२०८३ जेष्ठ १७, आइतवार

उखु किसान आन्दोलनमा लोसपाको ऐक्यबद्वता

काठमाडौं, ११ भदौं । उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलन प्रति  एक्यवद्धता  जनाउन लोकतान्त्रिक समाजवादी पार्टी  नेपालका प्रतिनिधि माईतीघर पुगेका छन् ।

मधेश प्रदेश अध्यक्ष  एवं  पुर्व मन्त्री जितेन्द्र  सोनल,  रामप्रकाश  चौधरी, उपाध्यक्ष  श्याम गुप्ता, महासचिव  डा. सुरेन्द्र कुमार झा लगायत माईतीघर पुगेका हुन्। 

शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको सचिवत्रयलाइ निर्देशन

काठमाडौं, ११ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ।

मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो।

सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए। कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

“बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ, सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको छ,” मन्त्री खड्काले भने । उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक हप्तामा प्रगति मूल्याङ्कन गर्ने योजना पनि अघि सारे ।

मन्त्री खड्काले अन्तरमन्त्रालय तथा मन्त्रालयभित्रका विभागीय समन्वयलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै समयमै काम सम्पन्न गर्न प्रतिबद्ध हुन निर्देशन दिए । “देश बनाउने जिम्मा हामी सबैको हो। क्षमताको पूर्ण सदुपयोग गर्दै परिणाम निकाल्नुपर्छ,” उनले भने ।

यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऊर्जा मन्त्री खड्काबीच पनि आगामी वर्षको कार्यसम्पादन सम्झौता भएको थियो।

मूल्याङ्कन प्रतिवद्धतामूलक हुने भएकाले कामको प्रत्यक्ष परिणाम देखिनेगरी अघि बढ्नुपर्ने सिंचाई सचिव सरीता दवाडीले बताए । उनले शतप्रतिशत प्रगतिलक्ष्य हासिल गर्ने दृढता व्यक्त गरे ।

त्यस्तै सचिव दिनानाथ मिश्रले पनि सम्झौतामा उल्लेखित लक्ष्य कार्यान्वयन गर्दै संस्थाको उद्देश्य पूरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख र विभागीय महानिर्देशकहरूले पनि आफ्ना-आफ्ना क्षेत्रसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका थिए।
 

संख्याको तागत बिबेक भन्दा ठूलो भए पछि हाम्रो संघर्षलाई कठिन बनायो: प्रचण्ड

काठमाडौं, ११ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एंव गणतन्त्र नेपालको जननिर्वाचित प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित “संघर्षमा सिरानचोक” पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

“यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो। संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,” उनले भने । 

अध्यक्ष प्रचण्ड ले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष प्रचण्डले प्रत्येक पालिका र वडा स्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा संकलन गरेर एउटा ठूलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताए।

“नवराज जीले गर्नुभएको यो कार्य प्रेरणादायी छ। यो अभियान ७५३ पालिकामा विस्तार हुनु जरुरी छ। यसले गणतन्त्रका लागि योगदान गर्ने कांग्रेस, एमाले, माओवादी वा जुनसुकै दलसँग सम्बन्धित सहिद र योद्धाहरूलाई समान सम्मान गर्ने बाटो खोल्छ,” उनले भने ।

अध्यक्ष प्रचण्डले यस अघि प्रज्ञा प्रतिष्ठानमा माओवादी जनयुद्ध सं ग सम्बधित कृतिहरूलाई गरिएको विभेद पछिल्लो समय सच्चिएको उल्लेख गरे  । उनले भने, ‘माओवादी जनयुद्धलाई अछुतको रूपमा होइन, इतिहासको महत्वपूर्ण अंगका रूपमा मान्यता दिने प्रयास सुरु भएकोमा धन्यवाद। ‘ उहाँले जनयुद्धलाई साहित्य, दर्शन र संस्कृतिको दृष्टिमा समेत मौलिक सौन्दर्य र ऐतिहासिक योगदान भएको भन्दै यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए।

“जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ। तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ,” उनले स्पष्ट पारे।

उनले नेपाली जनयुद्धको तयारी केवल मार्क्स, एंगेल्स, लेनिन, माओका ग्रन्थ पढेर नभई नेपालकै विगतका विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा गरिएको स्मरण गरे।

 “लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो। त्यसैले जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि दबिएन, जनताले निरन्तर साथ दिए,” उनले भने।

प्रचण्डले माओवादी आन्दोलनको मानवीय पक्षलाई विशेष गरी स्मरण गर्दै युद्धका क्रममा कतिपय कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रहेको उल्लेख गरे । उनले विभाजन र अन्तरद्वन्द्वका कारण आन्दोलनको महत्त्वपूर्ण उपलब्धिहरू जनतामाझ पूर्णरूपमा स्थापित गर्न नसकिएको स्वीकार गर्दै गणतन्त्रले ल्याएको परिवर्तनलाई संस्थागत गर्न परिवर्तनको आन्दोलन जनयुद्वलाई सही मूल्याङ्कन गर्न आवश्यक रहेको बताए।

“यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो। संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,” उनले भने ।

अध्यक्ष प्रचण्डले  पुस्तक “संघर्षमा सिरानचोक” सिरानचोकको इतिहास मात्र नभई देशभरिका विद्रोह र त्याग–तपस्याको सामूहिक अभिलेखका रूपमा लिनुपर्ने उल्लेख गर्दै, “यो पुस्तकले विद्रोह र त्याग को इतिहास लेखनको नयाँ उद्घाटन गरेको छ। सबैलाई एकतावद्ध गरेर अराजकता र बेथितिविरुद्ध लड्ने प्रेरणा दिन्छ,” भन्दै लेखक गुराँस पुडासैनीलाई धन्यवाद दिए।

रबिको मुद्दामा कैफियत प्रतिबेदन माग गरियो

बुटवल, ११ भदौं । उच्च अदालत तुल्सीपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । 

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले लामिछानेको सबालमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

सभापति लामिछानेको सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा दिएको बिगो बुझाएर रिहा गर्न मागसहितको निवेदनमा रिहा गर्न अस्वीकार गरे पछि सो आदेशको विरुद्ध उच्च अदालत बुटवलमा निवेदन दायर गरे पछि यो आदेश आएको हो ।

गत साउन २६ गते जिल्ला अदालत, रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो ।

लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

नेतान्याहुले गरे गाजाँमा १९२ पत्रकारको हत्या, १८९ प्यालेस्टाइनी मात्रै

काठमाडौं, ११ भदौं । हमास निमिट्यान पार्ने भन्ने अभियानमा लागेको इजरायलले अहिलेसम्म १९२ पत्रकारको हत्या गरेको छ । 

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार बितेका २२ महिना लामो इजरायल–हमास युद्धमा कम्तीमा १९२ पत्रकार मारिएका छन्, जसमध्ये १८९ प्यालेस्टाइनी मात्रै रहेका छन्।

इजरायलले सोमबार गाजाको एक अस्पतालमा हवाई आक्रमण गरेको थियो, सो आक्रमणमा ५ पत्रकारसहित २० जनाको मृत्यु भएको थियो । सो अस्पतालमा लगातार दुई हमला भएको थियो, जसमा पत्रकारहरूले आक्रमणको कभरेज गरिरहेका देख्दा देख्दै इजरायलले सो हमला गरेको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतले सो घटनाको आलोचना गरे पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनालाई दुःखद दुर्घटना भन्दै माफी मागेका छन् ।

नेतान्याहुले इजरायलले पत्रकार, चिकित्साकर्मी र सबै नागरिकको कामको कदर गरेको र सेनाले घटनाको अनुसन्धान गरिरहेको जिकिर गरेका छन् ।

साथै, इजरायली सेनाले पनि आफ्नो गल्ती स्वीकार गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एफी डेफ्रिनले भने, ‘हामीलाई यो घटनाबारे जानकारी छ। आइडीएफले जानाजानी नागरिकहरूलाई लक्षित गर्दैन।’ 

इजरायलले दावी गरे पनि अहिलेसम्म संयुक्त राष्ट्रसंघका अनुसार गाजामा इजरायली हमलामा चिकित्सा पेशासँग सम्बन्धित १ हजार ५ सयभन्दा बढी व्यक्तिको हत्या गरिएको छ।

आजवाट अमेरिकामा भारतीय समानमाथी ५० प्रतिशत भन्सार कर लाग्ने

वासिङटन डिसी, ११ भदौं । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ । 

अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए ।

ट्रम्पले अगस्ट ७ बाट भारतमा व्यापार घाटाको कारण २५ प्रतिशत कर लगाएका थिए अर्थात् अब अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर ५० प्रतिशतसम्म हुनेछ ।

मंगलबार जारी आदेशमा भनिएको छ, ‘भारतबाट आउने सामानमा यो कागजातको सूचीमा उल्लेख गरिएको महसुल लागू हुनेछ । यी चीजहरू या त प्रयोगको लागि अमेरिका ल्याइनेछ वा प्रयोगको लागि गोदामबाट बाहिर निकालिने छ। यो नियम अगस्ट २७ अगस्टमा राती १२ः०० बजे देखी लागू हुनेछ।’

यसवाट प्रभावित हुने उद्योगहरू धेरै रहेका छन् । मुख्यतयाः ट्रम्पको ट्यारिफले गहना, कपडा, अटो, समुद्री खाना क्षेत्रका उद्योगहरूको नाफा घटाउन सक्छ। अमेरिकासँग व्यापार सम्झौता नगरिए वा भन्सार नघटाए ४८ अर्ब २ करोड डलरको निर्यातमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् ।

यो अमेरिकी शुल्कले आईटी, औषधि र इलेक्ट्रोनिक उद्योगहरूलाई भने असर गर्दैन। हाल इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएको छ। यो घोषणा नभएसम्म एप्पल, सामसुङ जस्ता स्मार्टफोनको अमेरिका निर्यातमा कुनै असर पर्ने छैन।

फार्मामा हालको ट्यारिफ शुन्य प्रतिशत हो । तर, ट्रम्पले १८ महिनामा १५० ट्यारिफ र पछि २५० ट्यारिफ लगाउने धम्की दिएका छन्। यो लागू नभएसम्म छुट जारी रहनेछ। आईटी उद्योग सेवा क्षेत्रको एक हिस्सा हो, त्यसैले यो पनि यो ५० प्रतिशत ट्यारिफको दायरामा आउँदैन।

एनबीसी रिपोर्टका अनुसार भारतबाट अमेरिकामा सबैभन्दा बढी निर्यात हुने गरगहना, कपडा, मेसिनरी र रसायन हुन्। ५० प्रतिशत ट्यारिफका कारण अमेरिकामा यी वस्तुहरू महँगो हुनेछन् र त्यहाँबाट अर्डरहरू घट्नेछन्।

कम अर्डरको कारण कम्पनीहरूले आफ्नो उत्पादन घटाउनु पर्नेछ, जसले लेअफ निम्त्याउन सक्छ। यसको मतलब यी क्षेत्रहरूमा रोजगारी गुमाउने खतरा छ। तर, कुन क्षेत्रबाट कतिको रोजगारी गुम्छ भन्ने अनुमान गर्न अझै गाह्रो छ ।

इस्लामिक सहयोग संगठनले भन्यो, ‘राष्ट्र संघले इजरायलको सदस्यता खारेज गर्नुपर्छ’

रियाद, ११ साउन । इस्लामिक सहयोग संगठन (ओआईसी) का विदेशमन्त्रीहरुको बैठक साउदी अरेबियाको जेद्दाहमा भएको छ । 

ओआईसीका ५७ सदस्य राष्ट्रले संयुक्त राष्ट्रसंघमा इजरायलको सदस्यता खारेज गर्न माग गरेका छन् । यी देशहरूले इजरायलले सदस्यताका शर्तहरू उल्लङ्घन गरिरहेको बताएका छन्।

ओआईसीका विदेश मन्त्रीहरूले इजरायलको गाजा कब्जा र पूर्ण सैन्य नियन्त्रणको घोषणाको विरोध गरेका छन्। यी देशहरूले अर्को सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको सुरक्षा परिषद्लाई विशेष सत्र आयोजना गर्न माग गरेका छन्।

ओआईसीले ग्रेटर इजरायलको अवधारणाको विरोध गरेको छ । यी भनाइहरूलाई देशको सार्वभौमसत्तामाथिको उत्तेजक र आक्रमणको रूपमा वर्णन गरिएको थियो। संगठनले यस्ता अभिव्यक्तिले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन गरेको बताएको छ । तिनीहरू क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिको लागि गम्भीर खतरा पनि छन्।

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, ११ भदौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरू र तराईको एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

आजको राशिफलः २०८२ भदाैं ११ गते बुधवार

आजको राशिफलः २०८२ भदाैं ११ गते बुधवार, ई.सं २०२५ अगस्त २७, नेपाल सम्बत ११४५ ञलाथ्वा चतुर्थी,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल चतुर्थी, पञ्चाङ्गः शुभ विष्टि/भद्रा हस्ता, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः बब, योगः शुभ । आज गणेश चतुर्थी तथा राष्ट्रिय धर्मसभा दिवस पनि हो । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खिर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ११ मिनेट देखि ८ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्ने छ । आफू स्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्‌न सक्दैनन् । विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमीरप्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्ररउपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ । कुनै प्रस्तावउपर विचाररविमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । फुर्सद निकालेर घरपरिवार सम्पर्क गर्ने वा फोनमै भए पनि विचाररविमर्श गर्ने दिन हो । नवीन रोजगारी वा व्यापारको योजना छ भने काम थाल्नु उचित हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँकेरताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्‌नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।   

नेपाल प्रहरीमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न

काठमाडौं, ८ भदौं । प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना–२०८० तथा आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सम्पन्न भएको सो सम्झौतामा प्रहरी महानिरीक्षक थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिले हस्ताक्षार गरेका छन् ।

कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। सुन्दर प्रसाद ह्योजु, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मा रहेका छन ।

यसैगरी, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धि बिक्रम शाहबीच पनि हस्ताक्षर भएको छ ।

र, प्रहरी महानिरीक्षक दिपक थापा र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबीच भएको वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको बताए ।

आज सम्पन्न भएको कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न सबै जना एकजुट भएर शुरू समयदेखि नै कटिबद्ध भएर लाग्नुपर्ने उनले जनाएका छन् । प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण गर्न तथा उद्देश्य हासिल गर्न कार्ययोजनामा रहेका सम्पूर्ण लक्ष्य प्राप्ति अत्यन्त जरूरी रहेको विचार व्यक्त गर्दै प्रहरी सेवालाई चुस्त दुरूस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले नेपाल प्रहरी कार्ययोजना,२०८० तथा आर्थिक वर्ष २०८१र०८२ को कार्यसम्पादन सम्झौता प्रगति समीक्षा सम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।