२०८३ जेष्ठ १७, आइतवार

बालविवाहको चपेटामा मुगुका किशोरी: बाल्य अवस्था मै विहे, जिन्दगिभर पीडा

खड्क सुनार 

मुगु, ४ भदौं । मुगुको छायानाथ रारा नगरपालिका १४ बाम गाउँकी माघि बुढा ।

उमेरले ३० बर्ष पुगिन । १७ वर्षको उमेरमा बिवाह गर्नु भएका उनको अहिले दुई छोरा र दुई छोरी गरी ४ वटा बच्चाकी आमा भई सकिन् । 

बिगतका वर्षहरुमा ग्रामिण क्षेत्रहरुमा छोरीलाई पढ्न लेख्न गर्नु हुन्न भन्ने नराम्रो शिक्षाले उहाँको पढ्ने सपना अधुरै भयो । एकातिर सानै उमेरमा विहे गर्दा अहिले उनलाई विभिन्न प्रकारका शारीरिक समस्या झेल्नु परेको छ । 

उनी मात्रै होईनन् किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन् । १६ वर्षको उमेरमा विवाह गरेकी छायाँनाथ रारा नगरपालिका वडा नं १४ कि जसमा बढुवाल तीन वटा बच्चाकी आमा छिन् । दशक अघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या बर्तमान अवस्थामा पनि उस्तै छ । 

आधुनिकीकरणको नाममा सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाह बढ्दै गएको छ भने एकातिर घरमै आफू खुसी विवाह गर्नाले यो समस्या झनै बढ्दो छ ।

सानै उमेरमा विवाह गर्दा विभिन्न प्रकारका रोग संक्रमणले बेला बेला च्याप्ने गरेको उनी बताउँछिन् । ´सानै उमेरमा विवाह भयो, अहिले त्यसैको सजाय भोग्दैछु,’ उनी भन्छिन् । 

उनी १६ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी थिइन् । जसमा अहिले १९ वर्षकी भइन् । उनी सँग अहिले तीन वटा बच्चालाई जन्म दिएकी छन् ।  उनी भन्छिन्  `त्यतिबेला अल्लारे कच्चा दिमाग थियो, भागेर बिहे गरेँ । अहिले उमेर बढ्दै जाँदा थाहा हुँदैछ कति ठूलो गल्ती भयो ।´ सानै उमेरमा गरेको विवाहले सजाय भोग्नुपरेको उनी बताउँ छिन् । 

उमेर नपुग्दै विवाह गरेर गरेको गल्ती, अहिले त्यसैकै सजाय भोग्दैछिन् अहिले उनी । तल्लो पेट दुख्ने, हातघुडा दुख्ने, झमझमाउने, सेतो पानी बग्ने र हिड्दा पेट चस्किने । उनले भोगिरहेको समस्या हुन् यी ।

उनी भन्छिन, `त्यतिबेला बुवाआमाले गाली गर्नु भयो भन्दै विवाह गरे अहिले पछुतो लाग्छ । बुवाआमाले भनेको मानेको भए आज मैले यति धेरै समस्या झेल्नु पर्ने थिएन ।´

बालविवाह गरेकै कारण उनले बालअधिकार, शिक्षा र भविष्यका सपना सबै गुमाइन् । माथि उल्लेखित प्रतिनीधिमुलक पात्रका कथा केवल उनीहरुको पीडा होइन ।

यो कर्णालीका किशोरीहरूको प्रतिनिधित्व हो । जसको जीवनमा बालविवाहले पीडामाथी पीडा थुपारिएको छ । बालविवाह गरेकाहरुले पीडादायी स्वास्थ्य समस्या झेल्नु त परेकै छ । कयौँले ज्यान समेत गुमाए ।

छायाँनाथ रारा नगरपालिका वडा नं १४ नगरपालिकाकै ठुलो वडाले हेरिन्छ । वडा नं १४ का वडा अध्यक्ष जुन बहादुर खड्काका अनुसार बिगत ३ वर्षको तथ्यांक लाई हेर्दा सोही वडामा मात्र ६२ जनाले बालविवाह गरेको उल्लेख गरिएको छ । बाल विवाह न्युनीकरण गर्नको लागि वडा कार्यालयमा अनिवार्य रुपमा वडा सिफारिस बिना विवाह गर्न नपाउने रणनिति बनाएको वडा अध्यक्ष खड्काको भनाई छ ।  

