२०८३ जेष्ठ १८, सोमवार

‘सरकारको निर्णय नेपाल प्रहरीका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो’ : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

२१ भदौ २०७५ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । बिहीबारको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित शीतल निवाससँगै जोडिएको प्रहरी एकेडेमीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय उल्ट्याएको थियो ।

प्रहरी महानिरीक्षक कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारबाट भएको उक्त निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्त्वपूर्ण तथा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

सरकारले १० वैशाखमा प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम रहने निर्णय गरेको थियो ।

‘नेपाल सरकारबाट भएको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्त्वपूर्ण तथा ऐतिहासिक उपलब्धि हो,’ महानिरीक्षक कार्कीले फेसबुकमा लेखेका छन्, ‘यो निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।’

उनले आगामी दिनहरूमा समेत संस्थागत सुदृढीकरण, पेशागत क्षमता तथा मनोबल अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाहका लागि नेपाल सरकारबाट निरन्तर सहयोग र अभिभावकत्व प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् ।

१७ जना चिकित्सकको नाम दर्ता खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो ।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू हुने भएको छ ।

दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत (ब्रिटिस), अमेरिका (अमेरिकी), अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ । 

नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ ।

‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले प्राप्त उपलब्धिहरूलाई जनताले आफ्नै जीवनमा महसुस गर्न सक्ने व्यवस्था बनाउनु नै सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो,’ थापाले भनेका छन्, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो ।’

थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु नै आजको मुख्य आवश्यकता रहेको बताए । उनले लोकतन्त्रलाई अझ बढी जिम्मेवार र जनमुखी बनाउनुपर्नेमा जोड दिँदै सम्पूर्ण नागरिकहरूमा लोकतन्त्र दिवसको शुभकामना समेत व्यक्त गरेका छन् ।

२४ घण्टामा दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक संकेत उल्लंघनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो ।

‘सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्वासको व्यवस्था होस्’ : हर्क साम्पाङ

 काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमवासी बस्तीहरू भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेका छन् । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै राईले यस्ता गतिविधि रोक्न माग गरेका छन् । 

अध्यक्ष साम्पाङले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरीत सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट गरेका हुन्। उनले उचित क्षतिपूर्तिसहित उचित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी, बुट र बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले सरकारको निरंकुश चरित्र देखाएको छ।’

दशकौँ पहिलेदेखि बसेका सुकुमबासीहरूले आफ्नो जीवनभरको कमाइ लगाएर घर बनाएको उल्लेख गर्दै उनले तत्कालीन राज्य संयन्त्रको मौन सहमति वा इजाजत बिना ती बस्तीहरू नबसेको तर्क गरेका छन्। उचित व्यवस्थापन नगरी जनतालाई बेघर बनाएर सुशासन, आर्थिक उन्नति र विकास सम्भव नहुने उनको भनाइ छ।

‘सुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो,’ विज्ञप्तिमा उल्लेख छ। श्रम संस्कृति पार्टीले यस्ता मानव अधिकार विरोधी गतिविधिको सख्त निन्दा र भर्त्सना गर्दै नागरिक सर्वोच्चताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ । सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ । सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् । उनीहरूले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनिश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।

सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपा कै वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरू आक्रोशित छन् । उनीहरूले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छा प्रहरी नियन्त्रणमा

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरिएको हो । 

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए। 

धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकाले सोही आधारमा आजै काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।

भ्रामक तथा अपुष्ट सामग्री प्रकाशन-प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ।

काउन्सिलले आज जारी गरेको ध्यानाकर्षण सूचनामार्फत प्रेस स्वतन्त्रताको संरक्षण गर्दै जिम्मेवार, विश्वसनीय तथा आचारसंहिताअनुरूप पत्रकारिता अभ्यास गर्नुपर्नेमा जोड दिएको हो।

सूचनामा हालका दिनमा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत अपुष्ट तथा भ्रमपूर्ण सामग्री बढ्दो रूपमा फैलिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। यस्ता गतिविधिले पत्रकारिताको विश्वसनीयतामा असर पार्नुका साथै व्यक्ति तथा संस्थाको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।

काउन्सिलका अनुसार विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीबारे उजुरी तथा जनगुनासो बढिरहेको छ। प्राप्त उजुरीमाथि आचारसंहिता अनुसार अनुगमन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै पनि सामग्री प्रकाशन वा प्रसारणअघि त्यसको यथार्थता परीक्षण गर्न काउन्सिलले आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानहानी गर्ने प्रवृत्ति अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुने स्पष्ट पारिएको छ।

