२०८३ जेष्ठ १७, आइतवार

मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए

काठमाडौँ । काठमाडौँ र भक्तपुरको सिमाना क्षेत्रमा पर्ने मनोहरा, थापाथली र गैरीगाउँ आसपासका सार्वजनिक जग्गा खाली गर्ने कार्य सम्पन्न भएको छ ।

लामो समयदेखि अतिक्रमणमा रहेको भनिएको नदी किनार क्षेत्रबाट संरचना हटाइएपछि उक्त क्षेत्र अहिले खाली र सुनसान देखिएको छ ।

सरकारी तथ्यांक अनुसार काठमाडौँ तर्फ १३१ र भक्तपुर तर्फ ८१० गरी कुल ९४१ वटा घर टहरा तथा अस्थायी संरचना हटाइएको नेपाल प्रहरीले जनाएको छ । यो कार्य सरकारी जग्गा संरक्षण तथा नदी किनार व्यवस्थापन अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।

अभियानका क्रममा उल्लेख्य संख्यामा सुकुम्वासी बस्ती प्रभावित भएका छन् । प्रशासनले बागमती र मनोहरा नदीको कोरिडोर व्यवस्थित बनाउने तथा नदी सफाइ र वातावरणीय सुधारलाई लक्ष्य बनाएर यो कदम चालिएको स्पष्ट पारेको छ ।

तर, विस्थापित भएका केही परिवारले वैकल्पिक व्यवस्थापनबिना नै बस्ती हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले पुन:स्थापनाको स्पष्ट योजना नहुँदा आफूहरू समस्यामा परेको गुनासो गरेका छन् ।

सरकारको निर्णयविरुद्ध त्रिवि परिसरमा विद्यार्थीहरूको संयुक्त मार्चपास

काठमाडौँ । राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेका छन् ।

घण्टाघर क्षेत्रबाट सुरु भएको मार्चपास त्रिभुवन विश्वविद्यालय (टीयू) गेटसम्म पुगेको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल फिर्ता गर्नुपर्ने माग अघि सारेका छन् ।

विद्यार्थी संगठनका प्रतिनिधिहरूले उक्त निर्णय संविधान तथा लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएको दाबी गर्दै यसले नागरिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गरेको बताएका छन् ।

यसैबीच आन्दोलनरत विद्यार्थीहरूले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । साथै शैक्षिक संस्थामा सुरक्षा पोष्ट राख्ने निर्णय कार्यान्वयन नगर्न पनि माग गरिएको छ ।

विद्यार्थी नेताहरूले शिक्षा क्षेत्रमा मेरिटोक्रेसी अर्थात् योग्यता प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै विद्यार्थीलाई उपलब्ध गराइँदै आएको ४५ प्रतिशत यातायात भाडा छुटलाई यथावत् राख्नुपर्ने तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी निर्णय फिर्ता लिनुपर्ने माग पनि प्रदर्शनमार्फत उठाइएको छ ।

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश नृप ध्वज निरौलाको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रिय अनुसन्धान ब्युरो काठमाडौँलाई सो आदेश गरेको हो ।

व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्दै गैर कानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेका थिए । सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो ।

आदेशमा रिट निवेदनको एकरएकप्रति नक्कल समेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन भनिएको छ ।

नेपालगन्ज विमानस्थलमा यात्रुका लागि नि:शुल्क सटल बस सेवा सञ्चालन

काठमाडौँ । हवाई यात्रुलाई विमानस्थल आवत-जावतमा सहजता प्रदान गर्ने उद्देश्यसहित नेपालगन्जस्थित राँझा विमानस्थलबाट नि:शुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । सेवा मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।

विमानस्थल कार्यालयका अनुसार विमानस्थल परिसर र करिब डेढ किलोमिटर टाढा रहेको राँझा चोकसम्म यात्रु ओसारपसार गर्न यो सेवा सुरु गरिएको हो । उक्त बसले आगमन तथा प्रस्थान गर्ने दुवै यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने व्यवस्था गरिएको जनाइएको छ ।

