२०८३ जेष्ठ १८, सोमवार

सदनमा तोडफोड वा अशान्ति गरे क्षतिपूर्ति सांसदबाटै असुल गरिने

काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरूले ध्वंसात्मक गतिविधि वा भौतिक क्षति पुर्‍याएमा त्यसको क्षतिपूर्ति सम्बन्धित सदस्यबाटै असुल गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ मस्यौदामा संसद्को मर्यादा, अनुशासन र कार्य सञ्चालनलाई व्यवस्थित बनाउन सभामुखलाई थप अधिकार प्रदान गर्ने व्यवस्था समावेश गरिएको छ।

प्रस्तावअनुसार बैठक कक्षमा अशान्ति सिर्जना गर्ने, तोडफोड गर्ने वा कुनै प्रकारको भौतिक क्षति पुर्‍याउने सांसदलाई सभामुखले मर्यादा पालकमार्फत तत्काल बैठक कक्षबाट बाहिर निकाल्न सक्नेछन्।

त्यस्तै, यस्ता गतिविधिमा संलग्न सदस्यलाई अधिकतम १५ दिनसम्म निलम्बन गर्ने तथा भएको क्षतिको आर्थिक भरपाई गराउने अधिकार सभामुखलाई दिइने व्यवस्था गरिएको छ। निलम्बन अवधिभर सम्बन्धित सांसदलाई प्रतिनिधिसभा तथा संसदीय समितिका कुनै पनि बैठकमा सहभागी हुन नपाउने उल्लेख छ।

निलम्बन वा कारबाहीबारेको जानकारी संसद् सचिवालयमार्फत सम्बन्धित समिति र संसदीय दललाई जानकारी गराइने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ।

यसैगरी, बैठक सकिएपछि पनि कुनै सांसदले अनुशासन उल्लंघन वा ध्वंसात्मक गतिविधि गरेको प्रमाणित भएमा पछि पनि कारबाही गर्न सकिने प्रावधान राखिएको छ। तर त्यस्तो कारबाही अघि सम्बन्धित सदस्यलाई आफ्नो पक्ष प्रस्तुत गर्ने अवसर अनिवार्य रूपमा दिइनुपर्ने व्यवस्था पनि मस्यौदामा उल्लेख छ।

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त सम्पन्न, ६ हजार ७०६ विद्यार्थी दीक्षित

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका गरी कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन् । यसलाई विश्वविद्यालयको हालसम्मकै उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा स्नातक तहबाट ५ हजार २८८, स्नातकोत्तर तहबाट १ हजार ४१३ र एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

संकायगत रूपमा व्यवस्थापन संकाय अग्रस्थानमा रहँदै २ हजार २६४ विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, इन्जिनियरिङ संकयबाट १ हजार २६२, शिक्षा संकयबाट ९९८, विज्ञान तथा प्रविधि संकायबाट ७४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञान सकायबाट ६२४, कानुन संकायबाट ६२२ र मानविकी तथा सामाजिक विज्ञान संकायबाट १८५ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई पदक, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो ।

रविको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, दर्ता प्रक्रियामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका लामिछानेलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै रिट पेस गरिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार लामिछानेविरुद्धको रिट प्राप्त भए पनि दर्ता भने भइसकेको छैन। हाल उक्त निवेदन अध्ययनकै क्रममा रहेको र प्रक्रिया पूरा भएपछि दर्ता हुने जानकारी दिए।

अधिवक्ता आयुष बडालले पेस गरेको रिटमा सङ्घीय संसद् सचिवालय, सभामुख, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय र लामिछाने स्वयंलाई विपक्षी बनाइएको छ।

लामिछानेविरुद्धको मुद्दाको टुङ्गो नलागेसम्म उनलाई निलम्बनको अवस्थामा राख्न संसद् सचिवालयका नाममा परमादेश जारी गर्न माग गरिएको छ।

लामिछानेविरुद्ध कास्की, रुपन्देही र काठमाडौंका विभिन्न सहकारी ठगी प्रकरणमा अनुसन्धान र मुद्दा विचाराधीन छ।

नेपालमा न्युरोसर्जरी सेवाको प्रारम्भ गर्ने डा. दिनेशनाथ गंगोलको निधन

काठमाडौँ । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने अग्रणी चिकित्सकका रूपमा परिचित वरिष्ठ डा. दिनेशनाथ गंगोलको निधन भएको छ।

९२ वर्षको उमेरमा रहेका गंगोलको मंगलबार बिहान काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपालमा न्युरोसर्जरीको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गंगोललाई यस क्षेत्रका पथप्रदर्शक चिकित्सकमध्ये एकका रूपमा लिइन्छ।

उनको अन्त्येष्टि आजै गर्ने तयारी गरिएको छ।

रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा रहेका समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूको कार्य जिम्मेवारी निर्धारण गरेको छ।

यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व नभएका क्षेत्रमा समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको थियो। सोही निर्णयलाई आधार मानेर कार्य विभाजनको प्रस्ताव तयार पारिएको थियो।

सचिवालयबाट अघि बढाइएको उक्त प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले औपचारिक रूपमा अनुमोदन गरेको पार्टीले जनाएको छ।

पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूको जिम्मेवारी तोकिएको निर्णय मंगलबार सार्वजनिक गरिएको हो।