लामो समय देखि कर्णालीका जिल्लाहरुमा कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) नामक संस्थाले युवा, महिला, बालबालिकालाई लक्षित गर्दै समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पाठेघर (आङ्ग) खस्ने समस्या, बालविवाह, छाउपडी प्रथाका बारेमा सचेतना दिन विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ । 

बालविवाह, छाउपडी प्रथाको भुमरीबाट बालबालिका, महिला र विशेष गरि युवा युवतीहरुलाई बाहिर निकाली उनीहरुको स्वास्थ्य, शिक्षा र वानी व्यवहारमा परिवर्तन ल्याइ देश तथा समाजका लागि सबल, सक्षम र स्वस्थ नागरिक बनाउनु यो अभियानको लक्ष्य तथा उद्देश्य रहेको सिडिएस–पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए।
  

आज यी स्थानमा वर्षाको बढी सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ४, बुधबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। 

महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, 

आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलागायत बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध: अमेरिकाले भन्यो

अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएकी छन्।

यसअघि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेकोमा भारतविरुद्ध गरिएको आर्थिक कारबाहीलाई जरिवाना वा ट्यारिफको रूपमा वर्णन गर्दै आएको थियो।

ट्रम्पले भारतमाथि ५० वटा कर लगाउने निर्णय गरेका छन्। यसमा २५ प्रतिशत पारस्परिक अर्थात् टिट फर ट्याट ट्यारिफ र रूसबाट तेल खरिद गर्दा २५ प्रतिशत जरिवाना समावेश छ।

गाजामा युद्धविराम र बन्धक रिहा गर्न हमास ‘सहमत’

गाजामा युद्धविराम र बन्धक रिहाइ गर्ने सम्बन्धमा क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमास सहमत भएको स्रोतले बीबीसीलाई बताएको छ।

यसै वर्षको शुरूतिर संयुक्त राज्य अमेरिकाले तयार पारेको एउटा प्रस्तावमै टेकेर इजिप्ट र इजरेलले नयाँ प्रस्ताव अघि सारेका हुन्।

विपिन ‘साहसी हिरो’ भन्दै बहिनी पुष्पालाई नेतान्याहुले सुनाए आफ्नै दाजु मारिएको व्यथा

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग मंगलबार पौने एक घण्टा भेट गरेका छन्। 

जेरुसेलमस्थित प्रधानमन्त्री कार्यालयमा बन्धक मामिलासम्बन्धी सल्लाहकार गार्ल हार्थलगायतको टोलीसँग प्रधानमन्त्री नेतान्याहुले मंगलबार दिउँसो भेट गरेका हुन्। 

विपिनको रिहाईका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री नेतान्याहुले नेपालको सबै मुलुकसँगको सुमधुर सम्बन्धको उपयोग गर्दै विपिनको रिहाईका लागि प्रयास गर्न सुझाव पनि दिएका छन्। 

केही अरब मुलुकको हमाससँग सम्बन्ध रहेको र ती मुलुकसँग नेपालको सुमधुर सम्बन्धको स्मरण गराउँदै नेतान्याहुले यस्तो सुझाव दिएका हुन्। 

पद्मा र पुष्पालाई नेतान्याहुको ‘नमस्ते’
प्रधानमन्त्री नेतान्याहुलाई भेट गर्न इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितका साथ विपिनकी आमा पद्मा र बहिनी पुष्पा प्रधानमन्त्री कार्यालय पुगेका थिए। 

उनीहरू त्यहाँ पुग्दा इजरायका लागि जापानी राजदूत कोइची ओविसी पनि प्रधानमन्त्री नेतान्याहुसँग भेटघाटका लागि प्रतिक्षारत थिए।
तर, प्रधानमन्त्री नेतान्याहुले विपिनकी आमा र बहिनीसँगको भेटघाटलाई प्राथमिकता दिएर जापानी राजदूतभन्दा पहिले भेटघाट गरेको राजदूत पण्डितले बताए। 

पण्डितका अनुसार पद्मा, पुष्पा प्रतीक्षारत रहेको राखिएको भेटघाट कक्षमा प्रधानमन्त्री नेतान्याहु ‘नमस्ते’ भन्दै प्रवेश गरेका थिए। कक्षमा प्रवेश गरेपछि नेतान्याहुले तीनै जनासँग हात मिलाए।

नेतान्याहुसँगको भेटका क्रममा पद्मा छोरा विपिनको तस्बिरसहित पुगेकी थिइन्। पद्माको हातमा विपिनको तस्वीर देखेपछि नेतान्याहुले त्यो तस्वीर आफूलाई दिन नेतान्याहुले आग्रह गरे, पुष्पाले दिइन्। 

