‘पत्रकार हुँ’ भनी थर्काएर रुपैयाँ मागेको आरोपमा राजविराजबाट एक युवक पक्राउ, ठगीमा पटक–पटक पक्राउ
राजविराज
मंसिर ५ गते,
आफू पत्रकार हुँ भनी पटक पटक सर्वसाधारणमा आतंक फैलाएको आरोपमा एक युवकलाई पुनः पक्राउ गरिएको छ ।
गत कार्तिक २६ गते राती करिब १ बजेको समयमा राजविराज नगरपालिका वडा नं. २ स्थित रोकेर १० हजार रुपैयाँ मागेको तथा नदिएपछि कुटपिट समेत गरेको आरोपमा राजविराज नपा ३ बस्ने विक्की भनिने प्रहलाद सिँहलाई पक्राउ गरिएको छ । सो राती गाईको गर्भको लागि साँढे खोज्ने क्रममा वडा नं. २ स्थित रहेको राजदेवी मन्दिर अगाडी विक्की सिँहले आफू पत्रकार हुँ भनी थर्काएका थिए । साँढे खोज्दै गर्दा उनले गाई चोरी गरि लैजाँदै गरेको आरोप लगाई कुटपिट समेत गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनले गाई चोरी गरी लैजाँदै गरेको आरोप लगाउँदै एक व्यक्तिलाई गालीगलौज, कुटपिट गरी १० हजार रुपैयाँ मागेको आरोप छ । १० हजार नदिएपछि उनले निर्घात कुटपिट गरेको आरोप छ । प्रहरीले उनलाई बुधबार राती करिब ८ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई ५ दिनको म्याद थप गरी अनुसन्धान चलाएको हो ।
यसअघि पनि परेका थिए ठगीमा पक्राउ
सप्तरीको तिलाठी कोईलाडी गाउँपलिका वडा नं. ४ का २५ बर्षीय विक्की भनिने प्रह्लाद कुमार सिंहलाई २०७९ सालको चैत्र १२ गतेमा समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आफूलाई पत्रकार भनी सर्वसाधारणमा अनावश्यक दुख दिने, आतंक सिर्जना र ठगी धन्दा चलाएको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी वाधा विरोध मुद्दा चलाइएको थियो ।
पक्राउ परेका सिंहमाथि ठगी तथा ज्यान मार्ने उद्योग मुद्दासहितका धेरै उजुरी परेको बताईएको छ । सिंहले शम्भुनाथ मिडिया हाउस प्रालिद्वारा संचालित के छ खबर अनलाइनको परिचय पत्र देखाएर सर्वसाधारणलाई विभिन्न किसिमको झेलजालमा फँसाई पैसा असुल्ने, नक्कली पत्रकारको परिचय पत्र बनाइ समाजमा आतंक फैलाउदै आएका छन् ।

पत्रकारिताको आडमा अनैतिक कार्यहरु गर्दै आएकोले पछिल्लो समय उनी विरुद्ध पीडितहरुले उजुरी गरेका थिए । आरोपित उपर लागेको मुद्दा मिलाइ दिने भनेर पैसा माग्ने,होटेलमा खाएको पैसा तिर्न नमान्ने, पसलहरुमा प्रेस कार्ड देखाएर उधारो सामान लिने, रिपोर्टिङको नाममा बार्गेनिङ गर्ने कार्यहरु गर्दै आएको आरोप उनीमाथि लाग्दै आएको छ ।
राजविराजको रुपनी रोडमा सञ्चालनमा रहेको नेपाल होटेलका सञ्चालक कृष्ण यादवलाई पटक–पटक धम्काउने र होटेलमा खाएर पैसा तिर्न नमान्ने जस्ता अनैतिक कार्य गरेको गम्भीर आरोप उनीमाथि लागेको थियो। राजविराजका अजय आदित्यलाई फोन मार्फत ज्यान मार्ने धाक धम्की दिएको तथा विभिन्न बहानामा फँसाउने षड्यन्त्र गरिरहेको आरोपसमेत उनलाई लागेको छ ।
सिंहले पत्रकारको आवरणमा आचरण विपरीत कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले यस्ता पत्रकारको आडमा समग्र पत्रकारिताको बदनाम गर्ने जोसुकै माथि कारबाहीका लागि प्रेस विज्ञप्ति निकालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