डिजिटल माध्यमहरू-विशेष गरी युट्युब र टिकटक मार्फत अपुष्ट तथा अतिरञ्जित सामग्री फैलाउने प्रवृत्तिप्रति पनि काउन्सिलले सचेत गराएको छ। यस्ता कार्य पत्रकार आचारसंहिता विपरीत हुने भएकाले आवश्यक परे कारबाही गरिने चेतावनी दिइएको छ।

काउन्सिलले गलत सामग्रीबाट प्रभावित व्यक्ति वा संस्थाले उजुरी दिन सक्ने व्यवस्था रहेको जानकारी दिँदै सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र मर्यादित पत्रकारिता अभ्यास गर्न आग्रह गरेको छ।

हिमाली क्षेत्रमा शैक्षिक सत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौँ । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिक सत्रको समय परिवर्तन गर्न सरकारसमक्ष माग गरेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आज मन्त्रालयमा भेट गरी सांसदहरूले हिमाली जिल्लामा मङ्सिरदेखि फागुन महिनासम्म अत्यधिक हिमपात हुने कारण विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति तथा समग्र शैक्षिक क्यालेन्डरमा प्रत्यक्ष प्रभाव पर्ने गरेकाले शैक्षिक सत्रको समय मौसम अनुकूल व्यवस्थापन गर्न माग गरेका हुन् । 

साथै, सांसदहरूले हिमाली क्षेत्रमा विद्यार्थीको पठनपाठन, शैक्षिक पूर्वाधार र स्रोतसाधन व्यवस्थापनमा व्यावहारिक कठिनाइ भइरहेकाले आवश्यक सहजीकरण गरिदिन शिक्षामन्त्रीसमक्ष अनुरोध गरेका थिए ।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले हिमाली क्षेत्रका शैक्षिक समस्या समाधानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । उनले हिमाली क्षेत्रमा मौसमका कारण विद्यार्थीको पठनपाठनमा समस्या नहुने गरी शैक्षिक क्यालेन्डर बनाउन पनि आग्रह गरे । 

हिमाली क्षेत्रको समस्या समाधानका उपाय पहिचान गरी व्यावहारिक तथा क्षेत्र अनुकूल शैक्षिक क्यालेन्डर निर्माण गर्न आवश्यक देखिएको हुनाले उक्त विषयमा हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको अनुभव, सुझाव लिन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

छलफलमा हिमाली भेगका विद्यार्थीको पहुँच, शैक्षिक गुणस्तर, पूर्वाधारका चुनौतीका साथै जलवायु परिवर्तनको जोखिम र त्यसले शिक्षा क्षेत्रमा पार्ने प्रभावबारे पनि विचार–विमर्श भएको छ । शिक्षामन्त्रीसँगको छलफलमा हिमाली क्षेत्रबाट निर्वाचित सांसदहरू उपस्थित थिए ।

काँग्रेस संसदीय दल नेता चयन तालिका परिमार्जन, मतदान समय सारियो

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको नेता चयनसम्बन्धी निर्वाचन कार्यक्रम संशोधन गरेको छ। दलको नेताको चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले पूर्वनिर्धारित समय तालिकामा परिवर्तन गरेको जनाएको छ।

सहमहामन्त्री प्रकाश रसाइली स्नेही को संयोजकत्वमा रहेको समितिले अद्यावधिक तालिका सार्वजनिक गर्दै निर्वाचनका चरणहरू पुन:समायोजन गरेको हो। सोअनुसार मतदाता नामावली भने यसअघि नै सार्वजनिक गरिसकिएको छ।

परिवर्तित कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भोलि दिउँसो ३ बजे हुनेछ भने ४:४० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने नयाँ तालिका तय गरिएको छ। यसअघि भने बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न ४ देखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको थियो।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएका छन्। साथै अन्य केही नेताहरूको सम्भावित उम्मेदवारीबारे पनि आन्तरिक रूपमा छलफल भइरहेको बताइएको छ।

प्रतिनिधिसभामा काँग्रेसका कुल ३८ सांसद रहेका छन्, जसबाट संसदीय दलको नेता चयन हुने प्रक्रिया अघि बढाइएको हो।