विपिनको तस्वीर हातमा लिएपछि नेतान्याहुले त्यसलाई गहिरोसँग नियाले। ‘विपिन नभएको भए त्यसदिन हमासबाट त्यहाँ थप ८-१० जनाको ज्यान जान सक्थ्यो, तर विपिनले उनीहरूको ज्यान जोगाए’ विपिनको तस्बिर देखाउँदै नेतान्याहुले भने, ‘त्यसैले, विपिनसाहसी र वास्तविक हिरो हुन्।’ 

विपिनलाई उनले इजरायलीहरूले ‘रोल मोडल’ का रुपमा चित्रित गरेको समेत बताएका थिए। नेतान्याहुले विपिनको सुरक्षित रिहाईका लागि सरकार लागिरहेकोमा आश्वस्त गराए।

‘हमासले बन्धक बनाएका सबैजना इजरायलका लागि समान छन्,’ उनले भने, ‘बन्धकहरूलाई रिहा गर्ने सवालमा हामीले स्वदेशी-विदेशी भनेर भेदभाव गरेका छैनौँ।’

‘उहाँले दाजुको रिहाइका आफूहरूको तर्फबाट सक्दो प्रयास गरिरहेको बताउनु भएको छ’ प्रधानमन्त्री नेतान्याहुसँगको भेटघाट सकिनासाथ नेपालखबरसँगको कुराकानीमा बहिनी पुष्पाले भनिन्, ‘दाजुको रिहाइको प्रयासका लागि भ्रमणको प्रबन्ध गरिएकोमा हामी आभारी छौँ।’ 

नेतान्याहुले हमासको कब्जामा अझै ५० जना बन्धक रहेको उल्लेख गर्दै त्यसमध्ये मृत्यु भइसकेका बन्धकहरूबारे जानकारी रहेको बताएका थिए।

‘तर विपिनबारे त्यस्तो अन्यथा कुनै जानकारी प्राप्त भएको छैन’ उनको भनाइ थियो। 

नेतान्याहुले पुष्पासँग साटासाट गरे पीडा
नेतान्याहुसँगको भेटमा आमा पद्माले जसरी हुन्छ, आफ्नो छोरा विपिनलाई चाँडोभन्दा चाँडो मुक्त हुने वातावरण बनाइदिन नेतान्याहुसँग आग्रह गरेकी थिइन्। 

‘विपिनको कसैसँग शत्रुता थिएन, पढ्नका लागि भर्खर इजरायल आएको विद्यार्थीसँग शत्रुता हुने कुरा पनि थिएन,’ पद्माले भनेकी थिइन्, ‘कसैसँग शत्रुता नभएकाले विपिनलाई मुक्त हुने वातावरण बनाइदिनुहुनेछ भन्नेमा विश्वस्त छौँ।’

बहिनी पुष्पाले विपिन अपहरित भएपछि आफूहरू लामो समय केही पनि सोच्न सक्ने स्थितिमा नरहेको नेतान्याहुलाई जानकारी गराएकी थिइन्। 

‘दाजुको अपहरणको घटना भएपछि हामी लामो समय केही सोच्नसक्ने अवस्थामा थिएनौँ’ पुष्पाको भनाइ थियो, ‘त्यहीकारण बल्ल २२ महिनापछि साहस गरेर हामीहरू यहाँसम्म आइपुगेका छौँ।’

दाजु विपिन अपहरित हुँदा आफूले भोग्नु परेको पीडा पुष्पाले सुनाएपछि नेतान्याहुले पनि आफ्नो पीडाको पृष्ठभूमि पनि पुष्पाको जस्तै रहेको सुनाएका थिए।

उनका दाजु जोनाथन नेतान्याहु प्यालेस्टिनी अतिवादीहरूले युगाण्डाको एन्टेवे विमानस्थलबाट कब्जामा लिएका इजरायली बन्धकहरूलाई छुटाउन इजरायलले सन् १९७५ मा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा मारिएका थिए।

‘आफ्नो दाजुभाई मारिँदा वा वेपत्ता हुँदाको पीडा कस्तो हुन्छ, त्यो मलाई थाहा छ’ प्रधानमन्त्री नेतान्याहुले पुष्पासँग भने, ‘यस हिसाबले तपाइँका दाजु विपिन बेपत्ता हुँदा कस्तो पीडा भइरहेको छ, म सहजै बुझ्न सक्छु।’ 

