आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ

काठमाडौँ 

पुष ८ गते,

आफूलाई शाखा अधिकृत बताउँदै फाइदा लिन खोजेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाकसमेत लगाई फाइदा लिन खोजेको भन्ने सूचनाका आधारमा प्रहरीले ललितपुर– १५ थसिखेल घर भई काठमाडौं– २२ झोछे बस्ने समन श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठले सिंहदरबारसहित विभिन्न सरकारी निकायमा गई नभएको ओहदा तथा परिचय दिने गरेको, सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको तथा आर्थिक लाभ लिई जागिर लगाइदिन्छु भनी झुक्यानमा पार्ने गरेको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति गरेको पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पुष्टीसम्बन्धी पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको परिचय पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानीसम्बन्धी पत्रलगायत बरामद गरेको छर

सोमबार टेकुबाट पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखतसम्वन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको प्रहरीले जनाएको छ।