छोटो दूरीमा निश्चित स्थानबीच निरन्तर आवतजावत गर्ने सटल बस सेवा सञ्चालनमा आएपछि यात्रुहरूको आवतजावत अझ सहज हुने अपेक्षा गरिएको छ ।

सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट नेपालगन्ज पुगेका बुद्ध एयरका यात्रुहरूलाई सटल बसमार्फत राँझा चोकसम्म पुर्‍याइएको विमानस्थल कार्यालयले जनाएको छ ।

मन्त्रीको निर्देशनपछि अनधिकृत प्रयोगमा रहेका सरकारी सवारी मन्त्रालय फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा दुरुपयोग भइरहेको भनिएका सरकारी सवारी साधन फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वीकृत मापदण्ड विपरीत प्रयोगमा रहेका सबै सवारी साधन मन्त्रालयमा फिर्ता बोलाउन निर्देशन दिएपछि उक्त अभियान अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न कारण देखाउँदै सरकारी गाडी प्रयोग गरिरहेको सूचना प्राप्त भएपछि अनुगमन तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको हो ।

निर्देशनपछि फिर्ता गरिएका सवारी साधन हाल मन्त्रालय परिसरमै राखिएको जनाइएको छ ।

काभ्रेको भुम्लु गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २ सय ३५ किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । 

गाउँपालिकाका कृषि विकास शाखाको आयोजनामा कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने प्रयोजनले कृषि यान्त्रिकीकरणमा जोड दिई किसानलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा २ सय ३५ वटा ट्याक्टर वितरण गरिएको हो ।

किसानको मागको आधारमा २ सय ३५ वटा मिनिटिलर वितरण गरेको गाउँपालिकाकाले जनाएको छ । 

पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ ।

कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरूमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको प सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नीतिगत पहुँचमार्फत जनताको घरसम्म पुग्ने रास्वपाको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक नेतृत्व सबै नागरिकको घरदैलोमा प्रत्यक्ष रूपमा पुग्न नसक्ने भए पनि नीति निर्माणमार्फत प्रभाव प्रत्येक नागरिकसम्म पुग्ने बताएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू हराएको भन्ने टिप्पणीको खण्डन गर्दै नीतिगत हस्तक्षेपमार्फत जनताको जीवनमा परिवर्तन ल्याउने लक्ष्य रहेको स्पष्ट पारेका छन्।

उनका अनुसार नेतृत्व प्रत्यक्ष रूपमा सबै घरमा पुग्न नसके पनि पार्टी र सरकारका नीतिहरू जनताको दैनिकीमा प्रभाव पार्ने गरी कार्यान्वयन हुनेछन्, जसले नागरिकको जीवन सहज बनाउन सहयोग गर्नेछ।

सुकुम्वासी बस्ती व्यवस्थापनका क्रममा नागरिक स्वयंले पनि सरकारी प्रयासलाई साथ दिएको दाबी गर्दै उनले राज्यप्रति विश्वासको वातावरण बनेमा यस्ता प्रक्रियामा सहकार्य सम्भव हुने धारणा राखे।

लामिछानेले नागरिकको विश्वास नै शासन प्रणालीको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सरकार परिवर्तन भइरहने भए पनि विश्वासयोग्य राज्य संयन्त्र स्थिर हुने बताए।

उनले सुकुम्वासी व्यवस्थापन जस्ता परिवर्तनका क्रममा केही कठिनाइ देखिन सक्ने स्वीकार गर्दै त्यसलाई दीर्घकालीन सुधारतर्फको प्रक्रिया भएको बताए। उनले अहिलेका चुनौती भविष्यका पुस्ताका लागि सहज र व्यवस्थित जीवन निर्माणतर्फ लक्षित हुनुपर्नेमा जोड दिए।

