हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्नेमा सुदन किराँतीको जोड
काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालले भोग्दै आएको सामाजिक-आर्थिक चुनौती समाधानका लागि स्थानीय पृष्ठभूमिबाट उदाएका नेतृत्व आवश्यक रहेको बताएका छन्।
उदयपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले दीर्घकालीन समस्याको समाधानका लागि बाह्य प्रभाव वा कृत्रिम रूपमा निर्माण भएका नेतृत्वभन्दा देशमै स्थापित सामाजिक आन्दोलनबाट आएका व्यक्तित्व उपयुक्त हुने तर्क राखे।
किराँतीका अनुसार नेपालमा देखिएका संरचनागत समस्याको समाधानका लागि “हाइब्रिड” राजनीतिक नेतृत्वभन्दा स्थानीय तहबाट उदाएका, जनस्तरमा स्थापित र अनुभवयुक्त नेतृत्व आवश्यक छ। उनले यस्ता नेतृत्वको उदाहरणका रूपमा धरानका हर्क साम्पाङलाई उल्लेख गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
उनले हालको राजनीतिक परिवर्तनपछि नेतृत्वमा पुगेकाहरूले जनअपेक्षा अनुसार परिणाम दिन नसकेको दाबी पनि गरे। उनका अनुसार जनआशा र अपेक्षामाथि अपेक्षित रूपमा काम हुन नसक्दा असन्तोष बढेको छ।
किरातीले वर्तमान राजनीतिक नेतृत्व शैलीप्रति टिप्पणी गर्दै जनतासँग जोडिएको प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसकेको आरोपसमेत लगाए।
उनले नेपालले क्षेत्रीय सम्बन्धका विषयमा दिएको केही अभिव्यक्तिलाई लिएर पनि आलोचना गर्दै त्यस प्रकारका दृष्टिकोणले कूटनीतिक संवेदनशीलतामा असर पार्न सक्ने टिप्पणी गरेका छन्।
