‘ओलीलाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरू असफल भए’ : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्र तथा प्रयासहरू असफल भएको दाबी गरेका छन् ।
मंगलवार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले यस्तो दाबी गरेका हुन्। उनले अध्यक्ष ओलीलाई भौतिक रूपमै समाप्त पार्ने खालका प्रयास भइरहेको उल्लेख गर्दै ती सबै षड्यन्त्रहरू असफल भइसकेको दाबी गरे । उनले पार्टीभित्रकै केही नेताहरूले राज्य संयन्त्रको दुरुपयोग गरेर अध्यक्ष ओलीविरुद्धको अभियान चलाएको आरोप समेत लगाए । उनले जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने कार्यकम जारी रहेको बताए । उनले अहिलेसम्म प्रतिवेदनमाथि ४१ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेको उल्लेख गर्दै अधिकांश सदस्यहरूले ओलीको राजनीतिक प्रतिवेदनको खुलेर समर्थन गरिरहेको बताए । उनका अनुसार बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र विशेष महाधिवेशन बोलाउने आफूहरूको मनसाय नरहेको कुरा राखेका छन् ।
उनले भने, ‘एउटा, अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने, दोस्रो, लामो समयसम्म उहाँहरूलाई जेलमा अथवा कारागारमा राख्ने । तेस्रो, उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट विमुख गराउने, घरबारविहीन बनाउने । र व्यापक रूपमा बदनाम गराउने, यी सबै प्रक्रिया मलाई जहाँसम्म लाग्छ फेल भए । र माघदेखि जेल हाल्ने सम्मको जेनजी आन्दोलनको आडमा जनजी पुस्ता उचालेर अथवा सरकारको आडमा राज्यका संयन्त्रहरू दुरुपयोग गर्ने गर्ने प्रयत्न भएको थियो । त्यसमा पनि कुनै विषयवस्तु नपाईसके पछाडि हामीले वैधानिक हिसाबले प्रतिरोध गरेपछि त्यो असफल भएको छ भने अध्यक्ष हटाउनेदेखि लिएर बद्नाम गराउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई नि कमजोर बनाउने प्रयत्न भएको थियो, त्यो पनि आम पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ । आज अध्यक्षको प्रतिवेदनका दौरानमा बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्रको यथावत कुरा राख्नुभएको छ । उहाँहरूले विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिल्यै पनि गरेका छैनौँ भन्ने कुरा गर्नुभयो । आज उपाध्यक्ष र महासचिवले अध्यक्षको भावना, स्पिड र अध्यक्षको राजनीति प्रतिवेदनभन्दा फरक कुरा हाम्रो छैन भन्ने कुरा स्पष्ट पार्नुभयो । खाजा खाने बेलासम्म ४१ जना साथीहरूले कुरा राख्नुभयो । चार–पाँच जना साथीहरूले अलि आलोचनात्मक दृष्टिकोण राख्नुभएको छ, बाँकी ३६ जना साथीहरूले स्ट्रङली अध्यक्षको प्रतिवेदन सर्पोट गर्नुभएको छ ।’
उनले पार्टीको आन्तरिक जीवनमा देखिएका सबै प्रकारका समस्या हल गरेर बैठक टुंगिने विश्वास व्यक्त गरेका छन्।