होस्टेल अनुगमनमा काठमाडौँ महानगर सक्रिय, मापदण्ड नपुगे सञ्चालन रोक्न सकिने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित होस्टेलहरूको नियमन, सेवा गुणस्तर सुधार तथा सुरक्षा व्यवस्था सुनिश्चित गर्न व्यापक अनुगमन अभियान सुरु गरेको छ। शिक्षा विभागको नेतृत्वमा पाँच वटा छुट्टाछुट्टै टोली गठन गरी स्थलगत निरीक्षण थालिएको महानगरले जनाएको छ।

महानगरका अनुसार काठमाडौँभित्र सञ्चालित होस्टेलहरूमा करिब ४० हजार व्यक्तिले सेवा लिइरहेको व्यवसायी पक्षको तथ्यांक छ। ठूलो संख्यामा नागरिक बसोबास गर्ने यस्ता स्थानमा न्यूनतम मापदण्ड पालना, सरसफाइ, सुरक्षा तथा सेवा गुणस्तरको अवस्था मूल्यांकन गर्न अनुगमन अभियान अघि बढाइएको हो।

महानगरले मापदण्ड पूरा गरेका होस्टेललाई कानुनी रूपमा दर्ता तथा नियमित सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिने अवस्थाका संस्थालाई समयसीमा सहित सुधारको अवसर दिने तथा न्यूनतम आधारसमेत पूरा गर्न नसक्ने होस्टेलमाथि बन्दसम्मको कारबाही गर्न सकिने जनाएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले अनुगमनलाई परिणाममुखी बनाउन स्पष्ट कार्ययोजना तयार गरिएको बताउँदै नियमन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने धारणा व्यक्त गरेकी छन्। उनले एउटै स्थानमा दोहोरिने निरीक्षण रोक्न तथा समन्वयात्मक ढंगले काम गर्न राजस्व विभागका प्रतिनिधिलाई समेत टोलीमा समावेश गर्न निर्देशन दिएको बताइएको छ।

अनुगमन टोलीमा शिक्षा अधिकृतहरूको संयोजकत्वमा जनप्रतिनिधि, होस्टेल व्यवसायीका प्रतिनिधि, खाद्य प्रविधि विज्ञ तथा अनुगमन एकाइका सदस्यहरू सहभागी छन्। 

टोलीहरूलाई विभिन्न वडा क्षेत्रमा विभाजन गरी क्षेत्रगत रूपमा निरीक्षणको जिम्मेवारी दिइएको छ।

शिक्षा अधिकारी नमराज ढकालका अनुसार ‘छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड, २०८०’ को कार्यान्वयन सुनिश्चित गर्दै सुरक्षित, स्वच्छ र मर्यादित आवासीय वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य हो। यो व्यवस्था विद्यार्थी मात्र नभई विभिन्न पेशा तथा काममा आबद्ध व्यक्तिका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ।

महानगरले जारी मापदण्डअनुसार पर्याप्त शौचालय, स्वच्छ खानेपानी, नियमित विद्युत् आपूर्ति, सरसफाइ, अग्नि सुरक्षा उपकरण, सिसिटिभी निगरानी, आधारभूत स्वास्थ्य सामग्री तथा अध्ययन अनुकूल वातावरण अनिवार्य गरिएको जनाएको छ। साथै, लागूपदार्थ, मदिराजन्य वस्तु र अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा कडाइ गरिने व्यवस्था पनि समावेश छ।

मनोहरा क्षेत्रका सबै ८१० घर टहरा भत्काइयो

काठमाडौँ । भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ । 

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीका ८१० घर टहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । 

सो स्थानका संरचना भत्काउन आज २४ वटा जेसिबी प्रयोग गरिएका थिए । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो । शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुंगामुढा भएको थियो ।

सुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए ।

आइतबार र सोमबार  शान्तिपूर्ण रूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ ।