म्याक्सवेल अस्ट्रेलियाको केन्द्रीय सम्झौताबाट बाहिर
काठमाडौँ । विश्वचर्चित अलराउन्डर ग्लेन म्याक्सवेल अस्ट्रेलियन क्रिकेटको केन्द्रीय सम्झौता २०२६/०२७ बाट बाहिरिएका छन् । अस्ट्रेलियन क्रिकेट बोर्ड (सिए)ले नयाँ सिजनका लागि २१ खेलाडीलाई अनुबन्ध गर्दा म्याक्सवेल बाहिरिएका हुन् । सम्झौताअनुसार तीनवटै फर्म्याट खेलिरहेका खेलाडीलाई समावेश गरिएको संघले जनाएको छ ।
योपटक म्याक्स वेलसँगै म्याथ्यु सर्ट, रिचर्डसन, लान्स मोरिस र उस्मान खुवाजा बाहिरिएका छन् । युवा ब्याट्सम्यान सैम कोंस्टास पनि सम्झौतामा अटाएनन् । रिचर्डसन पछिल्लोपटक केन्द्रीय सम्झौतामा थिए । उनी एक वर्षमै सम्झौताबाट बाहिरिए ।
इंग्ल्यान्डविरुद्धको एसेजमा उत्कृष्ट प्रदर्शन गरेका बलर माइकल नेसर भने पहिलोपटक केन्द्रीय सम्झौतामा रहे । उनले तीन टेस्टमा १५ विकेट लिएका थिए । एक इनिङ्समा पाँच विकेटसमेत लिएका थिए । केन्द्रीय सम्झौतामा स्टिभ प्याट कमिन्स, टेभिस हेड, मिचेल मार्स र मिचल स्टार्क रहेका छन् । एलेक्स क्यारी, क्यामरुन ग्रिन, जोस हेजलउड, जोस इंगिस र एडम जाम्पा रहेका छन् ।
अस्ट्रेलियाले एक वर्षको अवधिमा १५ टेस्ट खेल्यो । बंगलादेशसँग घरेलु मैदानमा दुई, दक्षिण अफ्रिकामा तीन, न्युजिल्यान्डविरुद्ध घरेलु मैदानमा चार टेस्ट खेलेको अस्ट्रेलियाले भारत भ्रमणमा पाँच टेस्ट खेलेको थियो । मेलबर्न क्रिकेट मैदानको १५०औँ वार्षिक उत्सवमा अस्ट्रेलियाले एक विशेष खेल खेल्यो । यस सिजनमा अस्ट्रेलियाले इंग्ल्यान्डमा पाँच टेस्ट सिरिज पनि खेल्दै छ ।
