२०८३ जेष्ठ १७, आइतवार

दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर, मासिक एक हजार रुपैयाँ पुर्‍याइयो

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षदेखि उक्त भत्ता मासिक एक हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक न्याय, समावेशिता र समान अवसरमा आधारित विकासलाई प्राथमिकतामा राखिएको बताए। उनले समाजका लक्षित वर्गका लागि सञ्चालन गरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने जानकारी दिए।

१० लाख रुपैयाँसम्म आम्दानी हुनेले १ प्रतिशत कर तिर्ने

काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ कायम गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल ५ लाख रुपैयाँ रहेको न्यूनतम आयकरको सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिएका छन्। बजेटअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने करदाताले १ प्रतिशत दरले मात्रै आयकर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले कर प्रणालीलाई पुनर्संरचना गर्दै न्यून तथा मध्यम आय भएका करदातामाथिको कर भार घटाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ। नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुनेछ।

कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी, उत्तर पुस्तिका परीक्षण तीव्र

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउँदै बोर्डले मूल्यांकन तथा तथ्यांक व्यवस्थापनको काम द्रुत गतिमा सञ्चालन गरिरहेको जनाएको छ।

परीक्षा सम्पन्न भएको करिब दुई साताको अवधिमै नतिजासम्बन्धी आधाभन्दा बढी काम सम्पन्न भइसकेको बोर्डले जनाएको छ। हाल उत्तर पुस्तिका परीक्षणको कार्य ५० प्रतिशतभन्दा बढी सकिएको जानकारी दिइएको छ।

बोर्डका अनुसार परीक्षण सम्पन्न भएका उत्तरपुस्तिकाको प्राप्तांक सम्परीक्षण गरी कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने कामसमेत सँगसँगै भइरहेको छ। जुन विषयको परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण र तथ्यांक प्रविष्टिको काम तत्कालै अघि बढाइएकाले नतिजा प्रकाशन प्रक्रिया छरितो हुने अपेक्षा गरिएको छ।

नतिजा सार्वजनिक गर्न ढिलाइ नहोस् भन्ने उद्देश्यले परीक्षा सकिएकै दिनदेखि उत्तर पुस्तिका परीक्षण सुरु गरिएको बोर्डले जनाएको छ। हाल देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तर पुस्तिका मूल्याङ्कन कार्य भइरहेको छ।

यस वर्ष कक्षा १२ परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए। यसअघि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको थियो।

२०८४ को निर्वाचनलाई लक्षित गर्दै काम गर्न अग्नि सापकोटाको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर सक्रिय रूपमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीको पक्षमा सकारात्मक प्रभाव पार्ने गरी जनस्तरमा सक्रिय हुनुपर्ने बताएका हुन्।

उनले प्रशिक्षणपछि सहभागीहरू नयाँ आत्मविश्वास र संकल्पसहित आ-आफ्नो क्षेत्रमा फर्किने उल्लेख गर्दै आगामी निर्वाचनको परिणाममा पार्टीको पहलकदमी निर्णायक बन्न सक्ने धारणा राखे। देशको संरक्षण र राजनीतिक दिशानिर्देशनका लागि पनि सक्रिय राजनीतिक भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा उनले भेलामा उठेका धारणा तथा सुझाव शीर्ष नेतृत्वले सुनिरहेको जानकारी पनि दिए। उनका अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल सहित शीर्ष नेताहरूले सहभागीका भनाइ सुनेपछि कार्यक्रम समापनका क्रममा निर्देशनात्मक सम्बोधन गर्ने तयारी गरिएको छ।

कोशी प्रदेश सभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न लागेपछि मर्यादापालकले रोकेका थिए ।

परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि स्थगन गरेको बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ ।

देशभर सडक सञ्जाल १ लाख किलोमिटर नाघ्यो, पूर्वाधार र सेवामा पहुँच विस्तार

काठमाडौँ । नेपालभर सडक पूर्वाधारको कुल लम्बाइ करिब १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। आर्थिक सर्वेक्षण २०८२-८३ ले देशको भौतिक पूर्वाधार विस्तार निरन्तर बढ्दै गएको देखाएको हो।

सर्वेक्षणअनुसार संघीय सरकारमार्फत निर्माण भएका कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ, जसले सडक पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको संकेत गर्छ।

सञ्चार तथा डिजिटल पहुँचमा वृद्धि
पूर्वाधारसँगै सूचना तथा सञ्चार क्षेत्रमा पनि पहुँच विस्तार भएको देखिएको छ। देशभर ८२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ।

त्यसैगरी मोबाइल टेलिफोन सेवाको घनत्व १०३.२ पुगेको तथ्यांकले अधिकांश जनसंख्या मोबाइल सेवाको पहुँचमा रहेको देखाएको छ।

खानेपानी पहुँचमा प्रगति
खानेपानी सेवामा पनि पहुँच विस्तार भए तापनि गुणस्तरीयतामा अझै चुनौती कायम रहेको देखिन्छ। आधारभूत खानेपानी सेवा ९७ प्रतिशत जनसंख्यामा पुगेको छ भने सुरक्षित खानेपानी पहुँच भने २९ प्रतिशतमा सीमित रहेको सर्वेक्षणले देखाएको छ।

समग्रमा पूर्वाधार र आधारभूत सेवामा पहुँच विस्तार भए पनि गुणस्तरीय र सुरक्षित सेवा उपलब्धतामा थप सुधार आवश्यक रहेको आर्थिक सर्वेक्षणको निष्कर्ष छ।

नेपालसहित ४० देशका नागरिकलाई श्रीलंकामा ३० दिने नि:शुल्क पर्यटक भिसा सुविधा

काठमाडौँ । श्रीलंकाले नेपालसहित ४० देशका नागरिकका लागि ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा सुविधा लागू गरेको छ। श्रीलंकाको अध्यागमन निकायले जारी गरेको नयाँ व्यवस्थाअनुसार यो प्रावधान सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो।

काठमाडौँस्थित श्रीलंकाली दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार नयाँ नियम लागू भएसँगै नेपाली नागरिकले श्रीलंका भ्रमणका लागि अब भिसा शुल्क तिर्नु नपर्ने भएको छ। यद्यपि यात्रा अघि अनिवार्य रूपमा अनलाइनमार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) स्वीकृति लिनुपर्ने व्यवस्था कायम रहनेछ।

दूतावासका अनुसार भिसा नि:शुल्क भए पनि श्रीलंका प्रवेश गर्नुअघि ईटीए प्रणालीबाट आवेदन दिएर स्वीकृति प्राप्त गर्नु अनिवार्य हुनेछ। यो सुविधा अन्तर्गत पर्यटकले पहिलो प्रवेश मितिबाट ३० दिनभित्र दुई पटकसम्म आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।

साधारण, कूटनीतिक तथा सरकारी सबै प्रकारका राहदानी धारकहरू यो नि:शुल्क ईटीए सुविधाका लागि योग्य हुनेछन्। ३० दिनभन्दा बढी बस्न चाहने पर्यटकले भने प्रचलित नियमअनुसार भिसा शुल्क तिरेर अवधि विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ।

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहीबार बिहान ११: ३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। काँग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।

तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । बुधबार तारिख बुझ्न उनी अदालत पुगेका हुन् ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अदालतको फाँटमा पुगेका हुन् । 

स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा उनी यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनको अर्को तारिख आउँदो असार ११ गतेका निम्ति तय भएको बताइएको छ ।

प्रधानमन्त्री नआएपछि हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्।

सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित गराउन रुलिङ नगरेको भन्दै उनले बुधवारको प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका हुन्।

आजको बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्रीलाई जबाफदेही बनाउनुपर्ने भन्दै यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए। तर, सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर सभाबाट बाहिरिएका हुन्।