मधेशको नयाँ सत्तासमीकरणको प्रभाव अन्य प्रदेशमा पनि पर्छ : प्रचण्ड

काठमाडौँ

मंसिर २१ गते,

नेकपा संयोजक प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने बताएका छन् । शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देश सभामा उनले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको दाबी गरे ।

साथै, मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने उनले बताए । ‘मधेशले अहिले भर्खरै पनि परम्परागत तथाकथित समीकरणको पछि नलागेर मधेश सरकार बनाउने वेलामा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र कांग्रेससमेत बनेर नयाँ सरकार बनेको छ । केही वर्षदेखिको समीकरण तोडिएको छ । र, नयाँ समीकरणको सुरुवात पनि मधेशबाटै भएको छ । मधेशबाट देखिएको यो सन्देश देशका बाँकी प्रदेशमा पनि अघि बढ्नेछ,’ उनले भने ।

जेन–जी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढंगले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको उनको भनाइ थियो । प्रचण्डले सबै जनताको एकताले मात्रै  प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउन सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्नेसमेत बताए । एकता सन्देश सभालाई सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।