राष्ट्रिय सभाका लागि लुम्बिनीबाट रामकुमारी झाँक्रीसहित काँग्रेस-एमाले उम्मेदवारले गराए मनोनयन दर्ता

काठमाडौँ

पुष २३ गते,

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि काँग्रेस-एमाले गठबन्धनका ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली काँग्रेसका वासुदेव जंगली र चन्द्र केसीले मनोनयन दर्ता गरेका हुन् । झाँक्री महिला क्लस्टरबाट, जंगली अपाङ्‍गता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट मनोनयन दर्ता गराएका छन् ।

झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र समर्थकमा उपप्रमुख हुमाकुमारी डिसी रहेका छन् । जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी छन् ।

केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत छन् । लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता क्लस्टर गरी तीन जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपांगता)को ठाउँमा नयाँ सदस्य आउनेछन् ।

प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । जसमा काँग्रेसको ३,१७९, एमालेको २,८१० र माओवादी-एकीकृत समाजवादी गठबन्धनको २,६८६ मतभार छ । केन्द्रमा सहमति नभएपछि लुम्बिनी प्रदेशमा समेत नेपाली कम्युनिष्ट पार्टीले अलग्गै उम्मेदवारी दर्ता गरेका छन् ।

लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विकले उम्मेदवारी दर्ता गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता सुदर्शन बरालले जानकारी दिए ।