राजदूत पण्डितका भनाइमा, नेतान्याहुले विपिनको रिहाइका लागि इजरायल र नेपालमात्र होइन, अन्य मुलुकहरूको समेत साथ आवश्यक रहेको उल्लेख गरेका छन्। सबैसँग सुमधुर सम्बन्ध रहेको नेपालले यसका लागि संयुक्त राष्ट्रसंघको मञ्च प्रयोग गर्न सक्ने सुझाव दिएका छन्। 

रासस र एएनआईबीच सहकार्य विस्तार हुदैं

काठमाडौँ, ३ भदौः राष्ट्रिय समाचार समिति (रासस) र भारतको प्रतिष्ठित समाचार एजेन्सी (एएनआई)बीच सहकार्यसम्बन्धी सम्झौता पुनरावलोकन गरी अद्यावधिक गर्ने विषयमा छलफल भएको छ । रासस केन्द्रीय कार्यालयमा आज रासस र एएनआईबीच समाचार आदानप्रदानलगायतका विषयमा छलफल भएको हो ।

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले पछिल्ला दिनमा गरेका संस्थागत सुधार र विकासका प्रयासबारे जानकारी गराउनुभयो । उहाँले राससको पुस्तकालयलाई पत्रकार, पत्रकारिता अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताका लागि गन्तव्य बनाउने उद्देश्यले स्तरोन्नतिको काम अगाडि बढाइएको बताउनुभयो । 

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न अनुरोध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको हो ।

गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णयानुसार, सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो ।

नेपालका सेता हिमाल कसरी काला हुँदैछन्?

हिमालहरू केवल चट्टान र बरफको थुप्रो मात्र होइनन्, ती हाम्रो आस्थाका प्रतीक, हाम्रो जीवनका जलस्रोत, हाम्रो पर्यटनका मेरुदण्ड हुन्। सेता हिमाल कालो हुँदै जानु केवल प्राकृतिक रूपान्तरण होइन, यो मानव लापरबाही र भविष्यको चेतावनी हो।

  • प्रकाश रेग्मी

मुक्तिनाथ पुगेका तीर्थयात्रीले पहिले टल्कने हिमाल देख्थे, गोसाइँकुण्ड जाने यात्रुले सेतो च्यादर ओढेका शिखरलाई नजिकैबाट नियाल्थे। तर, अहिले दृश्य बदलिएको छ, पहिले चाँदीजस्तो चम्कने ती हिमालहरूमा कालो दाग झन्-झन् ठाडिँदै गएको छ। आकाशतिरबाट चम्किनुपर्ने शृङ्खलाहरू अहिले विस्तारै काला चट्टानमा रूपान्तरण हुँदैछन्।

हिमालको यो परिवर्तनले एउटा गम्भीर प्रश्न उठाएको छ, नेपालका सेता हिमाल किन काला हुँदैछन्? उत्तर स्पष्ट छ – जलवायु परिवर्तन र कालो कार्बनको असमान खेल।

जलवायु संकट र हाम्रो योगदान

सन् २०२२ मा नेपालले जीवाश्म इन्धन प्रयोगबाट १.५८ करोड मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन गर्‍यो। यो विश्वको जम्मा उत्सर्जनको ०.०४ प्रतिशत मात्रै हो। सुनिँदा सानो लाग्छ, तर हाम्रो सानो योगदानले पनि हाम्रो हिमाललाई चाँडै पगाल्दै लगेको छ।

हिउँमा जमेको कालो कणले सूर्यको किरण अवशोषित गर्छ, जसले हिमाललाई अझ चाँडो पगाल्छ। यही कारण चम्कनुपर्ने हिमाल कालो हुँदै गएका छन्।

नेपालका उत्तरतिर रहेका पर्यटकका आकर्षणको स्रोत सेता टल्कने हिमालहरू पछिल्ला दिनहरूमा काला पहाडहरूमा परिवर्तन हुँदै गएको पाइन्छ। किन यस्तो परिवर्तन भइरहेको छ? सबैको एउटै उत्तर हुन्छ, जलवायु परिवर्तनको असर। जलवायु परिवर्तनको लागि हामी सधैं धनी र औद्योगिक देशहरूलाई जिम्मेवारीको भारी बोकाएर आफू पानीमाथिको ओभानो बन्ने गरेको कुरा यथार्थपरक तीतो-सत्य सम्झन्छौं।

सन् २०२२ को एक अध्ययन अनुसार नेपालले जीवाश्म इन्धनको प्रयोगबाट जम्मा १,५८,४७,३१० मेट्रिक टन (१ टन बरावर १००० किलोग्राम) कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो। यो मात्रा संसारको कुल उत्सर्जनको ०.०४१ प्रतिशत हो। यसरी हेर्दा यो मात्रा निकै कमजस्तो देखिन्छ। यो कार्बन डाइअक्साइड उत्सर्जनको मात्रालाई देखाएर अधिकांश विषय विशेषज्ञहरूका लेखमा औद्योगिक देशहरूले उत्सर्जन गरेको ग्रीन हाउस ग्यासको कारण हामीजस्तो गरीब र पहाडी देशहरूले जलवायु परिवर्तनका कारण हुने समस्याबाट प्रताडित भएको कुरा पढन पाइन्छ। तर भुल्न नहुने कुरा के हो भने हाम्रो देश नेपालले संसारको जम्मा भू-भागको जम्मा ०.०३ प्रतिशत भू-भाग मात्र ढाकेको छ भने कार्वन उत्सर्जनको मात्रा ०.०४१ प्रतिशत हो।

हिमालय पहाडहरू व्यापक हिउँ र बरफको आवरणका कारण मुख्यतया सेता देखिन्छन्, तर कालो क्षेत्रहरू पनि देखिन्छन्, विशेष गरी जहाँ हिउँ पग्लिएर हिउँले छोपेको भाग खुला हुन्छ। यसका अलावा हिमालयको वरपरको वायुमण्डलमा रहेको कालो कण कार्वन हिउँको माथिल्लो सतहमा जम्मा हुँदै जाँदा एक कालो तह बन्न गएको कुरा विभिन्न लेखहरूमा पढन पाइन्छ। यस कालो कार्बनले हिउँ र बरफमा विद्यमान सूर्यको किरणलाई परावर्तन गर्ने क्षमतालाई घटाउँदछ। अर्थात्, यसले बढी सौर्य विकीरण अवशोषित गर्छ र हिउँ पग्लने गतिलाई बढाउँछ। उक्त नयाँ कालो तहको निर्माणले एक ताप अवशोषित गर्ने तहको निर्माण हुन गएको छ। यो प्रक्रियाले नेपालको हिमालयको हिउँ झन्-झन् तीव्र गतिमा पग्लिरहेको छ र काला हिमाल बढ्दै गएका छन्।

कालो कार्बनको स्रोतहरू

इँटाभट्टाहरू

विशेष गरी पुरानो ऊर्जा प्रविधि प्रयोग गर्ने इँटाभट्टाहरू काठमाडौं उपत्यकामा र यसको वरपर, कालो कार्बन उत्सर्जनको प्रमुख स्रोत हुन्। मे ३ २०२० काठमाडौं पोस्टमा प्रकाशित चन्द्र कुमार मण्डलको लेख अनुसार नेपालमा १६०० जति इँटाभट्टाहरू सञ्चालनमा छन्। जसले २.२ मिलियन कार्बन डाइअक्साइड उत्सर्जन गर्दछन्। काठमाडौं उपत्यकामा जम्मा ८ प्रतिशतको हाराहारीमा इँटाभट्टाहरू छन्, जसले काठमाडौं उपत्यकाको कुल कालो कार्वन उत्पादनको ४० प्रतिशत पिएम १० प्रकारको कालो कार्वन उत्सर्जन गर्द्छन्। 

बायोमास र फोहोर जलाउने

नेपालमा कालो कार्बन (कण कार्वन) उत्सर्जनको एक महत्वपूर्ण स्रोत आवासीय इन्धन खपत हो। परम्परागत चुल्होमा ठोस बायोमास इन्धन (दाउरा, कृषि अवशेष, जनावरको गोबर) को व्यापक प्रयोगको कारणले कालो कार्बनको उत्सर्जन बढेको छ। खाना पकाउने, तताउने र फोहोर व्यवस्थापनको लागि काठ, कृषि फोहोर र अन्य बायोमास जलाउँदा पनि ठूलो मात्रामा कालो कार्बन निस्कन्छ। यो नेपालका धेरै भागहरूमा व्यापक रूपमा भइरहेको अभ्यास हो। एक अध्ययनका अनुसार नेपालमा सबै किसिमका घरायसी इन्धन (दाउरा, गोबर ग्यास, गुइँठा, मट्टितेल र अन्य) प्रतिव्यक्ति प्रतिदिन १.८ किलोग्राम उपयोग हुँदा प्रतिघर १४.२६ किलोग्राम कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको कुरा पनि उल्लेख गरिएको छ।

मोटर सवारी साधन

नेपालको सबै क्षेत्रमा अधिकांश यतायातका साधनले प्रयोग गर्ने इन्धन डिजेल र पेट्रोल नै हो। काठमाडौं उपत्यकामा यस्ता किसिमका  यतायातका साधनको अत्यधिक बाहुल्यता छ। त्यसैले, काठमाडौंमा सडक यातायातले कार्बन डाइअक्साइड उत्सर्जनमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ। सन् २०१९-२०२० को एक अध्ययनले अनुमान गरेको छ कि काठमाडौंको यातायात क्षेत्रले २९२,२६० घन मिटर इन्धन (डिजेल र पेट्रोल) खपत गरेर ९१४,३५२ टन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो। काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा केन्द्रित अर्को अध्ययनले सवारी साधनको आवागमनबाट ३१२,८८८ टन कार्बन डाइअक्साइड उत्सर्जन गरेको अनुमान गरेको छ। यी तथ्याङ्कहरूले सहरको कार्बन फुटप्रिन्टमा सवारी साधनको उल्लेखनीय प्रभावलाई प्रकाश पार्छ।

वन-डढेलो

नेपालमा वन डढेलो एक प्रमुख समस्याको रुपमा रहेको छ। सुख्खा मौसममा देशको दक्षिण भागमा उल्लेख्य मात्रामा वन डढेलोका घटना हुने गर्दछन्, जसले गर्दा उल्लेखनीय मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ। यसरी उत्सर्जन हुने कार्वनको मात्रा जम्मा ४९ करोड ५० लाख टनभन्दा बढी हुने अनुमान गरिएको छ। यी आगो लाग्ने दक्षिणी क्षेत्रहरू र संरक्षित क्षेत्रहरू छन्। यसले गर्दा जैविक विविधता खतरामा पर्छ र वायु प्रदूषणमा योगदान पुर्‍याउँछ। यस्तो किसिमको घटनाले स्थानीय हावामा कण पदार्थ र कार्बन मोनोअक्साइड जस्ता खतरनाक प्रदूषकहरू समावेश हुन्छन्। सामान्यतया कार्बन सिङ्कको रूपमा काम गर्ने वन क्षेत्रहरू आगो लाग्दाको समयमा र आगो लागिसकेपछि पनि कार्बन डाइअक्साइडको स्रोत बन्न सक्छन् भन्ने तथ्यले यसको प्रभावको मात्रालाई देखाउँदछ।

नेपालमा कालो कार्वन उत्सर्जन

२०७८ को जनगणना अनुसार नेपालमा रहेका ६६ लाख ६० हजार जम्मा घरधुरीमध्ये ५१ प्रतिशत अर्थात् झन्डै ३४ लाख घरपरिवारले दिनहुँ खाना पकाउनका लागि दाउरा प्रयोग गर्दछन्। ४४ प्रतिशतले एलपी ग्यास प्रयोग गर्दछन्। झन्डै ३ प्रतिशत गोवरका गुईढा प्रयोग गर्दछन्। जम्मा ०.५ प्रतिशतले मात्र बिजुलीको प्रयोग गरेको देखिन्छ। 

एक अध्ययनका अनुसार नेपालमा खाना पकाउनका लागि दाउरा प्रयोग गर्ने घरले औसत १२ किलोग्राम दाउरा प्रतिदिन प्रयोग गर्दछन्। यद्यपि, यसको मात्रा मौसम, भौगोलिक क्षेत्र तथा परिवार संख्याको आधारमा तलमाथि हुन्छ। सोही अध्ययनले प्रतिकिलोग्राम दाउराबाट ६ ग्रामदेखि ७८ ग्रामसम्म (दाउराको प्रकृति अनुसार) कालो कार्वन उत्सर्जन गर्दछ। यसरी हिसाब गर्दा नेपालमा प्रतिपरिवार ७२ ग्राम देखि ९३६ ग्राम (औसतमा ७२+९३६/२ = ५०४ ग्राम)  प्रतिदिन कालो कार्वन उत्सर्जन हुने देखिन्छ। 

नेपालमा ग्रामीण क्षेत्रका धेरैजसो घरपरिवारहरू खाना पकाउने र तताउने मुख्य इन्धनको रूपमा दाउरामा निर्भर छन्। परम्परागत चुलोमा दाउराको अकुशल जलनले बिसी (ब्ल्याक कार्वन) र अन्य प्रदूषकहरूजस्तै कण पदार्थ (पिएम), कार्बन मोनोअक्साइड र विभिन्न वाष्पशील जैविक यौगिकहरूको उच्च उत्सर्जन निम्त्याउँछ।

