माओवादीको विघटित केन्द्रीय समितिको बैठक आज : आठ दल–समूहसँगको पार्टी एकता सहमति अनुमोदन गर्ने

काठमाडौँ 

कार्तिक १८ गते,

एकीकृत समाजवादीलगायत आठ दल/समूहसँगको पार्टी एकता सहमति अनुमोदन गर्न माओवादीको विघटित केन्द्रीय समिति बैठक मंगलबार बस्दै छ । बैठक मंगलबार दिउँसो १ बजे बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । मुख्य एजेन्डा एकताको निर्णय अनुमोदन गराउने रहेको छ । ‘एकता सहमतिको ब्रिफिङ र अनुमोदन हुन्छ,’ उनले भने ।

माओवादीबाट अलग भएको गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा आठ वर्षपछि माओवादीमै समाहित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबिच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख छ । विगतमा भए–गरेका वैचारिक–राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्ने सहमति पनि भएको छ । किराँतीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति पनि भएको छ ।

माओवादी र एमालेबीचको एकताप्रति असन्तुष्टि जनाउँदै किरातीले नयाँ दल गठन गरेका थिए । किराती माओवादीमा समाहित भएर आठ पार्टीको एकता प्रक्रियामा सहभागी हुँदैछन् ।

प्रचण्ड नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेसपा, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी–समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीबिच पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।

१९ कात्तिकमा राष्ट्रिय एकता सम्मेलन गरेर पार्टी एकता घोषणा गर्ने सहमति छ । नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टीलगायतका नाम छलफलमा आएका छन् । बुधबारसम्ममा नामबारे टुंगो लाग्ने माओवादी प्रवक्ता सापकोटाले बताए । चुनाव चिह्न पाँचकुने तारा हुनेछ ।

माओवादीका जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीलगायतका नेताहरूले एकता प्रक्रियामा सहभागी नहुने बताएका छन् । उनीहरूले माओवादीलाई नै पुनर्गठन गर्ने बताएका छन् ।