२०८३ जेष्ठ १८, सोमवार

सर्वोच्चको फैसलापछि पार्टी छाड्ने निर्णय नगर्न धनराज गुरुङको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति धनराज गुरुङले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनु नै उपयुक्त बाटो हुने बताएका छन्।

नेतृत्व तहमा देखिएका पछिल्ला राजनीतिक गतिविधिका बीच उनले पार्टी परित्याग गर्ने कुनै पनि कदम गलत हुने भन्दै त्यसतर्फ नजान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

शेखर कोइराला निकट मानिने गुरुङले आफ्ना पक्षीय नेताहरूसँग छुट्टै छलफलसमेत गरेका थिए। पूर्वसभापति शेरबहादुर देउवा पक्षीय बैठकमा उनी सहभागी नभएको र कोइराला विराटनगरमा रहेकाले सो छलफलमा अनुपस्थित रहेको जनाइएको छ।

आफू निकट नेताहरूसँगको छलफलपछि उनले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै अगाडि बढ्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत केही नेताहरूले पार्टी परित्यागको घोषणा गरिरहेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले त्यसप्रति असहमति व्यक्त गरेका छन्।

गुरुङका अनुसार लामो समयको योगदान रहेको राजनीतिक दल छाड्नु व्यक्तिगत रूपमा गम्भीर भूल हुने भएकाले त्यस्तो कदम नचाल्न र पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित गर्न उनले आग्रह गरेका छन्।

गृहमन्त्रीसँग जोडिएको व्यावसायिक साझेदारीबारे तत्काल आधिकारिक धारणा सार्वजनिक गर्न लिङदेनको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङ र विवादास्पद व्यवसायी दीपक भट्टबीचको कथित व्यावसायिक साझेदारीबारे सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्युरेन्स कम्पनीमा गृहमन्त्रीको नाममा सेयर रहेको भन्दै सार्वजनिक भएका कागजातपछि विषय थप संवेदनशील बनेको उल्लेख गर्दै लिङदेनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई स्पष्टीकरण दिन आग्रह गरेका हुन्।

काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले सुशासनको प्रतिबद्धता व्यक्त गर्ने सरकार स्वयं विवादित विषयमा मौन बस्नु उचित नहुने टिप्पणी गरे। उनका अनुसार यस्ता प्रश्नहरूमा पारदर्शी उत्तर नदिँदा सरकारप्रतिको विश्वास कमजोर हुने अवस्था सिर्जना हुन्छ।

लिङदेनले सरकारले देखावटी शैलीमा मात्र काम गरिरहेको आरोप लगाउँदै राज्य सञ्चालन प्रक्रियामा गम्भीरता आवश्यक रहेको बताए। उनले अनधिकृत संरचना हटाउने नाममा अपनाइएका कदमले जनतामा असहजता र त्रासको वातावरण सिर्जना गरेको दाबी पनि गरे।

त्यसैगरी, वर्तमान राज्य संरचनामा वैकल्पिक राजनीतिक तथा संस्थागत बहस आवश्यक रहेको उल्लेख गर्दै उनले राजसंस्थालाई राष्ट्रको अभिभावकीय भूमिकामा पुन:स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका क्रममा उनले निर्वाचनमा पार्टीलाई अपेक्षित सहयोग नगर्ने नेता तथा कार्यकर्तामाथि संगठनात्मक कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

समिति बैठकमा दलको प्रभाव नदेखाउन सभापतिहरूलाई सभामुख अर्यालको निर्देशन

काठमाडौँ । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले सोमबार सभामुख डोलप्रसाद अर्यालसँग सामुहिक भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनीहरूले एकसाथ भेट गरेका हुन्।  

भेटमा सभामुख अर्यालले मिनि संसदको रुपमा रहने संसदीय समितिहरुलाई प्रभावकारीरुपमा अघि बढाउन सभापतिहरुलाई निर्देशन दिए। दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका कामकारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले संघीय संसद सचिवालय र आफु सधैं सहयोगका लागि तत्पर रहेको आश्वास दिए।  

समिति सभापतिहरुले पनि आफुहरुले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। पुराना असल अभ्यासहरुलाई निरन्तरता दिँदै नविन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिविधिहरुलाई अघि बढाउने उनीहरुको भनाइ थियो।  

यस अवसरमा प्रतिनिधि सभाका १० र संयुक्त २ गरि १२ वटा समितिका सभापतिहरुको उपस्थिति रहेको थियो।

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले आज दिउँसो ३:०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए। 

उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो ।

बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ ।  

आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । अक्षय तृतीया पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

पशुपतिनाथलगायत देशभरका शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउँदै छन् । आज सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा यत्तिकै भक्तजनको घुइँचो हुने गरेकामा अक्षय तृतीया पर्व पनि परेकाले भक्तजनको लर्को लागेको हो ।

बिहानैदेखि भक्तजनको घुइँचो भएकाले पशुपति क्षेत्रमा आज दर्शनार्थीका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रका धेरै स्थानमा सातु सर्वत खाने व्यवस्था पनि मिलाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । अक्षय तृतीयाका दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो । 

विवादित व्यापारी दीपक भट्टसँग साझेदारी बहस तीव्र: गृहमन्त्री गुरुङमाथि छानबिन माग, दलभित्र छलफल जारी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङमाथि व्यवसायिक साझेदारी र सम्पत्ति विवरणसँग सम्बन्धित विषयलाई लिएर विवाद चुलिँदै गएको छ । गृहमन्त्री बनेको एक महिना नपुग्दै उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपलगायतसँग व्यवसायिक साझेदार रहेको विषय सार्वजनिक भएपछि बहस तीव्र बनेको हो ।

यसै सन्दर्भमा बिचौलिया दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङ संस्थापक सेयरधनी रहेको विवरण सार्वजनिक भएको छ । उक्त इन्स्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा उनको नाम रहेको र उनले करिब २५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको देखिएको छ ।

२०७९ सालमा लाइसेन्स पाएको उक्त लघु बीमा कम्पनीमा इन्फिनिटी होल्डिङ्स, जगदम्बा ग्रुप तथा शंकर ग्रुपलगायतका व्यावसायिक समूहको लगानी रहेको उल्लेख छ । तीमध्ये केही समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेको जनाइएको छ ।

तर, गृहमन्त्री गुरुङले पेश गरेको सम्पत्ति विवरणमा भने उक्त सेयर समावेश नभएको दाबी गरिएको छ । उनले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणमा होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्ट्समा मात्र संस्थापक सेयर लगानी रहेको उल्लेख गरेका छन् । यसले पारदर्शिता र जवाफदेहितासम्बन्धी प्रश्न उठाएको छ ।

विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप हो : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।

विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ ।

उनले  फेसबुकमार्फत भनेका छन्, ‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद,रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो । के तपाईँ कपालमा चाया पर्‍यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’  

ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताए ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । 

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनु पर्ने बताए । 

“कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उनले भने, “नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिकमाथि मूल्य वृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सक्नुपर्छ ।”

दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने अध्यक्ष घिसिङले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’का लागि करिब रु ३५ अर्ब लगानी सुनिश्चित गरिएको उनले जिकिर गरे। 

उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म भइरहेको छ । छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले हार व्यहोर्नु परेतापनि अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म संगठन विस्तार गर्ने उनको भनाइ थियो ।

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने काँग्रेसको तयारी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । 

सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने तयारी गरेको हो । 

उनलाई २ चैतमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो ।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको हो ।

अमेरिकामा गोली चलाएर ८ बालबालिकाको हत्या

काठमाडौँ । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका छन् । गोली चलाउने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् ।

प्रहरीले यस घटनालाई ‘घरेलु विवाद’ (डोमेस्टिक डिस्टर्बेन्स) को परिणामका रूपमा व्याख्या गरेको छ ।

स्थानीय समय अनुसार बिहान करिब ५ बजे सुरु भएको घटनामा एक जना बन्दुकधारीले १० जनामाथि गोली चलाएका थिए । त्यसपछि उनी चोरी गरिएको गाडी चढेर फरार भएका थिए । प्रहरीले पछ्याएर आक्रमणकारीलाई गोली हानी मारिएको जनाएको छ ।

सो गोलीकाण्डमा केही घाइतेसमेत भएका छन् । तर प्रहरीले मृतक र घाइतेहरुको पूर्ण विवरण सार्वजनिक गरेको छैन ।
आक्रमणकारीको पहिचान शमर एल्किन्सको रुपमा गरिएको छ । उनी एक व्यक्तिको गाडी कब्जा गरी भाग्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई बोसियर पारिस क्षेत्रमा पछ्याएर गोली चलाएको थियो ।