रेशमलाल चौधरीको उम्मेदवारी खारेज
काठमाडौँ
माघ ८ गते,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो ।
आज बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरिएको हो । बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
