प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सभामुख अर्यालको सांसदहरूलाई निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसद्को कारबाहीलाई मर्यादित बनाउन निर्देशन दिएका छन् । सांसदहरूलाई प्रतिनिधि सभा नियमावली, २०८३ को पूर्ण पालना गर्न निर्देशन दिएका हुन्।

सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानहरूको ख्याल राख्नुपर्नेमा जोड दिँदै सभालाई व्यवस्थित र मर्यादित बनाउनु सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको स्पष्ट पारे । उनले हाल लागू रहेको प्रतिनिधि सभा नियमावली, २०८३ को कार्यान्वयन नै सभाको गरिमा बढाउने मुख्य आधार भएको बताए ।

उनले भने, ‘हरेक दिनको बैठकलाई मर्यादित र व्यवस्थित बनाउनु हामी सबैको कर्तव्य र दायित्व हो । सबै माननीय सदस्यहरूको पहलबाट प्रतिनिधि सभा नियमावली, २०८३ लागू गरी सोहीअनुसार सभा सञ्चालन भइरहेको छ । यस सन्दर्भमा म सबै माननीय सदस्यहरूको प्रतिनिधि सभा नियमावलीको नियम २० र २१, विशेष गरी नियम २० को खण्ड (ट) तर्फ गम्भीर ध्यानाकर्षण गराउँदछु । बैठकको मर्यादा र गरिमालाई कायम राख्दै नियमावलीको पूर्ण पालना गर्न सबै माननीय सदस्यहरूलाई आग्रह गर्दछु ।’

सभामुख अर्यालले विशेष गरी नियमावलीको नियम २० र २१ तर्फ सांसदहरूको ध्यानाकर्षण गराए ।