेको व्यवहारप्रति नेपाल शिक्षक महासंघले कडा आपत्ति जनाउँदै निन्दा गरेको छ। महासंघले शनिबार विज्ञप्ति जारी गर्दै उक्त घटनाले शैक्षिक क्षेत्रको मर्यादा र स्वायत्ततामाथि आघात पुगेको ठहर गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८३ वैशाख १० गते ओखलढुंगाको सिजिदेम्बा–२ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार सांसद पोखरेलले विद्यालय हाताभित्र प्रवेश गरी प्रधानाध्यापक सन्तबहादुर मगरमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार प्रदर्शन गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, “हरेक पदाधिकारीको आफ्नै जिम्मेवारी र क्षेत्राधिकार हुन्छ। यस तथ्यलाई बेवास्ता गर्दै गरिएको यस्तो अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको छ।” महासंघले उक्त व्यवहारबाट जननिर्वाचित प्रतिनिधिको मर्यादा र विश्वाससमेत कमजोर भएको टिप्पणी गरेको छ।

महासंघले शिक्षा क्षेत्रलाई राजनीतिक दबाबमुक्त राख्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालयजस्तो संवेदनशील स्थलमा गरिने व्यवहार मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। साथै, यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।

वास्तविक सुकुम्वासीलाई दुई साताभित्र सरकारी अपार्टमेन्टमा राखिने

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ।

यस क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ। 

 यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठ टार बुद्ध चोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । तीमध्ये काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी छन् भने कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी छन । 

तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौँ  उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन्। यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ।

हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।

सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौँका विभिन्न होटेलहरूमा राख्ने तयारी छ।

हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ। 

वास्तविक सुकुम्वासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ । त्यस लगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ।

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् ।

साँझ परेपछि सुकुम्वासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्वासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बोतल प्रहार भएको जानकारी दिए ।  

उनले भने, “मनोहराका ८० प्रतिशत सुकुम्वासीले दिउँसै सामान लगिसकेका थिए, थापाथली र ग्रैह्रीगाउँको सुकुम्वासी बस्ती हटाएर डोजरसहितको टोली मनोहरा ल्याएपछि यहाँका संरचना भत्काउन थालिएको हो, प्रहरीले कुनै बल प्रयोग नगरी सामान सार्नेलाई सहयोग गर्दै घर भत्काउने क्रम सुरु भयो, पक्की घर भत्काउने क्रममा रातिको समयमा सुरक्षाकर्मीमाथि एकसाथ ढुंगा, इँटा र बोतल प्रहार भयो ।”

आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक  नवराज ढुंगानासहित ११ प्रहरी घाइते भएका छन् । त्यसैगरी, आक्रमणमा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । आइतवार बिहानैदेखि फेरि संरचना भत्काइने उनले बताए । 

मनोहरा सुकुम्वासी बस्तीमा ७७७ घर टहरा रहेका छन् । बस्तीका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घर भाडामा लगाइएका छन्, यहाँ सुरुमै टहरा बनाएर एक समूहले रु. तीन लाखदेखि रु. सात लाखसम्म तथा पक्की घर रु. १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी पनि टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामीजस्ता सुकुम्वासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।”

सुकुम्वासी बस्तीका बासिन्दासँग भाडा उठाउन कहीँ व्यक्ति नियमित आउने गरेका बताइएको छ । बस्तीका धेरैले भाडा तिर्ने गरेका छन् ।

५० हजार घुससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको छ।

लागुऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीलाई निमन्त्रणामा लिएको हो ।

आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा हिजो (शनिवार) नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।