गृहमन्त्री गुरुङ र ऊर्जा मन्त्री श्रेष्ठले लिए तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्।
मन्त्रीद्वयले मंगलबार मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरी असोज ८ देखि १० गतेसम्म देशका विभिन्न क्षेत्रमा हुन सक्ने वर्षा तथा मौसमको अवस्थाबारे जानकारी लिएका हुन्।
महाशाखाले उक्त अवधिमा देशको पूर्वी तथा पश्चिमी भू-भागमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ। सम्भावित वर्षाका कारण जनजीवन तथा भौतिक पूर्वाधारमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मन्त्रीद्वयले मौसमको पूर्वानुमान, सम्भावित जोखिम र त्यसबाट पर्न सक्ने प्रभावबारे महाशाखाका अधिकारीसँग जानकारी लिएका थिए।
वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम हुन सक्ने भएकाले पूर्वसूचनाका आधारमा आवश्यक तयारी र सावधानी अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।