फेक अडियो प्रकरणमा वरिष्ठ सई निलम्बन

काठमाडौँ । आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनको प्रतिष्ठामा आँच पुग्ने गरी नक्कली अडियो तयार पारी सार्वजनिक गरेको आरोपमा मधेस प्रदेश प्रहरी मातहतका एक वरिष्ठ सईलाई निलम्बन गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) सागर शमशेर जबरालाई आचारसंहिता विपरीत कार्य गरेको आधारमा निलम्बन प्रक्रिया अघि बढाइएको हो।

प्रहरी विवरण अनुसार उक्त अधिकृतले एक व्यवसायीलाई फोनमार्फत काल्पनिक प्रसंग सिर्जना गरी अडियो सामग्री तयार पारेको र त्यसलाई सञ्चार माध्यममार्फत सार्वजनिक गराएको पाइएको छ। प्रारम्भिक छानबिनले संगठन तथा कार्यालय नेतृत्वलाई विवादित र बदनाम गराउने उद्देश्यले उक्त सामग्री निर्माण गरिएको संकेत गरेको जनाइएको छ।

सहायक प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसारको आचारसंहिता उल्लंघन भएको निष्कर्ष निकाल्दै निलम्बन प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले कानुन विपरीत सामग्री उत्पादन गरी संगठनलाई नै कमजोर पार्ने उद्देश्यले गरिएको यस्तो गतिविधि अनुशासन विपरीत भएको उल्लेख गर्दै सम्बन्धित अधिकृतलाई कारबाहीको दायरामा ल्याइएको स्पष्ट पारेको छ।

साथै, यस्ता भ्रामक तथा तथ्यहीन सामग्रीको प्रभावमा नपर्न आम नागरिक र सञ्चार माध्यमलाई आग्रह गरिएको छ। घटनाबारे थप विस्तृत अनुसन्धान जारी रहेको र निष्कर्षसहितको विवरण चाँडै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

तेइस लाख बालकालिकालाई खुवाइयो भिटामिन ‘ए’ क्याप्सुल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।

यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए । यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ ।

देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो ।

आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए । सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ ।

पद छाडेर मार्ग प्रशस्त गर्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर पदबाट अलग हुन सुझाव दिएका छन्।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालको परिस्थितिलाई दृष्टिगत गर्दै जिम्मेवारीबाट बाहिरिएर मार्ग प्रशस्त गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री विवादमा परेका छन्।

सोही प्रसंगमा टिप्पणी गर्दै साम्पाङले मन्त्रीप्रति विभिन्न प्रकारका चर्चा-परिचर्चा बारम्बार सुनिनु चिन्ताजनक भएको उल्लेख गरे। उनका अनुसार “हप्तामा पटक-पटक विभिन्न कुरा सुनिनु उचित नदेखिने” भन्दै उनले यस्तो अवस्थामा पद छोड्नु नै उपयुक्त हुने बताए।

यसका साथै उनले सरकारसँग दूरीमा रहेर पनि आवश्यक परेमा प्रश्न उठाउने तथा रचनात्मक आलोचना गर्ने भूमिकामा रहने इच्छा व्यक्त गरेका छन्।

गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गर्दै ‘जेन-जी मुभमेन्ट’ ले प्रहरी महानिरीक्षकसमक्ष औपचारिक उजुरी दर्ता गरेको छ।

प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित उक्त उजुरी इमेलमार्फत प्रहरी मुख्यालयमा पठाइएको जनाइएको छ। निवेदनमा गृहमन्त्रीलाई हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न माग गरिएको छ।

संगठनले मन्त्री पदमा बहाल रहेको अवस्थामा अनुसन्धान प्रक्रियामा संलग्न हुनु स्वार्थको द्वन्द्व हुने भन्दै यसले प्राकृतिक न्यायको सिद्धान्तमा असर पार्ने तर्क गरेको छ। साथै पदमै रहँदा प्रमाण नष्ट हुन सक्ने तथा अनुसन्धानमा अवरोध पुग्न सक्ने जोखिम रहेको दाबी पनि गरिएको छ।

उजुरीमा जेन–जी आन्दोलनका क्रममा पानी वितरणको नाममा स्वयंसेवकको भूमिका लिई आन्दोलनलाई प्रभाव पार्ने प्रयास भएको, आन्दोलनलाई हिंसात्मक बनाउने र राज्य संयन्त्र कमजोर पार्ने गतिविधि भएको आरोप लगाइएको छ।

त्यसैगरी आन्दोलनको दुरुपयोगमार्फत आर्थिक लाभ लिएको, बिचौलिया तथा दलालहरूसँग मिलेमतो गरेको तथा ७६ जना सहिद र घाइतेप्रति अपमानजनक व्यवहार भएको दाबीसमेत उजुरीमा समावेश गरिएको छ।

उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाइएको प्रवक्ता शाहले जानकारी दिएका छन्।

गृहमन्त्रीलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने महेश बस्नेतको माग

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

उनका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने अवस्था देखिएको छ।

बस्नेतले गौरीबहादुर कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा समेत करिब १० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गर्दै सो विषयले थप प्रश्न उठाएको बताएका छन्।

उनले गृहमन्त्रीको पदमा बसिरहने विषय नै नैतिक तथा कानुनी रूपमा असहज देखिएको दाबी गर्दै अन्ततः पद छाड्नुपर्ने स्थिति आउने टिप्पणी गरेका छन्।