नेपालको परिवेशमा हेर्ने हो भने देशैभरि र बाह्रमास कण कार्वन उत्सर्जन हुने देखिन्छ। देशैभरिबाट घरायसी ऊर्जाको खपत प्रतिदिन १६९९ टन कार्वन उत्सर्जन हुने तथ्याङ्कले देखाउँदछ। देशभरि नै घरायसी ऊर्जाको रूपमा दाउराको प्रयोग हुने हुँदा यस्तो भएको हो। अपेक्षाकृत नेपालको उत्तर-पश्चिम भागमा कम अवादी भएकोले कम कालो कार्वन उत्सर्जन र दक्षिण भागको चितवन र नवलपरासीलाई छोडेर सबै भागमा अत्यधिक कालो कार्वन उत्सर्जन हुने देखिन्छ। चितवन जिल्लामा रहेका १,७९,१६७ घरधुरी मध्ये जम्मा ३२,८१४ घरले मात्र खाना पकाउँन र खाना तताउन दाउराको प्रयोग भएको कुरा तथ्याङ्कले  देखाउँदछ। नवलपुर र नवलपरासीमा क्रमश: ९३,८५० र ८२,७०९ घरमध्ये क्रमश: ३३,११८ र ३४,१६८ घरले मात्र दाउराको प्रयोग गरेको देखिन्छ। 

नेपालमा कार्बन न्यूनीकरण प्रविधि

इँटाभट्टाबाट हुने कार्वन उत्सर्जनलाई कम गर्ने तिनीहरूको आकार र आन्तरिक संरचनामा परिवर्तन गरेर कार्वन उत्सर्जन कम गर्न सकिन्छ। हालै विकसित भएका विधि (जिग्ज्याग भट्टी) सुरुङ आकार र गुम्बजको छाना भएका समानान्तर चेम्बरहरू बनाएर उत्सर्जन कम गर्न सकिन्छ। इँटा पोल्न प्रयोग गरिँदै आएको दाउरा र कोइलाको सट्टा नेपालमा प्रशस्त मात्रामा रहेको जलविद्युत सम्भावनालाई प्रयोग गरेर कार्वन उत्सर्जन नाटकीय रूपमा घटाउन सकिन्छ। 

कार्बन कर लागू गरेर, इँटा उत्पादकहरूलाई जीवाश्म इन्धनलाई महँगो बनाएर सफा प्रविधि र इन्धन अपनाउन प्रोत्साहित गर्न सकिन्छ। नेपालमा घरायसी ऊर्जा खपतबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गर्न बढ्दै गरेको जलविद्युत उत्पादनलाई प्रयोग गर्न उपभोक्तालाई प्रोत्साहन, सौर्य र बायोग्यास जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई प्रोत्साहन र परम्परागत खाना पकाउने विधिहरूबाट सुधारिएको चुलो जस्ता विकल्पहरुमा लैजान निजि र सरकारी तवरबाट काम गर्न जरुरी देखिन्छ। 

वन डढेलो कम गर्न जनचेतना नै सबैभन्दा आकर्षक र उपयोगी विधि हो। यसका अलावा जंगलको बीच-बीचमा बाटो निर्माण (फायर लाइन) गरी एकतर्फ लागेको आगो र्को क्षेत्रमा जान नदिन, वन संरक्षण कर्तालाई वन संरक्षण गर्ने काममा सहजता प्रदान गर्न र साथै आगो लागेको बेला आगो निभाउन उक्त बाटो ज्यादै उपयोगी हुन सक्छ।

सवारी साधनबाट हुने कार्वन कम गर्न प्रत्येक सवारी साधनको वार्षिक रूपमा कार्वन उत्सर्जनको मात्राको मापन गरेर मात्र नवीकरणको प्रक्रियामा समावेश गर्ने, कार्वन उत्सर्जनको मात्रा तोकिएको मात्राभन्दा बढी भएमा वहान नवीकरण गर्ने प्रक्रियामा बन्देज लगाउनेजस्ता प्रक्रियाहरू हाल सञ्चालनमा रहेका सवारी साधनका हकमा प्रभावकारी हुन सक्छन्। र, नयाँ सवारी साधनका लागि इलेक्ट्रोनिक सावारी साधन नै वढी प्रभावकारी हुन सक्छन्। 

हिमालहरू चट्टान र बरफको थुप्रो मात्र होइनन्, ती हाम्रो आस्थाका प्रतीक, हाम्रो जीवनका जलस्रोत, हाम्रो पर्यटनका मेरुदण्ड हुन्। सेता हिमाल कालो हुँदै जानु प्राकृतिक रूपान्तरण होइन, यो मानव लापरबाही र भविष्यको चेतावनी हो।

ट्रम्प पुटिन बार्तावाट झस्किएका जेलन्स्की जर्मन पुगे

किभ, २९ साउन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बुधबार जर्मन राजधानी बर्लिन पुगेका छन्, जहाँ उनले जर्मन चान्सलर फ्रेडरिक मर्जसँग प्रत्यक्ष वार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि युक्रेनी राष्ट्रपति जर्मन पुगेका हुन्, उनी सिंगो युरोपको समर्थन खोजिरहेका छन ताकी एक इन्च भुमी पनि रूसलाई दिनु नपरोस् भनेर उनले पहल लिने क्रममा उनी जर्मन पुगेको बताइएको छ। 

सो क्रममा, अन्य युरोपेली र अमेरिकी नेताहरूसँग डिजिटल बैठकहरूमा भाग लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने महत्वपूर्ण शिखर बैठकको पूर्वसन्ध्यामा यी कूटनीतिक गतिविधिहरु आयोजना गरिएको हो । ट्रम्पले युक्रेनले केही भुमी रूसलाई दिएर भए पनि शान्ति सम्झौता गर्नु पर्ने अभिब्यक्ति पछि झस्किएका जेलेन्स्की एका एक युरोप यात्रामा निस्केका हुन् ।  

जर्मन चान्सलर मेर्जले यस हप्ताको अन्त्यमा अलास्कामा ट्रम्प–पुटिन वार्ता हुनु अघि युरोप र युक्रेनको आवाजलाई एकताबद्ध गर्ने प्रयासमा शृंखलाबद्ध बैठकहरूको लागि आह्वान गरेका छन्। जर्मन सरकारका प्रवक्ता स्टेफान मेयरले वार्ताको उद्देश्य युरोपेली देशहरूको अडानलाई स्पष्ट र बलियो ढंगले अगाडि बढाउनु रहेको बताएका छन । 

जेलेन्स्कीले पहिले युरोपेली नेताहरूसँग छलफल गर्नेछन्, जसको करिब एक घण्टापछि ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग डिजिटल भेट हुने जनाइएको छ । युक्रेनी राष्ट्रपतिले अलास्का बैठक अघि आफ्नो सरकारले साझेदार देशहरूसँग ३० भन्दा बढी चरणको वार्ता गरेको बताए। यद्यपि, उनले पुटिन वास्तवमा युद्ध अन्त्य गर्न गम्भीर रहेकोमा शंका व्यक्त गरेका छन्  ।

‘यस क्षणसम्ममा त्यहाँ कुनै संकेत छैन कि रूस युद्ध समाप्त गर्न तयार छ। हामीले हाम्रा सहयोगीहरूसँग मिलेर रुसलाई शान्तिको लागि बाध्य पार्न काम गर्नुपर्छ,’ जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन् । 

सोही शैलीमा ट्रम्पले पनि पुटिनले वास्तवमै शान्ति वार्तालाई गम्भीरतापूर्वक अगाडि बढाउन चाहन्छन् कि भनेर हेर्न चाहेको बताएका छन्। सो कुरा बार्ता सुरू भएको २ मिनेटमा थाहा हुने पनि उनले जनाएका छन् ।

यद्यपि, युक्रेनले युद्ध अन्त्य गर्न रुसको नियन्त्रणमा रहेका केही क्षेत्रहरू त्याग्नु पर्ने हुन सक्ने भनेर ट्रम्पले बताए पछि युरोपेली नेताहरूलाई पनि आक्रोशित बनाएको छ । 

युरोपेली देशहरूले भने पुटिनसँग हुने कुनै पनि सम्झौतामा युक्रेनको प्रत्यक्ष सहभागितामा जोड दिइरहेका छन्। यदि युक्रेन र युरोपको सहभागिता बिना वार्ता भयो भने पुटिनले एकतर्फी रियायतहरू दिन सक्छन्, जसले शान्ति सम्झौतालाई रूसको पक्षमा झुकाउनेछ भन्ने डर छ।

जेलेन्स्कीले यो पनि स्पष्ट गरेका छन कि युक्रेनले आफ्नो नियन्त्रणमा रहेको कुनै पनि क्षेत्र दिने छैनन् किनकि यो असंवैधानिक मात्र होइन भविष्यमा रुसी आक्रमणको लागि बाटो पनि खोल्नेछ। उनले अमेरिका र युरोपलाई सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका छनर वार्तामा युरोपको सहभागितालाई कुनै पनि शान्ति योजनाको मुख्य भाग बनाउनु पर्छ भनेर जोड गरिरहेका छन् ।