सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द
लहान
पुष ७ गते,
सिराहा नगरपालिकाले विभिन्न पदमा कार्यरत ५० जना अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको करार सम्झौता रद्द गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार सम्झौता रद्द हुनेमा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म रहेका छन्।
मन्त्रिपरिषद्को निर्णय भन्दै नगरपालिकाको कार्यपालिकाले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरू हटाउने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा नगरपालिकाले १ पुसदेखि लागू हुने गरी सम्झौता रद्द गरेकाे सार्वजनिक सूचनामा उल्लेख छ।
सिराहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले हस्ताक्षर गरेको सूचनाअनुसार माडर खैरटोकामा रहेको हेल्प डेस्कमा कार्यरत मेडिकल अधिकृत डा. दिलीप सदासहित ६ जना र नगरको विभिन्न वडा, नगरपालिका कार्यालयमा कार्यरत कर्मचारी गरी ५० जनाको सम्झौता रद्द गरिएको उल्लेख छ।
सूचनाअनुसार सबैभन्दा धेरै स्वास्थ्यकर्मी रहेका छन्। मेडिकल अधिकृत १, हेल्थ असिस्टेन्ट २, अहेव ९, अनमि ७, ल्याब असिस्टेन्ट १, कार्यालय सहयोगी १४ र सामाजिक परिचालक ६ जनालगायत रहेका छन्।

